News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट संघले सन्दीप लामिछानेलाई नेपाली एकदिवसीय टोलीको नयाँ कप्तानमा नियुक्त गरेको छ ।
- विश्वकप लिग २ मा टोलीको कमजोर प्रदर्शनपछि क्यानले कप्तान परिवर्तनसहित १४ सदस्यीय टोलीमा व्यापक फेरबदल गरेको हो ।
- अस्ट्रेलियामा हुने टप एन्ड टी-२० प्रतियोगिताका लागि अनिल कुमार शाहको कप्तानीमा नेपाल ए टोली पनि घोषणा गरिएको छ ।
२५ साउन, काठमाडौं । क्रिकेट विश्वकप लिग २ मा लगातार कमजोर प्रदर्शनपछि नेपाली क्रिकेट टोलीमा कप्तान सहित व्यापक परिवर्तन भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले लेग स्पीनर सन्दीप लामिछानेलाई नेपाली एकदिवसीय टोलीको नयाँ कप्तान घोषणा गरेको छ । साथै अगस्ट ३० देखि मलेसियामा सुरु हुने एसीसी मेन्स प्रिमियर कपका लागि लामिछानेकै कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ । उक्त टोलीमा कप्तानसहित व्यापक फेरबदल गरिएको हो ।
केही समयअघि नेदरल्यान्ड्समा भएको लिग २ सिरिजमा खेलेको चारै खेलमा पराजित भएपछि क्यानले यो परिवर्तन गरेको हो । लिग २ खेल्न गएको टिममा पनि व्यापक परिवर्तन गरिएको छ ।
कप्तान परिवर्तन हुँदा अनुभवी खेलाडीहरू सोमपाल कामी, आरिफ शेख जस्ता खेलाडी प्रिमियर कप खेल्ने टिममा अटाउन सकेनन् । यस्तै अस्ट्रेलियाको नर्दन टेरिटोरीमा हुने टप एन्ड टी-२० का लागि क्यानले नेपाल ए टिम घोषणा गरेको छ ।
एकदिवसीय क्रिकेटमा लिग २ को अन्तिम सिरिजपछि हुने प्लेअफ क्वालिफायरलाई ध्यानमा राख्दै क्यानले कप्तान परिवर्तन र टिममा फेरबदल गरेको हो ।
‘हामीले ओडीआई साइकलमा सोचेजस्तो प्रदर्शन गर्न सकेको छैन । समग्रमा हामीले ११ म्याच मात्र जितेका छौं । घरेलु मैदानमा पछिल्लो ८ मा ६ वटा खेल जितेका छौं । त्यसबाहेक २४ खेलमा जम्मा अर्को ५ खेल मात्र जितेका छौं । हामी ओडीआईमा कन्सिस्टेन्ट छैनौं भनेर देखाएको छ र केही परिवर्तन जरुरी थियो । त्यही नतिजाले गर्दा क्यान र सेलेक्सन कमिटीले निर्णय लिनुभएको हो’ क्यानका क्रिकेट निर्देशक विनोद दासले अनलाइनखबरसँग भने ।
लिग २ मा नेपालले ३२ खेलमा ११ जित र २ नतिजाविहिन खेलबाट कूल २४ अंक जोडेको छ र ८ टोलीमध्ये सातौं स्थानमा छ ।

कप्तान परिवर्तन
५० ओभरको क्रिकेटमा नेपालले पछिल्लो समय राम्रो प्रदर्शन गर्न नसकेपछि नेतृत्वमाथि प्रश्न उठिरहेको थियो । रोहित पौडेलले चार वर्ष नेपालको लागि कप्तानी गरेपछि ओडीआई टिमको कप्तान पनि परिवर्तन भएको छ । लेग स्पीनर सन्दीप लामिछाने पुन: ओडीआई टिमको कप्तान बनेका छन् ।
क्रिकेट निर्देशक दासले सकारात्क परिवर्तनको अपेक्षासहित कप्तान परिवर्तन भएको जानकारी दिए । ‘क्रिकेट लिग २ को साइकलमा हामी अहिले नम्बर ७ मा छौं । केही चेन्ज गर्दा हाम्रो सम्भावनालाई इनहेन्स गर्न सक्छौं भन्ने हो । जम्मा ४ वटा खेल मात्र बाँकी छ । त्यसपछि हामीले क्वालिफायर प्लेअफ खेल्नुपर्ने छ । जो पनि नयाँ कप्तान आउँछ अलिकति समय लाग्छ होला । त्यही सोचेर नै अहिलेलाई चाहिँ कप्तान परिवर्तन हो । अहिलेलाई इमिडिएट फ्युचर हेरेर नै परिवर्तन गरिएको छ’ दासले अनलाइनखबरसँग भने, ‘अब ४ ओडीआई बाँकी छ र प्लेअफ पनि छ । आशा छ यो परिवर्तनले केही सकारात्मक प्रभाव ल्याउँछ भन्ने हो ।’
