+
+
Shares

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आह्वान– आउनुहोस्, ढुक्कसँग लगानी गर्नुहोस्

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३० गते १६:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गैरआवासीय नेपालीहरूलाई नेपालको पर्यटन, सूचना प्रविधि र हरित ऊर्जा क्षेत्रमा ढुक्कसँग लगानी गर्न आह्वान गर्नुभएको छ।
  • अर्थमन्त्री वाग्लेले सरकारले लगानीमैत्री वातावरण बनाउन २७ वटा नयाँ कानून ल्याएको र आर्थिक सुधारको प्रक्रिया सुरु भइसकेको बताउनुभयो।
  • सरकारले डायस्पोराको ज्ञान र पुँजी नेपाल भित्र्याउन धितोपत्र बाँडफाँड तथा निष्काशन नियमावलीमा संशोधन गरी सेयर हिस्सा ८५ प्रतिशत पुर्याएको छ।

३० साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गरेका छन् ।

चीनको ग्वाङझाउ सहरमा आजबाट सुरु भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत शुभकामना दिनुहुँदै उनले यस्तो धारणा राखेका हुन् ।

सरकारले लगानीको माहोल बनाउने, देशमै रोजगारीको वातावरण सिर्जना गर्ने, एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी नीतिगत रणनीतिहरू कार्यान्वयन गरिरहेको भन्दै उनले नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरूलाई आग्रह गरे ।

‘प्रवासी साथीहरू, अब नेपाल आएर ढुक्कसँग नेपालमा लगानी गर्नुहोस् । पर्यटन, सूचना प्रविधि क्षेत्रमा, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषिमा र आयात प्रतिस्थापन हुने क्षेत्रहरूमा लगानी गर्नुहोस्,’ उनले भिडियो सन्देशमार्फत भनेका छन् ।

सरकारले नतिजा देखिने गरी तीव्र गतिमा काम गरिरहेको उनको भनाइ छ । बजेटबाट २७ वटा नयाँ कानुनी ऐन ल्याएर लगानीमैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको भन्दै अर्थमन्त्री वाग्लेले सम्मानजनक रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिएको बताए ।

सरकारको आम्दानी बढाउन कर प्रणालीमा सुधार गरेको पनि उनको भनाइ छ । बजेटमार्फत आर्थिक राजकाजको जहाज मोडेको र पहिलो वर्ष सुधारको सुरुआत मात्रै गरेको उनले उल्लेख गरे ।

‘पहिलो वर्ष सुधारको सुरुआत गर्यौँ, दोस्रो वर्ष अझै फराकिलो सुधारको काम अघि बढ्नेछ । तेस्रो र चौथो वर्ष सुधारको नतिजा देखिनेछ । चौथो र पाँचौँ वर्षमा यसको प्रतिफल जनताले पाउनेछन्,’ अर्थमन्त्री वाग्लेले भने ।

यी सबै लक्ष्य प्राप्तिका लागि आन्तरिक स्रोत अत्यन्तै महत्वपूर्ण भएको, बाह्य लगानीको स्रोत अप्ठ्यारो अवस्थामा रहेको र यही बेला प्रवासीको ज्ञान र पुँजी सरकारलाई चाहिएको उनको भनाइ छ ।

प्रवासको पुँजी र लगानी परिचालनको विषयमा पार्टीको घोषणा पत्रमा पनि उल्लेख भएको र सरकारले पनि विशेष पहल गरिएको उनले बताए ।

‘निर्वाचनको घोषणापत्रमा पनि हामीले सफ्ट पावरको उपयोगका कुरा गरेका थियौं । अहिले सरकारले डायस्पोराको लगानी र ज्ञान नेपाल भिर्त्याउने नीति लिएको छ । केही दिन अघि मात्रै हामीले धितोपत्र बाँडफाँड तथा निष्काशन नियमावलीमा संशोधन गरेर नेपाल सरकार र एनआरएन इन्भेस्टमेन्ट फण्डबाट जारी हुने सेयरको हिस्सा ८५ प्रतिशत पुर्‍याएका छौं,’ अर्थमन्त्री वाग्लेले भने ‘आउनुहोस्, ढुक्क भएर लगानी गर्नुहोस् । आफ्नो ज्ञान र सीपलाई यहाँ प्रयोग गर्नुहोस् ।’

सरकारले रुग्ण उद्योगहरूलाई पनि ब्युँताउँदै गरेको र यसलाई पुनर्ताजगी गरेर सञ्चालनका लागि राम्रो सीप र ज्ञान भएकालाई दिने भन्दै त्यसमा पनि प्रवासले सहभागिता जनाउन सक्ने अर्थमन्त्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?