+
+
Shares

दीर्घरोगी कैदीबन्दीबारे वैकल्पिक व्यवस्था खोज्न आवश्यक छ : गृहसचिव श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १८:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहसचिव राजकुमार श्रेष्ठले कारागारहरूको भौतिक पूर्वाधारमा सुधार गर्दै तिनलाई सुधार गृहका रूपमा विकास गर्ने सरकारी योजना रहेको जानकारी गराउनुभयो।
  • कारागार नियमावलीले कैदीबन्दीको प्रजनन अधिकार सुनिश्चित गरे पनि पर्याप्त पूर्वाधारको अभावमा कार्यान्वयनमा चुनौती देखिएको उहाँले स्वीकार गर्नुभयो।
  • दीर्घरोगी कैदीबन्दीहरूको व्यवस्थापनका लागि कानुनी प्रक्रिया पूरा गरी परिवारको निगरानीमा राख्ने वा वैकल्पिक व्यवस्था गर्न सकिने प्रस्ताव उहाँले अघि सार्नुभयो।

२९ साउन, काठमाडौं । गृहसचिव राजकुमार श्रेष्ठले मुलुकका कारागारहरूलाई भौतिक पूर्वाधारमा सुधार गर्दै ‘सुधार गृह’ का रूपमा विकास गर्ने सरकारको योजना रहेको जानकारी गराएका छन् ।

शुक्रबार संघीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले कारागार व्यवस्थापन र कैदीबन्दीको अधिकारका विषयमा यस्तो बताएका हुन् ।

गृहसचिव श्रेष्ठले वर्तमान कारागार नियमावलीले कैदीबन्दीको प्रजनन अधिकारलाई उपयोग गर्ने अवसर प्रदान गरेको भएपनि भौतिक पूर्वाधारको अभावले गर्दा यसको कार्यान्वयनमा चुनौती देखिएको स्वीकार गरे ।

‘कारागार नियमावलीले कैदीबन्दीलाई आफ्नो प्रजनन अधिकार उपयोग गर्ने अवसरको व्यवस्था गरेको छ । तर त्यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार र सुविधा हाम्रा कारागारहरूमा पर्याप्त छैनन् । यद्यपि, हामी यसतर्फ काम गरिरहेका छौं,’ उनले भने ।

कारागारलाई दण्ड गृहभन्दा पनि सुधार गृहको रूपमा लैजानुपर्ने सोचलाई मूर्त रूप दिन पूर्वाधार र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने उनले उल्लेख गरे । यसै सन्दर्भमा उनले कारागारमा रहेका जटिल तथा दीर्घ रोगी कैदीबन्दीहरूको व्यवस्थापनका लागि वैकल्पिक बाटो अपनाउन सकिने प्रश्ताव समेत उनले गरे ।

निश्चित मापदण्ड र कानूनी प्रक्रिया पूरा गरी त्यस्ता बिरामीहरूलाई परिवारको निगरानीमा रहने गरी जिम्मा लगाउन सकिने वा अन्य कुनै छुट्टै व्यवस्था गर्न सकिने विषयमा सोच्नुपर्ने उनको भनाइ छ ।

‘समग्रमा कारागारलाई सुधार गृहका रूपमा विकास गर्ने सोच सही छ र सोहीअनुसार आवश्यक व्यवस्थापन गर्नुपर्छ । यसका लागि पूर्वाधार र व्यवस्थापनसँगै दीर्घरोगी कैदीबन्दीको विषयमा पनि वैकल्पिक व्यवस्था खोज्न आवश्यक छ,’ उनले भने, ‘निश्चित मापदण्ड र कानूनी प्रक्रियाअनुसार गम्भीर दीर्घरोगीलाई परिवारको निगरानीमा राख्ने वा छुट्टै उपचार तथा व्यवस्थापनको व्यवस्था गर्न सकिने विकल्पबारे सोच्न सकिन्छ । त्यसैगरी, अपराधको प्रकृतिअनुसार कैदीबन्दीको व्यवस्थापन र सुविधाको वर्गीकरण आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?