यद्यपी सन्दीपको पनि पछिल्लो टुर भने राम्रो रहन सकेको थिएन । लिग २ अन्तर्गत नेदरल्यान्ड्समा सुरुवाती तीन खेलमा विकेटविहन बनेका उनी चौथो खेलमा ड्रप नै भएका थिए ।
सन् २०२२ मा पहिलो पटक सिनियर टोलीको कप्तान बनेका सन्दीपको कप्तानीमा नेपालले १४ ओडीआई खेल खेलेको थियो । त्यसपछि उनको स्थानमा रोहित पौडेल नयाँ कप्तान बनेका थिए ।
अहिले सन्दीपले नै ओडीआई कप्तानमा रोहितलाई रिप्लेस गरे । कप्तान परिवर्तन बारे क्यानको निर्णय रोहितलाई जानकारी गराएको र उनले यसलाई स्वीकारेको दासले जानकारी दिए ।
यो निर्णयसँगै रोहितको कप्तानी एरा पनि सकिएको छ । क्यानले केही समयअघि अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई टी-२०आई को कप्तान बनाइसकेको छ ।
रोहितको कप्तानीमा नेपालले लिग २ को अघिल्लो साइकलमा उत्कृष्ट प्रदर्शन गर्दै ओडीआई मान्यता जोगाउनुका साथै विश्वकपको छनोट समेत खेलेको थियो ।
यस्तै रोहितकै कप्तानीमा नेपालले दुई पटक टी-२० विश्वकप पनि खेलेको थियो । तर पछिल्लो समय उनको कप्तानीमा नेपालले राम्रो गर्न नसकेपछि क्यानले पनि परिवर्तन गर्ने निर्णय गरेको हो ।

एकदिवसीय टिममा परिवर्तन
एसिया कप क्रिकेटको छनोटको आधार समेत रहेको प्रिमियर कपको लागि घोषित टोलीमा कप्तानसहित व्यापक परिवर्तन पनि गरिएको छ । लिग २ का लागि नेदरल्यान्ड्स टुर गरेका टोलीबाट ६ खेलाडी नै बाहिरिएका छन् भने ४ खेलाडी टिममा थपिएका छन् ।
प्रिमियर कपका लागि सन्दीप लामिछाने कप्तान छन् भने १४ सदस्यीय टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुल्शन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी, सन्दीप जोरा छन् ।
नेदरल्यान्ड्स गएको टोलीबाट ओपनर कुशल भुर्तेलसहित भीम सार्की, आरिफ शेख, विनोद भण्डारी, सोमपाल कामी, नन्दन यादव टिमबाट बाहिरिएका छन् । लिग २ दौरान नन्दन घाइते हुँदा उनलाई हेमन्त धामीले रिप्लेस गरेका थिए ।
टप अर्डर ब्याटर देव सहित मिडल अर्टर ब्याटर सन्दीप जोरा, अलराउण्डर बसिरले ओडीआई टोलीमा पुनरागमन गरेका छन् । यस्तै स्पीनर शेर मल्लले पनि ओडिआई टोलीमा अवसर पाएका छन् ।

मिडियम पेसर सोमपाल र नन्दन टिममा नपर्दा करण केसी र हेमन्त धामी दुई मात्र पेस बलर टिममा छन् भने गुल्शन झा पेस अलराउण्डरको रुपमा टिममा छन् । आरिफ शेख पनि टिममा नहुँदा पेस बलिङमा भने नेपालसँग थोरै मात्र विकल्प हुनेछ ।
नेपाली टिम स्पीन हेभी रहेको छ । कप्तान सन्दीप लेग स्पीनर हुन् भने ललित राजवंशी र शेर मल्ल पनि स्पीनरको रुपमा छन् । यस्तै दीपेन्द्र सिंह ऐरी र बसिर अहमद स्पीन अलराउण्डरको रुपमा छन् । स्पीनमा नेपालसँग ५ खेलाडी छन् ।
