News Summary
Generated by OK AI. Editorially reviewed.- सृजना राणा अन्तर्राष्ट्रिय संस्था जोन्टा इन्टरनेसनलको सञ्चालक समितिमा निर्वाचित हुने पहिलो नेपाली बनेकी छिन् ।
- क्यानडाको भ्यानकुभरमा सम्पन्न ६७औं जोन्टा इन्टरनेसनल महासभाले उनलाई सन् २०२६–२०२८ कार्यकालका लागि निर्वाचित गरेको हो ।
- जोन्टा क्लब काठमाडौंले महिला हिंसा नियन्त्रणमा पुर्याएको योगदानको कदर गर्दै लगातार दोस्रो पटक ग्लोबल अवार्ड प्राप्त गरेको छ ।
२९ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय संस्था जोन्टा इन्टरनेसनल सञ्चालक समिति ९बोर्ड अफ डाइरेक्टर्स० मा सृजना राणा निर्वाचित भएकी छिन् ।
विश्वभरि महिला तथा किशोरीहरूको हकअधिकार, समानता र नेतृत्व विकासका लागि कार्यरत संस्था जोन्टाको बोर्ड अफ डाइरेक्टर्समा निर्वाचित हुने राणा पहिलो नेपाली हुन् ।
क्यानडाको भ्यानकुभरमा सम्पन्न ६७औं जोन्टा इन्टरनेसनल महासभाबाट उनी सन् २०२६–२०२८ कार्यकालका लागि निर्वाचित भएकी हुन् ।
संसारभरिका ६६ देशमा जोन्टाका १ हजार १ सयभन्दा बढी क्लब छन् । यसले महिला अधिकार, समानता तथा नेतृत्वका लागि विश्वव्यापी मञ्च प्रदान गर्ने गर्छ ।
राणा नेपालको आतिथ्य क्षेत्र तथा सामाजिक अभियानकी नेतृत्वकर्ता हुन् । उनी होटल एसोसिएसन नेपाल ९हान० तथा नेपाल–भारत उद्योग वाणिज्य संघकी पूर्वअध्यक्ष हुन् । उनी लामो समयदेखि महिला सशक्तीकरण, नेतृत्व विकास र सामाजिक अधिकारको क्षेत्रमा सक्रिय छिन् ।

जोन्टा इन्टरनेसनल मार्फत अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउनु आफ्ना लागि लागि निकै ठूलो सम्मान र गहन जिम्मेवारीको विषय भएको राणाले बताइन् ।
‘यो सफलताले हाम्रा युवा महिलालाई आफूमाथि विश्वास राख्न, साहसका साथ अघि बढ्न र सफलताको कुनै पनि सीमा टाढा छैन भन्ने सन्देश दिने छ भन्ने मैले आशा लिएकी छु,’ उनले भनिन् ।
जोन्टा क्लब काठमाडौंलाई पुन: ‘ग्लोबल अवार्ड’
जोन्टा क्लब काठमाडौंले यस पटक पनि अर्को ठूलो अन्तर्राष्ट्रिय सफलता हात पारेको छ । क्लबले लगातार दोस्रो पटक ‘जोन्टा एक्सेलेन्स इन सर्भिस एन्ड एडभोकेसी अवार्ड’ प्राप्त गरेको हो ।
विश्वभरिका १ हजार १ सयभन्दा बढी क्लबमध्ये प्रत्येक दुई वर्षमा ६ वटा क्लबलाई मात्र यो प्रतिष्ठित पुरस्कार प्रदान गरिन्छ ।
महिला तथा किशोरीमाथि हुने भौतिक तथा अनलाइन ९साइबर० हिंसा रोकथाम र नियन्त्रणका लागि नेपाल प्रहरी, प्रहरीको साइबर ब्युरो, कानुन व्यवसायी, स्थानीय सरकार, नागरिक समाज, निजी क्षेत्र र शैक्षिक संस्थासँगको सहकार्यमा पुर्याइएको योगदानको कदर गर्दै क्लबलाई यो सम्मान दिइएको हो ।
प्रतिक्रिया 4