News Summary
Generated by OK AI. Editorially reviewed.- गैरआवासीय नेपाली संघ एनआरएनएमा पछिल्लो समय संस्था निर्माण गर्ने पुरानो पुस्ता र नयाँ पुस्ताबीच भावनात्मक दूरी बढेको छ।
- निरन्तरको आन्तरिक विवाद, पदको प्रतिस्पर्धा र वैधानिकताको संकटले संस्थाको विश्वसनीयता र अग्रजहरूको अपनत्वमा गम्भीर असर पुर्याएको छ।
- एनआरएनएले अब पुराना अभियन्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई जोड्दै संस्थालाई फेरि साझा मञ्चका रूपमा पुनःस्थापित गर्नुपर्ने चुनौती देखिएको छ।
एउटा पुस्ताले आफ्नो समय, पैसा र जीवनको महत्वपूर्ण हिस्सा खर्चेर संस्था बनायो। अर्को पुस्ता त्यही संस्थाको सम्भावित उत्तराधिकारी भएर पनि त्यसको मूलधारमा अपेक्षित रूपमा देखिँदैन। एनआरएनएको अहिलेको कथा यही विरोधाभासबाट सुरु हुन्छ।
एनआरएनए निर्माण गर्ने पुस्ताले यसलाई केवल एउटा संस्था बनाएन; विदेशमा छरिएका नेपालीलाई एउटै साझा चौतारीमा जोड्ने अभियान नै अघि बढायो। त्यस क्रममा उनीहरूले आफ्नो व्यवसायको समय काटे, परिवारलाई दिने समय घटाए, आफ्नै खर्चमा देश-देश यात्रा गरे र वर्षौंसम्म स्वयंसेवी रूपमा खटे। झन्डै साढे दुई दशकको यो यात्रामा उनीहरूले समय मात्र होइन, आफ्नो व्यक्तिगत जीवनको महत्वपूर्ण हिस्सा पनि संस्थाका लागि लगाए।
त्यसबेला एनआरएनएको कार्यक्रममा पुग्नु एउटा सामाजिक जिम्मेवारी जस्तै थियो । त्यहाँ आफ्नै समुदाय भेटिन्थ्यो, आफ्ना कुरा राख्न पाइन्थ्यो र आफूले निर्माण गरेको संस्थासँग जोडिएको अनुभूति हुन्थ्यो।
आज त्यो संस्था पहिलेभन्दा ठूलो छ। ९० देशमा संरचना छन्, कार्यक्रम छन्, नेतृत्व छ, एजेन्डा छन्। तर संस्था बनाउने पुस्ता र संस्थाबीचको पुरानो आत्मीय सम्बन्धमा कतै दूरी आएको छ।
अर्कोतर्फ, विदेशमै हुर्किएको नयाँ पुस्ता नेपाली समुदायबाट टाढिएको छैन। उसको नेपालसँगको सम्बन्ध पनि टुटेको छैन। तर यही पुस्ताले एनआरएनएलाई आफ्नो स्वाभाविक मञ्चका रूपमा आत्मसात गरेको भने देखिँदैन। यहीँबाट एउटा पुस्ताले बनाएको संस्थाले अर्को पुस्तालाई कति समेट्न सकेको छ र कहाँ चुकिरहेको छ भन्ने प्रश्न उठ्छ। एनआरएनएको आगामी यात्राको एउटा महत्वपूर्ण चुनौती पनि यही पुस्तान्तरणसँग जोडिएको छ।
एनआरएनएसँग आएको यो दूरी एकै पटक बनेको होइन। यसको पछाडि पछिल्ला केही वर्षको संस्थागत यात्रा छ, जसले विस्तारै संस्थाको प्राथमिकता, नेतृत्वको शैली र सदस्यको मनोविज्ञानमा असर पार्यो।
एनआरएनए ठूलो हुँदै जाँदा यसको जिम्मेवारी पनि बढ्यो। तर संरचना ठूलो हुनु र संस्था बलियो हुनु एउटै कुरा होइन। सदस्य बढ्नु र सदस्यको अपनत्व बढ्नु पनि एउटै कुरा होइन। यही अन्तरलाई पछिल्ला वर्षका घटनाक्रमले अझ स्पष्ट बनाएका छन्।
संस्था ठूलो भयो, अपनत्व किन घट्यो?
