२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले गगन थापाले विशेष महाधिवेशन गरेर ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् । शुक्रबार कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सिटौलाले विशेष महाधिवेशनबाट सभापति चुनिएका थापालाई सभापति भन्न पटक्कै मन पनि नलागेको बताएका हुन् ।
‘हाम्रो युवा भाइ हुन् गगन थापा । भाइ भन्दा अन्यथा नहोला । सभापति भन्न मलाई पटक्कै मन लागेको छैन,’ सिटौलाले भने, ‘विशेष महाधिवेशनलाई मान्यता दिनै सकिएको छैन । त्यो अवैधानिक छ, अराजक ढंगले गरिएको छ ।’
यो कुरा आफ्नो पक्षको मान्यता रहेको बताउँदै उनले कुनै व्यक्तिगत पूर्वाग्रह नभएको पनि दाबी गरे ।
‘उहाँलाई मेरो सुझाव छ– मानिसको जीवनमा गल्ती हुन्छ । त्यसलाई आत्मसात गर्नसक्नुपर्छ । त्यसलाई सच्याउन सक्नुपर्छ । त्यही त महानता हो,’ सिटौलाले भने ।
सर्वोच्च अदालतले सभापति थापालाई गल्ती सच्याउने ढोका खोलिदिएको पनि नेता सिटौलाले बताए । उनले भने, ‘सच्याउने बाटो खोज्नुस् तपाईँ आफैले । हामीभन्दा तपाईँ धेरै कुरा बुझ्नसक्नुहुन्छ ।’
दुनियाँमा धेरै शासन गरेका शासक आफू हठ गरेर गल्ती गर्दा ढलेको उनले बताए ।
‘हठले, अहंकारले कहिँ पनि पुगिदैन तपाईंलाई मेरो सुझाव छ– गल्ती सच्याउनुस्,’ सिटौलाले भने, ‘विशेष महाधिवेशनबाट घोषित अन्य पदाधिकारीलाई मेरो भन्नु केही छैन ।’
गल्ती सच्याउन कहिँ हारगुहार पनि नगर्नुपर्ने सिटौलाले बताए ।
‘कहिँ कतै कसैसँग हारगुहार माग्नुपर्दैन, आफ्नै अन्तरआत्मालाई सोध्नुपर्छ,’ उनले भने, ‘२४ गते आहत भएको शेरबहादुर देउवालाई पार्टीबाट निकालेर कत्रो महान् कार्य गरेँ ? भनेर आफ्नै अन्तरआत्मालाई सोध्नुस् तपाईंले । तपाईंको अन्तरआत्माले जे भन्छ गर्नुस् त । एकान्तमा बसेर सोच्नुस् त ।’
प्रतिक्रिया 4