News Summary
Generated by OK AI. Editorially reviewed.- वरिष्ठ फिल्म प्रदर्शक नकिम उद्दिनका छोरा ओविद उद्दिनले ‘भिडियो टेप’ फिल्ममार्फत निर्देशनमा डेब्यू गर्ने भएका छन् ।
- एप्पल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने उक्त फिल्मको छायांकन ५ भदौदेखि ३० दिनका लागि मुस्ताङमा सुरु हुनेछ ।
- ४ करोड रुपैयाँको बजेटमा बन्ने हरर जनराको यस फिल्ममा उपासनासिंह ठकुरी र कुन्दनमान शाक्यको शीर्ष भूमिका रहनेछ ।
काठमाडौं । आफ्ना पिता तथा वरिष्ठ फिल्म प्रदर्शक नकिम उद्दिनको विरासतलाई पछ्याउँदै छोरा ओविद औपचारिकरुपमा फिल्म करिअरमा अघि बढेका छन् ।
उनको डेब्यू निर्देशन रहने फिल्म ‘भिडियो टेप’को मंगलबार निर्माण घोषणा गरिएको छ । उद्दिनको होमप्रोडक्सन कम्पनी तथा फिल्म वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टको ब्यानरमा यो फिल्म बन्न लागेको हो ।
ओविद लामो समयदेखि उपयुक्त कथानक फिल्म निर्देशनसँगै डेब्यूको तयारीमा थिए । यसका लागि उनले हलिउडमा अध्ययन समेत गरे र नेपालका केही चर्चित फिल्म निर्देशक र निर्मातासँग निर्देशन अनुभव पनि बटुले ।
अन्ततः उनी होमप्रोडक्सन एप्पल इन्टरटेनमेन्टकै ब्यानरमा बन्न लागेको फिल्ममा निर्देशकको रुपमा अघि बढ्ने पक्का भयो । आयोजित पत्रकार सम्मेलनमा उक्त फिल्मलाई ५ भदौदेखि उपल्लो मुस्ताङमा छायांकन गर्ने जानकारी दिइयो ।
३० दिनको छायांकन तालिका रहेको फिल्ममा उपासनासिंह ठकुरी, कुन्दनमान शाक्यको शीर्ष भूमिका हुनेछ । अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जिवन अधिकारी, शेखर चापागाँई, सिद्धार्थ सिंहको पनि अभिनय हुनेछ । फिल्ममा वशिष्ट प्रधानको छायांकन हुनेछ ।

ओविदले कार्यक्रममा भने, ‘म सानैदेखि हरर जनराका फिल्म हेरेर हुर्किएको हुँ । यसैले, आफ्नो डेब्यू फिल्ममा पनि यही जनरालाई अगाडि बढाएको छु । यो कथा काल्पनिक विषयमा आधारित छ । कुनै पनि वास्तविक घटनासँग मिल्दैन ।’
उपासनाले भनिन्, ‘एक वर्ष अगाडिदेखि नै यो फिल्मको विषयमा कुराकानी भइरहेको थियो । कथावस्तु निकै नै राम्रो छ । अब हामी फिल्मको छायांकनमा जाँदैछौं । एकदमै उत्साहित छु ।’
कुन्दनले फिल्मलाई लिएर आफू निकै नै उत्साहित भएको बताए । फिल्मलाई ४ करोडको बजेटमा निर्माण गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।
कार्यक्रममा बोल्दै एप्पल इन्टरटेनमेन्टका प्रमुख तथा क्यूएफएक्स सिनेमाजका निर्देशक नकिम उद्दिनले नयाँ टिमलाई साथ दिन सबैसँग आग्रह गरेका थिए । नेपाली फिल्ममा डिजिटल क्रान्ति ल्याउन उद्दिनको भूमिका अतुलनीय छ भने उनी नेपालमा मल्टिप्लेक्स कल्चर स्थापना गर्ने कार्यमा प्रशंसित छन् ।
बुवा नकिमको त्यो विरासतलाई ओविदले अघि बढाउन खोजेको देखिन्छ ।
प्रतिक्रिया 4