विशेषगरी पाँच-सात वर्ष एनआरएनएका लागि असहज रहे। नेतृत्वलाई लिएर सुरु भएको विवाद समानान्तर संरचनासम्म पुग्यो। अधिवेशन र निर्वाचन प्रक्रियामाथि प्रश्न उठे। प्रतिनिधि छनोटदेखि वैधानिकतासम्मका विवादले संस्थालाई लामो समय अल्झाइरहे। अन्ततः विषय अदालतसम्म पुग्यो। एउटा सामाजिक संस्थाका लागि यो सामान्य असहमति मात्र थिएन; यसले संस्थासँग जोडिएका गैरआवासीय नेपालीको विश्वास र धैर्यमाथि पनि असर पार्यो।
विवादको एउटा विडम्बना के भयो भने, एनआरएनएले विदेशमा रहेका नेपालीको साझा आवाज बन्नुपर्ने समयमा उसकै आन्तरिक संरचना र नेतृत्वको विवाद बहसको मुख्य विषय बन्न पुग्यो। नागरिकता, श्रमिकका समस्या, सामाजिक सुरक्षा, लगानी र नयाँ पुस्तालाई कसरी जोड्ने भन्ने प्रश्नभन्दा नेतृत्व कसको भन्ने प्रश्न अगाडि आयो।
यसको असर सबैभन्दा गहिरो रूपमा त्यही पुस्तामाथि पर्यो, जसले एनआरएनए निर्माणमा आफ्नो जीवनको महत्वपूर्ण हिस्सा लगाएको थियो। वर्षौंसम्म आफ्नै खर्चमा दौडिएको, व्यवसाय र परिवारका लागि छुट्याउनुपर्ने समय संस्थालाई दिएको पुस्ताले आफूले बनाएको संस्थालाई निरन्तर विवादमा देख्दा स्वाभाविक रूपमा निराशा महसुस गर्यो। जुन एनआरएनएमा उसले आफ्नो समुदायको शक्ति, अपनत्व र सम्भावना देखेको थियो, त्यही संस्थाको सार्वजनिक छवि क्रमशः कमजोर हुँदै गएको आफ्नै आँखाले देख्यो।
अधिवेशन र नेतृत्व चयनसँग जोडिएका विवादले एनआरएनएको विश्वसनीयतामाथि प्रश्न उठाए। कुनै समय नेपालमा ‘एनआरएन’ भनेर चिनिनु आफैंमा एउटा सामाजिक हैसियत र प्रतिनिधित्वको परिचय जस्तो थियो। राजनीतिक नेतृत्वदेखि सरकार र परराष्ट्र मन्त्रालयसम्म गैरआवासीय नेपालीको आवाजलाई विशेष महत्वका साथ सुनिन्थ्यो। तर निरन्तरका विवादसँगै त्यो प्रभाव पनि क्रमशः खस्किँदै गयो।
हिजो ‘एनआरएन हुँ’ भनेर नेपाल पुग्दा गर्वका साथ छाती फुलाउने अवस्था थियो; आज त्यही परिचयलाई फेरि अर्थपूर्ण र सम्मानित बनाउनु संस्थासामु रहेको चुनौती हो। यही कारण अहिले देखिएको दूरीलाई केवल ‘पुराना मान्छे असन्तुष्ट भए’ भनेर बुझ्नु पर्याप्त हुँदैन। यो योगदान, अपनत्व र संस्थाबीचको सम्बन्ध कमजोर हुँदै गएको संकेत पनि हुन सक्छ।
पुराना अनुहार किन हराउँदै छन् ?
