+
+
Shares

ब्रिक्स शिखर सम्मेलनमा पेजेस्कियान दिल्ली जाने

भारतले सन् २०२६ को अध्यक्षता सम्हाल्दै आयोजना गर्न लागेको सम्मेलनमा पेजेस्कियानको सहभागितालाई इरान–भारत सम्बन्ध र पश्चिम एसियाको पछिल्लो क्षेत्रीय परिस्थितिका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १८:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानी राष्ट्रपति मसुद पेजेस्कियान आगामी सेप्टेम्बरमा नयाँदिल्लीमा आयोजना हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत जाने तयारीमा हुनुहुन्छ।
  • सन् २०२४ मा ब्रिक्सको पूर्ण सदस्य बनेको इरानले यस भ्रमणमार्फत भारतसँगको द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाका विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।
  • इरानी विदेशमन्त्री अब्बास अराघचीले पश्चिम एसियाको तनाव समाधानका लागि भारतले रचनात्मक भूमिका खेल्न सक्ने बताउँदै वार्ताको महत्त्वमा जोड दिनुभएको छ।

२९ साउन, नयाँदिल्ली (रासस/एएनआई) । इरानी राष्ट्रपति मसुद पेजेस्कियान आगामी सेप्टेम्बरमा नयाँदिल्लीमा हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत जाने तयारीमा रहेको इरानी स्रोतहरूले शुक्रबार बताएका छन्।

भारतले सन् २०२६ को अध्यक्षता सम्हाल्दै आयोजना गर्न लागेको सम्मेलनमा पेजेस्कियानको सहभागितालाई इरान–भारत सम्बन्ध र पश्चिम एसियाको पछिल्लो क्षेत्रीय परिस्थितिका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।

भारतले सन् २०२६ को सुरुआतमा ब्राजिलबाट ब्रिक्सको अध्यक्षता ग्रहण गरेको हो। ‘लचिलोपन, नवप्रवर्तन, सहयोग र दिगोपनका लागि निर्माण’ भन्ने विषयवस्तुसहित सम्मेलन आयोजना हुँदैछ । इरान सन् २०२४ मा इजिप्ट, इथियोपिया र संयुक्त अरब इमिरेट्ससँगै ब्रिक्सको पूर्ण सदस्य बनेको थियो। सन् २०२५ मा इन्डोनेसिया पनि समूहमा प्रवेश गरेपछि ब्रिक्सका पूर्ण सदस्यको सङ्ख्या ११ पुगेको छ ।

राष्ट्रपति पेजेस्कियानले यसअघि सन् २०२४ को अक्टोबरमा रुसको कजानमा आयोजित ब्रिक्स शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। भेटमा दुई नेताबीच द्विपक्षीय तथा क्षेत्रीय विषयमा छलफल भएको थियो। यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले गत जुनमा भारतमा भएको ब्रिक्स विदेशमन्त्रीस्तरीय बैठकमा सहभागिता जनाएका थिए। बैठकपछि नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पश्चिम एसियामा बढ्दो तनाव कम गर्न भारतले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताएका थिए।

अराघचीले सशस्त्र द्वन्द्वको कुनै भविष्य नरहेको र वर्तमान सङ्कटको सैन्य समाधान सम्भव नभएकाले वार्तामार्फत समाधान खोज्नु नै व्यावहारिक बाटो भएको बताए थियो। उनले पश्चिम एसियामा शान्ति स्थापनाका लागि भारतले रचनात्मक भूमिका निर्वाह गरेमा इरानले स्वागत गर्ने धारणा पनि व्यक्त गरेका थिए। भारतीय विदेशमन्त्री एस जयशङ्करसँगको भेटमा अराघचीले क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै हर्मुज जलघाँटीको सुरक्षामा इरानले आफ्नो ऐतिहासिक जिम्मेवारी निरन्तर निर्वाह गर्ने बताएका थिए। उनले व्यापारिक गतिविधिको सुरक्षाका लागि मित्र राष्ट्रहरूले इरानलाई भरपर्दो साझेदारका रूपमा लिन सक्ने दाबी गरेका थिए।

इरानी सरकारले सामाजिक सञ्जालमा सार्वजनिक गरेको विवरणअनुसार अराघचीले ब्रिक्स विदेशमन्त्री बैठकमा पश्चिमी प्रभुत्व अन्त्य गर्न तथा अन्तर्राष्ट्रिय संस्थालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्ने आवश्यकतामा समेत जोड दिएका थिए। फेब्रुअरी २८ मा इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीपछि पश्चिम एसियामा जारी तनावपूर्ण अवस्थाबीच राष्ट्रपति पेजेस्कियानको भारत भ्रमण हुन लागेको हो। यस्तो अवस्थामा ब्रिक्स सम्मेलनमा इरानी राष्ट्रपतिको सहभागिताले क्षेत्रीय सुरक्षा, कूटनीति र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफललाई थप महत्त्व दिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?