यस्तै विकेटकिपरमा आसिफ शेखको लागि ब्याकअफ विकल्पमा अर्जुन कुमाल मात्र छन् । ओपनर कुशल भुर्तेल टिममा नपर्दा अब कुमालले ओपनिङ गर्ने सम्भावना पनि छ । यस्तै इशान पाण्डे र पुनरागमन गरेका देव खनाल पनि ओपनिङको विकल्प हुन सक्छन् ।
देव र इशान दुवै टप अर्डर ब्याटर हुन् । रोहित पौडेल, सन्दीप जोरा र दीपेन्द्रसिंह ऐरी मिडल अर्डरमा हुनेछन् । लोअर अर्डरमा बसिर र गुल्सन छन् ।
टप एण्डका लागि ए टोली
क्यानले सोमबारै अस्ट्रेलियामा हुने टप एन्ड टी-२० का लागि अनिल कुमार शाहको कप्तानीमा नेपाल ए टोली घोषणा गरेको छ । प्रिमियर कपको टोलीमा स्थान बनाउन असफल ओपनर कुशल भुर्तेललाई पनि नेपाल ए टिममा राखिएको छ ।
नेपाल ए टिममा सिनियर टिमबाटै खेलिसकेका खेलाडीको बाहुल्यता छ । कप्तान शाह र भुर्तेलसँगै कुशल मल्ल, शाहब आलम, लोकेश बम लगायत खेलाडी नेपाल ए मा राखिएको छ ।
‘हामी प्लेअरको बेस पनि सकेसम्म ठूलो बनाउन खोज्दैछौं । टी२०, ओडीआई र नेपाल ए टिम निरन्तर खेलिरहेकै थियो । त्यही भएर पनि ए टिम र टी-२० पनि केही खेलाडीले अवसर पाइरहेका थिए । ओडीआईमा पनि सेट थियो । सकेसम्म धेरै खेलाडीलाई चान्स दिने र त्यसमध्ये जो सबैभन्दा राम्रो छ त्यसले नेपालाई प्रतिनिधित्व गरौं भनेर हो’ क्रिकेट निर्देशक दासले भने ।

नेपालले सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा हुने २०औं एसियन गेम्समा पनि प्रतिस्पर्धा गर्दैछ र टप एण्ड टी-२० खेल्ने केही खेलाडी एसियन गेम्स खेल्ने टोलीमा पनि हुनेछन् ।
अगष्ट २१ देखि अष्ट्रेलियाको डार्विनमा हुने टप एण्ड टी२० का लागि घोषित ए टोलीमा अनिल साह (कप्तान), कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, राशिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, बिपिन खत्री, युवराज खत्री, रिजन ढकाल छन् ।
एसियन गेम्सका लागि राष्ट्रिय खेलकुद परिषदले सार्वजनिक गरेको १५ सदस्यीय सूचीमा अनुभवी खेलाडीहरू नै समावेश गरिएको छ ।
तर क्यानका क्रिकेट निर्देशक विनोद दासले भने एसियन गेम्सका लागि अन्तिम टोलीको घोषणा गर्ने र राखेपको सुचीमा केही परिवर्तन हुन सक्ने संकेत गरे । ‘एसियन गेम्सको लागि सुरुमा ३० जनाको नाम बुझाएका थियौं त्यसपछि घटाएर १८ जनाको नाम बुझाएका छौं । अहिले सर्कुलेट भएको नाममा केही परिवर्तन हुन सक्छ’ उनले भने, ‘नर्दन टेरिटोरीको टी-२० पनि हाम्रो लागि अवसर नै हो । केही समय नजिक पुगेपछि हामीले सुरुमा पठाएको नामबाट अन्तिम टोली छनोट गर्नेछौं । १८ जनाबाट राखेपले समन्वय गरिदिनुहुन्छ भन्ने छ ।’
एसियन गेम्समा नेपालले समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग खेल्नेछ । शीर्ष दुईमा रहने टिम क्वाटरफाइनल प्रवेश गर्नेछन् । नेपालले क्वाटरफाइनल पुगे टेष्ट राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशमध्ये एकसँग खेल्नेछ ।
प्रतिक्रिया 4