यसको एउटा पछिल्लो दृश्य आयरल्यान्डको डब्लिनमा देखियो। १७औँ एनआरएनए युरोप क्षेत्रीय सम्मेलनमा विभिन्न देशबाट उल्लेख्य सहभागिता रह्यो। विषयगत छलफल भए, घोषणापत्र जारी भयो, नेतृत्व र प्रतिनिधिबीच अन्तर्क्रिया भयो। कागजमा हेर्दा सम्मेलनको दायरा व्यापक थियो। तर त्यही जमघटमा एनआरएनएको लामो यात्रासँग जोडिएका पूर्वअध्यक्षहरू, अग्रज तथा परिचित अनुहारहरूको उपस्थिति देखिएन।
यसलाई उनीहरूको असन्तुष्टिको सम्पूर्ण प्रमाण मान्न मिल्दैन। भिसा, व्यक्तिगत व्यस्तता, यात्रा खर्च वा अन्य व्यावहारिक कारण हुन सक्छन्। त्यसैले प्रश्न अनुपस्थित व्यक्तिमाथि मात्र होइन, संस्थाले आफ्ना अग्रज र पुराना अभियन्तालाई अझै कति स्वाभाविक रूपमा एउटै मञ्चमा तान्न सक्छ भन्नेमा पनि हो।
किनकि, कुनै समय यस्ता भेटघाट एनआरएनएको शक्ति थिए। पुराना अभियन्ता, वर्तमान नेतृत्व र नयाँ अनुहार एउटै ठाउँमा भेटिनु संस्थाको निरन्तरता र अपनत्वको संकेत हुन्थ्यो। अहिले त्यस्तो दृश्य कमजोर हुँदै गएको हो भने त्यसको कारण खोजिनु पर्छ। समस्या को आएन भन्नेमा मात्र होइन; किन पहिले जसरी आउनुपर्ने महसुस भएन भन्नेमा पनि छ।
यही ठाउँमा नयाँ पुस्ताको प्रश्न जोडिन्छ।
विदेशमा हुर्किएको पुस्ताले एनआरएनएलाई त्यही आँखाले हेर्दैन, जुन आँखाले पहिलो पुस्ताले हेरेको थियो। पहिलो पुस्ताका लागि एनआरएनए आफ्नो संघर्षको विस्तार थियो। नयाँ पुस्ताका लागि त्यो एउटा सम्भावित संस्था हो। उसले आफ्नो जीवनको ठूलो हिस्सा नेपालभन्दा बाहिर बनाएको छ।
त्यसैले उसलाई केवल भावनात्मक अपिलले तान्न सकिँदैन। उसले एनआरएनएमा आफ्नो भविष्यसँग जोडिने कारण खोज्छ।
यदि उसले त्यहाँ आफ्नो सिप प्रयोग गर्ने ठाउँ देख्छ, नेपाल र आफू बसेको देशबीच काम गर्ने अवसर देख्छ, लगानीको सम्भावना देख्छ, आफ्नै पुस्ताको निर्णयमा अर्थपूर्ण भूमिका देख्छ भने मात्र ऊ आउन सक्छ। तर यदि एनआरएनए उसको अभिभावक पुस्ताको संस्था, पदको प्रतिस्पर्धा र पुरानो विवादको निरन्तरता मात्र देखियो भने दुरी स्वाभाविक हुन्छ।
यहीँ एनआरएनएको अगाडिको बाटो छुट्टिन्छ- पुरानो पुस्तालाई विस्थापित गरेर नयाँ पुस्ता ल्याउने कि पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा एउटै संस्थामा जोड्ने ? दोस्रो बाटो कठिन छ। तर दीर्घकालीन रूपमा एनआरएनएका लागि त्यही बाटो बढी अर्थपूर्ण देखिन्छ।
नयाँ पुस्तालाई एनआरएनए किन चाहिन्छ ?
