+

कति खतरनाक हो फ्याटी लिभर ‍? नियन्त्रणका ६ तरिका

२०८३ भदौ  २ गते १२:०४ २०८३ भदौ २ गते १२:०४
Shares
कति खतरनाक हो फ्याटी लिभर ‍? नियन्त्रणका ६ तरिका

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्रेड १ फ्याटी लिभर कलेजोमा बोसो जम्मा हुने प्रारम्भिक अवस्था भए तापनि यसलाई गम्भीर स्वास्थ्य सङ्केतका रूपमा लिएर सावधानी अपनाउनु आवश्यक छ।

फ्याटी लिभर अर्थात् कलेजोमा आवश्यकभन्दा बढी बोसो जम्मा हुनु आजभोलि धेरै मानिसमा देखिने समस्या हो । धेरैलाई स्वास्थ्य परीक्षण वा पेटको अल्ट्रासाउन्ड गराउँदा अचानक ‘ग्रेड १ फ्याटी लिभर’ देखिन्छ ।

त्यसपछि पहिलो प्रश्न हुन्छ, ‘अब कलेजो बिग्रिन थाल्यो त ?’

ग्रेड १ फ्याटी लिभर देखिँदा सामान्य समस्या भनेर बेवास्ता गर्नु ठीक होइन, तर यसलाई कलेजो बिग्रिसकेको वा सिरोसिस भइसकेको अवस्था ठान्नु पनि गलत हो । फ्याटी लिभरका ग्रेड १, २ र ३ हुन्छन् । सामान्यतया ग्रेड १ भन्दा ग्रेड २ र ३ मा कलेजोमा बोसो बढी जम्मा भएको हुन्छ र जोखिम पनि बढी हुन्छ ।

ग्रेड १ प्रायः कलेजोमा बोसो जम्मा हुन थालेको सुरुवाती अवस्था हो । त्यसैले ग्रेड १ देखिँदैमा धेरै आत्तिनु पर्दैन । सही समयमा खानपान, तौल, शारीरिक गतिविधि र मधुमेह तथा कोलेस्ट्रोलजस्ता समस्यामा नियन्त्रण गर्न सके कलेजोमा जम्मा भएको बोसो घटाउन र रोगको प्रगति रोक्न सकिन्छ ।

फ्याटी लिभरलाई कसरी बुझ्ने ?

कलेजोमा केही मात्रामा बोसो हुनु असामान्य होइन । तर कलेजोका कोषिकामा आवश्यकभन्दा बढी बोसो जम्मा हुन थालेपछि त्यसलाई फ्याटी लिभर भनिन्छ ।

अल्ट्रासाउन्डमा कलेजोमा बोसोको मात्रा हल्का बढेको देखिएमा प्रायः त्यसलाई ग्रेड १ फ्याटी लिभर भनिन्छ । ग्रेड २ र ३ मा बोसोको मात्रा क्रमशः बढी देखिन्छ ।

यो अवस्थालाई अहिले चिकित्सकीय भाषामा ‘मेटाबोलिक एसोसिएटेड स्टियाटोटिक लिभर डिजिज’ भनिन्छ । यसमा मोटोपन, पेट वरिपरि बोसो, इन्सुलिन प्रतिरोध, टाइप–२ मधुमेह, उच्च रक्तचाप र रगतमा कोलेस्ट्रोल वा ट्राइग्लिसराइड बढ्नेजस्ता मेटाबोलिक समस्या महत्वपूर्ण जोखिम कारक हुन्छन् ।

तर ‘ग्रेड १’ देखियो भन्दैमा कलेजोमा गम्भीर क्षति भइसकेको निष्कर्ष निकाल्न मिल्दैन । अल्ट्रासाउन्डले मुख्यतः कलेजोमा बोसो जम्मा भएको संकेत दिन्छ; कलेजोका भाग सुन्निनु वा दाग अर्थात् फाइब्रोसिस कति छ भन्ने कुरा छुट्टै मूल्यांकन गर्नुपर्ने हुन सक्छ ।

कति खतरनाक ?

ग्रेड १ आफैंमा प्रायः गम्भीर अवस्था होइन । त्यसैले ग्रेड १ फ्याटी लिभर देखिँदैमा धेरै आत्तिनु पर्दैन । तर यसलाई भविष्यमा समस्या हुन सक्ने जोखिमको संकेतका रूपमा लिनुपर्छ ।

कलेजोमा बोसो जम्मा हुनु लामो समयसम्म रह्यो र त्यससँगै कलेजोमा सुन्निनु तथा कलेजोका कोषिकामा क्षति हुन थाल्यो भने अवस्था गम्भीर हुँदै जान सक्छ । मेटाबोलिक एसोसिएटेड स्टियाटोटिक लिभर डिजिजबाट मेटाबोलिक एसोसिएटेड स्टियाटोहिपाटाइटिसतर्फ जान थालेपछि भने बढी सचेत हुनुपर्छ ।

स्टियाटोहिपाटाइटिसमा कलेजोका कोषिकामा इन्जुरी हुन थाल्छ । कलेजोका इन्जाइमहरूमा गडबडी देखिनु पनि कलेजोका कोषिकामा क्षति हुन थालेको संकेत हुनसक्छ ।

