३० साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपालमा चरम गरिबी नरहेको बताएका छन् । एमालेले १० वर्ष सरकार चलाउँदा चरम गरिबी अन्त्य गरेको उनले दाबी गरेका हुन् ।
‘नेकपा एमाले सरकारमा गएका बेला रोजगारी यसरी सिर्जना गर्यौं कि जसले गर्दा नेपालमा तीन वर्ष म प्रधानमन्त्री हुँदा गरिबी कमसे कम ३ प्रतिशतले घटेको थियो,’ शनिबार इलाममा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले भने, ‘हाम्रो बहुमत थिएन, नभएपनि अरूसँग मिलेर हामीले लिड गरेर काम गर्दा नेपालमा ३ प्रतिशतले गरिबी घट्यो । १० वर्ष हामीले काम गर्दा चरम गरिबीलाई हामी अन्त्य गर्यौं ।’
नेपालमा गरिबी रहेपनि चरम गरिबी नरहेको उनले दाबी गरे । ‘गरिबी छ नेपालमा । तर अरू देशजस्तो चरम गरिबी छैन । हाम्रै छिमेकतिर हेर्नुस् न, चरम गरिबी छ त्यहाँ ?,’ उनले भने ।
एमालेले सरकार चलाउँदा नेपालमा धेरै विकास निर्माणका काम भएको पनि अध्यक्ष ओलीले बताए । उनले भने, ‘राजमार्ग कति बने ? बाटाघाटा कति बने । रिभर कोरिडोर कति बने । एयरपोर्ट पनि राति चल्ने भए ।’
एमालेको नेतृत्वमा शिक्षा र अरू क्षेत्रमा थुप्रै विकास भएको उनले दाबी गरे ।
‘सानासानादेखि ठूला कामहरू हामीले कैयौं गरेका छौं । नेकपा एमालेले केही गरेन भन्ने प्रचार गरे, त्यसमा सत्यता छैन,’ उनले भने ।
एमाले नेताकार्यकर्ताले गरेका कामको पर्याप्त प्रचार जनताका बीचमा पुर्याउन नसकेको उनले बताए ।
प्रतिक्रिया 4