पुस्तान्तरणको प्रश्न केवल युवालाई संस्थामा ल्याउने विषय होइन। संस्थाले आफूलाई नयाँ पुस्ताका लागि किन आवश्यक बनाउने भन्ने प्रश्न हो।
पहिलो पुस्तालाई एनआरएनए आवश्यक थियो, किनकि विदेशमा नेपाली समुदाय निर्माण हुँदै थियो। उनीहरूलाई आफ्नो आवाज उठाउने साझा मञ्च चाहिएको थियो। नयाँ पुस्तासँग भने त्यस्तो आवश्यकता उस्तै छैन। उनीहरू जन्मेको वा हुर्केको देशमै सामाजिक र व्यावसायिक रूपमा स्थापित छन्। उनीहरूसँग आफ्नै नेटवर्क छ, आफ्नै अवसर छन् र आफ्नै पहिचान छ।
त्यसैले एनआरएनएले नयाँ पुस्तासँग सम्बन्ध बनाउने हो भने पुरानो पुस्ताले प्रयोग गरेको भाषाभन्दा फरक भाषा बोल्नु पर्ने हुन्छ।
नेपालसँग जोडिनु भनेको नेपालमै फर्केर बस्नु मात्र होइन। विदेशमै बसेर नेपालमा लगानी गर्न सकिन्छ। नेपाली युवासँग व्यवसाय गर्न सकिन्छ। प्रविधि र ज्ञान जोड्न सकिन्छ। अनुसन्धानमा सहकार्य गर्न सकिन्छ। नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सकिन्छ। पर्यटन, शिक्षा, स्वास्थ्य र उद्यमका क्षेत्रमा दुई देशबीच पुल बन्न सकिन्छ।
पहिलो पुस्ताले नेपालसँग आर्थिक सम्बन्ध बनाउँदा रेमिट्यान्स एउटा प्रमुख माध्यम थियो। दोस्रो पुस्ताले त्यो सम्बन्धलाई रेमिट्यान्सबाट ज्ञान, सिप, लगानी र अन्तर्राष्ट्रिय नेटवर्कतर्फ विस्तार गर्न सक्छ।
तर, त्यसका लागि एनआरएनएले नयाँ पुस्तालाई केवल सदस्यको सूचीमा थपिने संख्या भनेर हेर्न छाड्नु पर्छ। उसलाई संस्थाको भावी साझेदारका रूपमा हेर्नु पर्छ।
समस्या तब पैदा हुन्छ, जब एउटा पुस्तालाई केवल विगतका रूपमा र अर्को पुस्तालाई केवल भविष्यका रूपमा हेर्न थालिन्छ। दुवैलाई वर्तमानमा जोड्ने ठाउँ नबनेसम्म संस्था पुस्तान्तरणको संकटबाट बाहिर आउन सक्दैन।
यसका लागि नेतृत्वले पनि आफ्नो सफलताको मापदण्ड बदल्नु पर्नेछ। अब प्रश्न संस्थाको आकार होइन, सम्बन्धको हो।
अब एनआरएनएको सफलता कति देशमा समिति बने, कति बैठक भए, कति सम्मेलन आयोजना भए वा कति प्रस्ताव पारित भए भन्ने कुराले मात्र नापिनु हुँदैन। एउटा सामान्य सदस्यले संस्था आफ्नो जीवनसँग जोडिएको महसुस गर्छ कि गर्दैन, एउटा पुरानो अभियन्ताले आफ्नो योगदानको अर्थ देख्छ कि देख्दैन र नयाँ पुस्ताको नेपालीले एनआरएनएभित्र आफ्नो भूमिका देख्छ कि देख्दैन, यी प्रश्न अझ महत्वपूर्ण छन्।
किनकि, संस्था ठूलो हुँदै जानु र संस्था बलियो हुँदै जानु फरक कुरा हो।
एनआरएनए अहिले त्यही मोडमा छ, जहाँ उसको पुरानो शक्ति र नयाँ सम्भावनाबीच पुल बनाउनु पर्नेछ। पछिल्ला वर्षका विवादले कमजोर पारेको विश्वास पुनःनिर्माण गर्नु पर्नेछ, नेतृत्व र समुदायबीचको दूरी घटाउनु पर्नेछ र सबैभन्दा महत्वपूर्ण, संस्थालाई फेरि यस्तो साझा मञ्चका रूपमा स्थापित गर्नु पर्नेछ, जहाँ मानिस पदका लागि होइन, उद्देश्यका लागि आउन चाहोस्।
