+
+
Shares

झरना थापाले थालिन् ‘ए मेरो हजुर ५’ छायांकन, बडिमालिकामा पनि खिचिने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १३:०३
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक झरना थापाले काठमाडौंमा शुभसाइत गर्दै आगामी फिल्म ‘ए मेरो हजुर ५’को छायांकन औपचारिक रूपमा शुरू गरेकी छन्।
  • फिल्मको छायांकन बडिमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज लगायतका पर्यटकीय स्थलमा समेत गरिने निर्माण पक्षले जानकारी दिएको छ।
  • फिल्मको शीर्ष भूमिकामा अनमोल केसी र सुहाना थापा रहेका छन् भने निर्देशक झरना थापा २५ वर्षपछि यस श्रृंखलामा पुनः अभिनय गर्दैछिन्।

काठमाडौं । निर्देशक झरना थापाले आगामी फिल्म ‘ए मेरो हजुर ५’को छायांकन शुक्रबार काठमाडौंबाट थालेकी छन् । ललितपुरको बंगलामुखी मन्दिरमा शुभसाइत पूजा गर्दै छायांकन सुरु भएको हो ।

यो फिल्मलाई बाजुराको प्रसिद्ध रमणीय थलो बडिमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्जमा पनि छायांकन गरिने भएको छ । प्रधानमन्त्री बालेन शाहले चुनाव बेलादेखि नै बडिमालिकाको प्रचार गर्दै आएका छन् भने यो मन्दिरमा १ भदौदेखि पूजाआज सुरु हुँदैछ भने मेला लाग्दैछ ।

बडिमालिकाको उक्त दृश्यलाई निर्देशक थापाले समावेश गर्न खोजेको देखिन्छ । ‘बडीमालिकाजस्तो धार्मिक धरोहरमा छायांकन गर्न लागेकोमा खुसी छौं’ छायांकन थाल्दै उनले भनेकी छन् ।

यसअघि यो फिल्मका अघिल्ला केही भाग पनि कर्णाली र सुदुरपश्चिमका रमणीय दृश्यमा खिचिएको छ । फिल्ममार्फत पर्यटन प्रवर्धन गर्ने उद्देश्य रहेको कुरा त्यतिबेला पत्रकार सम्मेलनमा झरनाले बताएकी थिइन् ।

पाँचौं श्रृंखलाको शीर्ष भूमिकामा अनमोल केसी र सुहाना थापाले निरन्तरता पाएका छन् । अघिल्ला दुई श्रृंखलामा पनि उनीहरू देखिएका छन् ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सुनिलकुमार थापा हुन् । दिलिप रायमाझी, झरना थापा, सलोन बस्नेत, नीरज पन्थी, आशा भुसालको पनि अभिनय हुनेछ ।

पाँचौ श्रृंखलामा दर्शकले निर्देशक समेत रहेकी झरनाको पनि अभिनय हेर्न पाउने भएका छन् । हुन त, ‘ए मेरो हजुर’को पहिलो भागमा झरना र श्रीकृष्ण श्रेष्ठले नै अभिनय गरेका थिए ।

२५ वर्षपछि श्रृंखलामा झरनाको पुनरागमन हुनेछ । उनको भूमिका के हुनेछ भन्ने खुलाइएको छैन । यद्यपि, दर्शकका लागि उनको कमब्याक सरप्राइज प्याकेज अवश्य हुनेछ ।

यो फिल्म २०८४ सालको बैशाखमा प्रदर्शन हुने लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?