News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट संघले राष्ट्रिय टोलीका निवर्तमान कप्तान रोहित पौडेललाई उनको नेतृत्व र टोलीका लागि पुर्याएको योगदानका निम्ति औपचारिक रूपमा धन्यवाद व्यक्त गरेको छ ।
- नवनियुक्त कप्तान सन्दीप लामिछानेले रोहितको प्रतिबद्धता र टोलीमा उनको उपस्थिति सधैं मूल्यवान् रहने बताउँदै आगामी दिनमा पनि उनको योगदानको अपेक्षा गरेका छन् ।
- पूर्वकप्तान पारस खड्का र दीपेन्द्रसिंह ऐरीले रोहितको कप्तानी यात्राको प्रशंसा गर्दै उनले नेपाली क्रिकेटमा छोडेको विरासत र राष्ट्रप्रतिको समर्पण अविस्मरणीय रहेको उल्लेख गरेका छन् ।
२६ साउन, काठमाडौं । नेपाली ओडीआई क्रिकेट टिमका निवर्तमान कप्तान रोहित पौडेललाई नेपाल क्रिकेट संघ (क्यान), नवनियुक्त कप्तान सन्दीप लामिछाने, पूर्वकप्तान पारस खड्का लगायतले धन्यवाद सन्देश दिएका छन् ।
नेपाल क्रिकेट संघले रोहितलाई धन्यवाद दिँदै उनको कप्तानीमा हासिल भएका उपलब्धिलाई सम्झिएको छ ।
‘राष्ट्रको आशा बोकेर जोश, समर्पण र दृढताका साथ नेपाललाई नेतृत्व गरेकोमा धन्यवाद रोहित। पुरुष राष्ट्रिय टोलीको कप्तानका रूपमा तिम्रो नेतृत्वमा हामीले महत्वपूर्ण उपलब्धि हासिल गर्यौं र नेपाली क्रिकेट यात्राको गर्विलो हिस्सा बनेका थुप्रै क्षण सिर्जना गर्यौं’ क्यानले भनेको छ।
क्यानले रोहितको टोली, देश र क्रिकेटप्रतिको प्रतिबद्धता सधैं प्रेरणादायी रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि उस्तै भावना र समर्पणका साथ नेपालका लागि योगदान दिने विश्वास व्यक्त गरेको छ ।
क्यानले अन्त्यमा लेखेको छ- ‘वान्स अ लिडर, अल्वेज अ लिडर’ अर्थात् एकपटकका लिडर सधैंका लिडर हुन् ।
यस्तै नयाँ कप्तान सन्दीप लामिछानेले रोहितलाई ‘भाइ’ भन्दै टोलीका लागि उनले गरेको योगदान र नेतृत्वप्रति धन्यवाद दिएका छन् । उनले रोहितको योगदान, प्रतिबद्धता र टोलीमा उनको उपस्थितिलाई सधैं मूल्यवान् रहने बताएका छन् ।
‘टोलीका लागि तिमीले गरेका सबै कुरा र हरेक क्षणमा हामीलाई जसरी नेतृत्व गर्यौ, त्यसका लागि धन्यवाद रोहितकुमार पौडेल भाइ । तिम्रो योगदान, प्रतिबद्धता र उपस्थिति सधैं मूल्यवान् रहनेछ । टोली र देशका लागि तिमीबाट अझ धेरै योगदान आउनेमा म विश्वस्त छु,’ सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन् ।
यस्तै नेपाली टी-२०आई टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि रोहितको कप्तानी यात्रालाई भावुक रूपमा सम्झिएका छन् । ‘केही यात्रा वर्षमा मापन हुन्छन्, तर केही यात्राले सदाका लागि विरासत छाड्छन्,’ दीपेन्द्रले लेखेका छन्।
उनले १ नोभेम्बर २०२२ देखि १० अगस्ट २०२६ सम्म रोहितले नेपाली क्रिकेटमा आफ्नो हृदय, जोश र सम्पूर्ण क्षमता दिएको उल्लेख गरेका छन् । कप्तानका रूपमा उनले टोलीको नेतृत्व मात्र नगरेर राष्ट्रलाई प्रेरित गरेको, खेलाडीलाई एकजुट बनाएको र नेपाली क्रिकेटका अविस्मरणीय क्षण सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको दीपेन्द्रको भनाइ छ ।
‘यति कम उमेरमै उनले खेल र देशका लागि धेरै कुरा दिए। उनको योगदानलाई केवल तथ्यांक, उपाधि वा जितबाट मापन गर्न सकिँदैन। उनले लाखौं क्रिकेटप्रेमीमा जगाएको आशा र विश्वास अझ महत्वपूर्ण छ,’ दीपेन्द्रले लेखेका छन् ।
कप्तानीबाट बाहिरिँदैमा रोहितको कथा समाप्त नभएको उल्लेख गर्दै उनले यो नयाँ युग, नयाँ अध्याय र अझ ठूलो यात्राको सुरुवात भएको बताएका छन् । ‘हृदयदेखि नेतृत्व गरेकोमा र हामीलाई गर्व गर्ने यति धेरै कारण दिएकोमा धन्यवाद,’ दीपेन्द्रले लेखेका छन्।
क्यानका सचिव तथा पूर्वकप्तान पारस खड्काले पनि रोहितको नेतृत्वको प्रशंसा गर्दै उनको योगदानप्रति आभार व्यक्त गरेका छन् ।
‘गर्व, जोश र दृढताका साथ नेपाली क्रिकेट टोलीको नेतृत्व गरेकोमा धन्यवाद रोहित । कठिन समयहरूबीच पनि तिमीले नेपाललाई अभूतपूर्व उचाइमा पुर्यायौ र मैदानभित्र तथा बाहिर एउटा पुस्तालाई प्रेरित गर्यौ’ पारसले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले रोहितको उपलब्धि, नेतृत्व र कप्तानका रूपमा छाडेको विरासतप्रति गर्व रहेको उल्लेख गर्दै आगामी दिनमा पनि नेपाली क्रिकेटलाई उनको आवश्यकता रहने बताएका छन् ।
‘कप्तानका रूपमा तिमीले छाडेको उपलब्धि, नेतृत्व र विरासतप्रति गर्व छ। नेपाललाई अझै तिम्रो चम्किलो योगदानको आवश्यकता रहनेछ, जसरी तिमी सधैं चम्किँदै आएका छौ,’ पारसले लेखेका छन् ।
प्रतिक्रिया 4