त्यो काम सजिलो छैन। तर एनआरएनएको इतिहास हेर्दा यसको सबैभन्दा ठूलो शक्ति कहिल्यै यसको संरचना थिएन। विदेशमा रहेका नेपालीले यसलाई आफ्नो साझा संस्था ठानेका कारण यो ठूलो बनेको थियो। आज पनि त्यही शक्ति फर्काउन सकिन्छ।
त्यसका लागि एनआरएनएको जग निर्माण गर्ने अभियन्तालाई भन्नुपर्ने कुरा स्पष्ट छ-तपाईंहरूले बनाएको अनुभव, योगदान र संस्थागत स्मृति अझै आवश्यक छ। नयाँ पुस्तालाई भन्नुपर्ने कुरा पनि उत्तिकै स्पष्ट छ- यो संस्था तपाईंहरूको पनि हो, तर यसलाई तपाईंहरूको पुस्ताले नयाँ अर्थ दिनु पर्नेछ।
एनआरएनएको अगाडिको यात्रा यही सम्बन्धलाई कसरी पुनःपरिभाषित गरिन्छ भन्ने कुराले तय गर्नेछ।
एनआरएनए फेरि पहिले जस्तै गैरआवासीय नेपालीको भावनासँग जोडिन सक्यो भने पुरानो अपनत्व नयाँ रूपमै फर्किन सक्छ। नयाँ पुस्ताको दुरी पनि घट्न सक्छ। तर संस्था आफ्नै संरचना, पद र आन्तरिक राजनीतिमै सीमित भइरह्यो भने नयाँ पुस्तालाई आकर्षित गर्न झन् कठिन हुनेछ।
एनआरएनएले अब आफ्नै विगतसँग इमानदार भएर हेर्नुपर्ने समय आएको छ। कहाँ सफल भयो, कहाँ चुक्यो, किन मानिस निराश भए, किन केही अग्रजहरू विस्तारै किनारातिर पुगे र किन विदेशमा हुर्किएको नयाँ पुस्ताले यसलाई आफ्नो स्वाभाविक मञ्च ठानेन । यी प्रश्नबाट भागेर संस्थाको नयाँ अध्याय सुरु हुन सक्दैन।
किनकि, एनआरएनएको पुनर्जागरण नयाँ संरचना वा नयाँ नाराबाट हुने होइन। त्यो दिन सुरु हुनेछ, जब वर्षौंसम्म संस्थाका लागि समय र पैसा खर्च गरेको एउटा अभियन्ताले फेरि ‘मैले गरेको लगानी खेर गएन’ भन्ने अनुभूति गर्नेछ, र विदेशमा हुर्किएको एउटा युवाले ‘यो मेरा बाबुआमाको पुस्ताले बनाएको संस्था मात्र होइन, मेरो पनि हो’ भनेर महसुस गर्नेछ।
त्यसका लागि पुरानो पुस्तालाई बिर्सनु पर्दैन, नयाँ पुस्तालाई पुरानोसँग प्रतिस्पर्धा गराउनु पनि पर्दैन। एउटा पुस्ताले कमाएको अनुभव र अर्को पुस्ताले बोकेको सम्भावनालाई एउटै ठाउँमा जोड्न सक्नुपर्छ। एउटा पुस्ताले एनआरएनएको जग बनायो। अर्को पुस्ताको जिम्मेवारी त्यो जगमाथि त्यही पुरानो भवन दोहोर्याउन होइन, आफ्नो समय र आवश्यकताअनुसार नयाँ घर बनाउनु हो।
र, त्यसपछि मात्र शीर्षकमा उठेको प्रश्नको उत्तर भेटिनेछ- पुरानो पुस्ता टाढिनु पर्ने छैन, नयाँ पुस्ता नजिकिन आग्रह गरिरहनु पर्ने छैन; दुवैले एउटै संस्थामा आफ्नो ठाउँ देख्ने छन्।
सायद एनआरएनएको अर्को अध्याय त्यहीँबाट सुरु हुन्छ।
प्रतिक्रिया 4