News Summary
Generated by OK AI. Editorially reviewed.- धादिङका ५२ वर्षीय मेरुदण्ड घाइते एकराज परियारको उपचारका लागि १ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ।
२६ साउन, काठमाडौं । धादिङका ५२ वर्षीय एकराज परियारको उपचारका लागि १ लाख २५ हजार रुपैयाँ सहयोग जुटेको छ । तेरापन्थ युवक परिषद्, काठमाडौंको पहल तथा समन्वयमा परिषद्का संरक्षक एवं समाजसेवी ज्योति कुमार बेगानी र श्रीमती चन्दा देवी बेगानीको तर्फबाट उक्त सहयोग प्राप्त भएको हो ।
गोठालो जाने क्रममा गत जेठमा भीरबाट खसेर मेरुदण्डमा गम्भीर चोट लागेपछि परियार उठ्न, बस्न तथा हिँडडुल गर्नसमेत नसक्ने अवस्थामा छन् । परिवारका एकमात्र कमाउने सदस्य रहेका उनी हाल लोकन्थलीस्थित सक्षम हेल्थ केयरमा पुनःस्थापना उपचार तथा फिजियोथेरापी गराइरहेका छन् ।
सहयोग रकममध्ये ९० हजार रुपैयाँ उपचार तथा अस्पतालसम्बन्धी खर्चका लागि अस्पतालमा जम्मा गरिएको छ ।खानपान तथा दैनिक अत्यावश्यक खर्चका लागि प्रदान गरिएको छ ।
यसअघि परियारको अवस्थाबारे अनलाइनखबरमा प्रकाशित समाचारमार्फत जानकारी पाएपछि बेगानीले सहयोगको प्रतिबद्धता जनाएका थिए । परिषद्का अध्यक्ष निश्चल लालवानीको समन्वयमा बेगानीसहितको टोलीले अस्पताल पुगेर परियार तथा परिवारसँग भेट गरी सहयोग हस्तान्तरण गरेको हो ।
बेगानीले परियार उपचारपछि घर फर्कन सक्ने अवस्थामा पुगेपछि आवश्यकताअनुसार स्वचालित ह्विलचेयर तथा थप चिकित्सा उपकरणमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
चिकित्सकले परियारलाई अझै करिब दुई महिना निरन्तर पुनःस्थापना उपचार तथा फिजियोथेरापी आवश्यक पर्ने बताएका छन् ।
प्रतिक्रिया 4