त्यसपछि फाइब्रोसिस हुँदै सिरोसिस र दुर्लभ अवस्थामा कलेजोको क्यान्सरसम्म पुग्ने जोखिम हुन्छ । तर सबै ग्रेड १ फ्याटी लिभर सिरोसिसमा पुग्छन् भन्ने होइन ।

समग्रमा, फ्याटी लिभर भएका मानिसमध्ये करिब ३ प्रतिशतमा मात्र गम्भीर समस्या हुँदै कलेजो बिग्रिने वा कलेजो फेल हुने अवस्थासम्म पुग्ने जोखिम हुने चिकित्सकीय अनुभव छ । त्यसैले ग्रेड १ देखिँदैमा ‘अब कलेजो बिग्रियो’ भनेर डराउनु आवश्यक छैन । तर ‘ग्रेड १ हो, केही गर्नुपर्दैन’ भन्ने सोच पनि गलत हो ।

किन हुन्छ ?

फ्याटी लिभरको पछाडि एउटै कारण हुँदैन । विशेषगरी शरीरमा बोसो र चिनीको मेटाबोलिज्मसँग सम्बन्धित समस्याले यसको जोखिम बढाउँछन् ।

१. तौल बढी हुनु

विशेषगरी पेट वरिपरि बोसो बढी जम्मा भएको अवस्थामा कलेजोमा बोसो जम्मा हुने सम्भावना बढ्छ ।

२. मधुमेह वा रगतमा ग्लुकोजको मात्रा बढी हुनु

इन्सुलिन प्रतिरोध र टाइप–२ मधुमेह फ्याटी लिभरसँग बलियो रूपमा सम्बन्धित छन् ।

३. कोलेस्ट्रोल र ट्राइग्लिसराइड बढ्नु

रगतमा बोसोको मात्रा असन्तुलित हुँदा कलेजोमा पनि बोसो जम्मा हुन सक्छ ।

४. शारीरिक गतिविधि कम हुनु

दिनभर बसिरहने, नियमित व्यायाम नगर्ने र शरीरलाई पर्याप्त सक्रिय नराख्ने बानीले तौल तथा मेटाबोलिक समस्या बढाउन सक्छ ।

५. अस्वस्थ खानपान

अत्यधिक क्यालोरी, चिनी, गुलियो पेय पदार्थ, प्रशोधित खाना तथा अस्वस्थ बोसोको अत्यधिक सेवनले जोखिम बढाउन सक्छ । विशेषगरी धेरै चिनी भएका पेय पदार्थ र फ्रक्टोजयुक्त खानेकुराको अत्यधिक सेवन कम गर्न चिकित्सकीय सल्लाह दिइन्छ ।

६. मदिरा सेवन

मदिराले पनि कलेजोमा बोसो जम्मा गराउन सक्छ । त्यसैले, फ्याटी लिभर देखिएको अवस्थामा मदिरा सेवनबारे चिकित्सकसँग स्पष्ट छलफल गर्नुपर्छ । यसका अतिरिक्त केही औषधि, तीव्र रूपमा तौल घट्नु, कुपोषण तथा केही दुर्लभ आनुवंशिक समस्याले पनि कलेजोमा बोसो जम्मा हुन सक्छ ।

लक्षण के के हुन् ?

सबैभन्दा महत्वपूर्ण कुरा—ग्रेड १ फ्याटी लिभरमा धेरैजसो मानिसमा कुनै स्पष्ट लक्षण देखिँदैन ।

त्यसैले, आफूलाई केही नभएको महसुस हुँदैमा कलेजो पूर्ण रूपमा स्वस्थ छ भनेर ढुक्क हुन मिल्दैन । कतिपयमा लगातार थकान, कमजोरी वा पेटको दायाँ माथिल्लो भागमा असहजता हुन सक्छ ।

यही कारणले धेरै मानिसमा फ्याटी लिभर नियमित स्वास्थ्य परीक्षण, रगतको जाँच वा पेटको अल्ट्रासाउन्ड गर्दा संयोगवश पत्ता लाग्छ ।

तर आँखा वा छाला पहेँलो हुनु, पेटमा पानी जमेर फुल्नु, खुट्टा सुन्निनु, अत्यधिक कमजोरीजस्ता लक्षण देखिए भने त्यसलाई सामान्य ग्रेड १ फ्याटी लिभर भनेर बेवास्ता गर्नु हुँदैन । यस्ता लक्षण गम्भीर कलेजो रोगमा पनि देखिन सक्छन् र चिकित्सकीय मूल्यांकन आवश्यक हुन्छ ।

कसरी थाहा हुन्छ ?

