+
+
Shares

आयल निगमले काठमाडौंमा यसरी बेचिरहेको छ ग्याँस (तस्वीरहरू)

काठमाडौंका ५ ठाउँबाट ग्याँस बिक्री भइरहेको छ । ग्याँस सकिएरै अतिआवश्यक अवस्थामा पुगेका व्यक्तिलाई मात्र तत्काल राहतका लागि यो विशेष व्यवस्था मिलाइएको हो ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ साउन ३० गते १२:४६

३० साउन, काठमाडौं । नेपाल आयल निगमले आज उपत्यकाका विभिन्न पाँच स्थानबाट ग्याँस बिक्री गरिरहेको छ ।

पछिल्लो समय उपभोक्ताले खाना पकाउने एलपी ग्याँसको चरम अभाव खेपिरहेका कारण सहजता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं र निगमको समन्वयमा ग्याँस उद्योगीमार्फत ग्याँस बिक्री वितरण गरिएको हो ।

अतिआवश्यक परेका उपभोक्तालाई मात्र लक्षित गरी बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्याँस बिक्री सुरु गरिएको हो । ग्याँस खरिद गर्न चाहने उपभोक्ताले साथमा अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र लिनुपर्नेछ ।

निगमका अनुसार ग्याँस आयात नियमित भइरहेको र सम्बन्धित उद्योगले आ–आफ्ना बिक्रेता (डिलर) मार्फत नियमित बिक्री वितरण गरिरहे पनि ग्याँस सकिएरै अतिआवश्यक अवस्थामा पुगेका व्यक्तिलाई मात्र तत्काल राहतका लागि यो विशेष व्यवस्था मिलाइएको हो ।

निगमका अनुसार काठमाडौंका पाँच छुट्टाछुट्टै स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री भइरहेको छ । जसअन्तर्गत निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ब्रान्डका ग्याँस वितरण भइरहेको छ ।

त्यसैगरी चावहिलस्थित यातायात कार्यालय परिसरबाट नेपाल र एचपी ब्रान्डका ग्याँसमात्र बिक्री गरिएको छ । कीर्तिपुरस्थित राधास्वामी परिसरमा नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम ब्रान्डका ग्याँस उपलब्ध गराइने छ भने बसुन्धरास्थित राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम ब्रान्डका ग्याँस वितरण हुने व्यवस्था मिलाइएको छ ।

बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ब्रान्डका ग्याँस खरिद गर्न सकिने छ ।

अति आवश्यक भएका उपभोक्तालाई मात्र माथि उल्लेखित स्थानमा तोकिएको समयमै आफ्नो परिचयपत्रसहित उपस्थित भई ग्याँस खरिद गर्न निगमले अनुरोध गरेको छ ।

   

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?