News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजन वा नयाँ दल खोल्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ ।
- उनले पार्टीभित्रको विवाद संवादमार्फत समाधान गर्न सकिने विश्वास व्यक्त गर्दै पार्टीलाई समयसापेक्ष परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन् ।
- डा. कोइरालाले आगामी महाधिवेशनमा सभापतिका लागि डा. शेखर कोइराला अघि बढे आफूले सहयोग गर्ने बताउनुभएको छ ।
३० साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजन वा नयाँ दल खोल्ने पक्षमा नरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पार्टीलाई समयसापेक्ष परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिएका हुन् ।
नेता कोइरालाले पार्टीभित्र हुनसक्ने सम्भावित विवादलाई संवादका माध्यमबाट समाधान गर्न सकिने विश्वास व्यक्त गरे ।
‘म पार्टी फुट्ने वा नयाँ पार्टी खोल्ने पक्षमा विल्कुलै छैन । जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ,’ कोइरालाले भने ।
आगामी १५ औं महाधिवेशनको प्रसङ्गमा बोल्दै कोइरालाले नेता डा. शेखर कोइरालासँग आफ्नो राम्रो समझदारी रहेको उल्लेख गरे । उनले थप स्पष्ट पार्दै सभापतिमा शेखर कोइराला नेतृत्वका लागि अघि बढेको खण्डमा आफूले सहयोग गर्ने समेत बताए ।
‘सभापति पदका लागि म इच्छुक छु तर मेरो इच्छाले मात्र हुँदैन । साथीहरूसँग परामर्श गरेर उहाँहरूको सुझावअनुसार म निर्णय गर्नेछु,’ उनले भने, ‘नयाँ र संगठित कांग्रेसका लागि अबको मूल केन्द्रबिन्दु विकास हुनुपर्छ । नीति राम्रो भयो भने मात्र जनता आकर्षित हुन्छन्, त्यसैले हाम्रो ध्यान अब ठोस नीति र विकासमा हुनुपर्छ ।’
प्रतिक्रिया 4