News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल र भुटानका व्यवसायीको सहकार्यमा निर्मित फिल्म ‘टनेल २६’ को ट्रेलर सार्वजनिक भएको छ।
- फिल्ममा साङ्गे सेल्ट्रिम, अनुपविक्रम शाही र आना शर्माको अभिनय रहेको छ।
- यो फिल्म आगामी अक्टोबर महिनामा प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ।
काठमाडौँ । नेपाल र भुटानका व्यवसायीको संयुक्त सहकार्यमा निर्माण भएको फिल्म ‘टनेल २६’ को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा दुवै मुलुकका कलाकारको अभिनय छ ।
गतवर्ष भुटानमा छायांकन गरिएको फिल्मको ट्रेलरले कथावस्तुबारे संक्षिप्त दर्शाउँछ । केही बलिउड फिल्ममा अभिनय गरेका भुटानी अभिनेता साङ्गे सेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा लगायतका कलाकार ट्रेलरमा फिचर्ड छन् ।
साङ्गे सेल्ट्रिम फिल्म्स र पिक एक्सभी प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका लेखक तथा निर्देशक डीडी किन्ले हुन् । मूल रूपमा भुटानको राष्ट्रिय भाषा ‘जोङ्खा’मा यो फिल्म निर्माण भएको हो । जसलाई, नेपाली र हिन्दी भाषामा समेत स्वरांकन गर्ने जनाइएको छ ।
यो फिल्मको पोस्ट-प्रोडक्सन कार्य थाइल्यान्डमा चलिरहेको विवरणमा उल्लेख छ । यो फिल्मलाई आगामी अक्टोबर महिनामा प्रदर्शन गरिने प्रेषित वक्तव्यमा उल्लेख गरिएको छ । साथै, भारतीय ओटीटी प्लाटफर्ममा पनि रिलिज गरिने भएको छ ।
जम्बोइ थ्रीलर जनरामा निर्माण भएको यो फिल्मको ट्रेलरले कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ । भुटानको एक जलविद्युत आयोजनाभित्र कसरी मानिस जम्बोइमा परिणत हुन्छन् र त्यहाँबाट जोगिन अन्य कामदारले गर्ने संघर्षको कथामा फिल्म बनेको छ ।
प्रतिक्रिया 4