फ्याटी लिभर पत्ता लगाउन चिकित्सकले बिरामीको तौल, खानपान, मदिरा सेवन, मधुमेह, रक्तचाप, कोलेस्ट्रोल तथा अन्य स्वास्थ्य अवस्थाबारे जानकारी लिन सक्छन् ।

रगतमा कलेजोका इन्जाइम तथा कलेजोको कार्यसम्बन्धी परीक्षण, रगतमा चिनी, एचबीए१सी, कोलेस्ट्रोल तथा ट्राइग्लिसराइडजस्ता परीक्षण गर्न सकिन्छ ।

हेपाटाइटिस बी तथा सीजस्ता अन्य कारण पनि आवश्यकताअनुसार जाँच गरिन्छ । अल्ट्रासाउन्डबाट कलेजोमा बोसो जम्मा भएको देखिन सक्छ ।

तर अल्ट्रासाउन्डमा ‘ग्रेड १’ देखिनु मात्रले कलेजो सुन्निनु वा फाइब्रोसिस छैन भनेर निश्चित गर्न सकिँदैन । आवश्यक परे चिकित्सकले थप परीक्षणबाट कलेजोमा दाग परेको जोखिम मूल्यांकन गर्न सक्छन् ।

ग्रेड १ फ्याटी लिभरको उपचार कसरी गर्ने ?

ग्रेड १ फ्याटी लिभरमा उपचारको सबैभन्दा महत्वपूर्ण आधार तौल घटाउनु अर्थात् वेट लस गर्नु हो । सकेसम्म शरीरको कुल तौलको करिब १० प्रतिशत तौल घटाउनु राम्रो हुन्छ । त्यो सम्भव नभए पनि कम्तीमा ५ प्रतिशत तौल घटाउँदा कलेजोमा जम्मा भएको बोसो घटाउन मद्दत पुग्छ ।

तौल घटाउनु, तर बिस्तारै

तौल बढी भएका व्यक्तिले तौल घटाउँदा कलेजोमा जम्मा भएको बोसो घट्न सक्छ । शरीरको कुल तौलको करिब ३–५ प्रतिशत तौल घटाउँदा पनि कलेजोको बोसो कम हुन सक्छ, जबकि करिब ७–१० प्रतिशत तौल घटाउँदा कलेजोको सूजन र फाइब्रोसिसमा समेत सुधार आउन सक्छ ।

तर छोटो समयमा अत्यधिक तौल घटाउने प्रयास गर्नु उचित हुँदैन । बिस्तारै र चिकित्सकीय सल्लाहअनुसार तौल घटाउनु सुरक्षित हुन्छ ।

खानपान सुधार्नु

‘फ्याटी लिभरको औषधि’ भनेर कुनै एउटा खाना खोज्नुभन्दा समग्र खानपान सुधार गर्नु महत्वपूर्ण हुन्छ ।

थालीमा हरियो सागसब्जी, विभिन्न तरकारी, फलफूल, साबुत अन्न, दाल तथा स्वस्थ बोसोका स्रोत समावेश गर्न सकिन्छ । अत्यधिक चिनी भएका पेय पदार्थ, मिठाई, प्रशोधित खाना तथा धेरै क्यालोरी भएका खानेकुरा कम गर्नु उपयोगी हुन्छ ।

भात वा रोटी पूर्ण रूपमा बन्द गर्नुपर्ने भन्ने होइन । मात्रा, खाना पकाउने तरिका र समग्र आहारको सन्तुलन महत्वपूर्ण हुन्छ ।

लस्सी, सस्सीजस्ता पेय वा खानेकुरा पनि फ्याटी लिभर भएका व्यक्तिले आफ्नो समग्र खानपानअनुसार ध्यान दिएर लिनुपर्छ । विशेषगरी धेरै चिनी मिसाइएको पेय पदार्थको सेवन कम गर्नु उचित हुन्छ ।

नियमित शारीरिक गतिविधि

नियमित हिँडडुल तथा व्यायामले तौल नियन्त्रणमा मात्र होइन, कलेजोको स्वास्थ्यमा पनि फाइदा पुर्‍याउन सक्छ । तौल घट्न नसके पनि शारीरिक गतिविधिले लाभ दिन सक्छ ।

मधुमेह, रक्तचाप र कोलेस्ट्रोल नियन्त्रण

फ्याटी लिभरलाई कलेजोको समस्या भनेर मात्र हेर्नु हुँदैन । यो शरीरको समग्र मेटाबोलिक स्वास्थ्यसँग जोडिएको हुन्छ ।

त्यसैले, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल वा ट्राइग्लिसराइड भए त्यसलाई पनि नियन्त्रणमा राख्नु उपचारकै महत्वपूर्ण हिस्सा हो ।

औषधि कहिले आवश्यक पर्छ ?

ग्रेड १ फ्याटी लिभर देखिँदैमा सबैले औषधि खानुपर्छ भन्ने होइन । यसको मुख्य उपचार जीवनशैली परिवर्तन र तौल घटाउनु नै हो ।

तर फ्याटी लिभरबाट स्टियाटोहिपाटाइटिसको अवस्था विकास भएको अवस्थामा चिकित्सकले बिरामीको अवस्था हेरेर औषधिको आवश्यकता मूल्यांकन गर्न सक्छन् ।

भिटामिन ‘ई’ केही निश्चित बिरामीमा प्रयोग गर्न सकिने औषधिमध्ये एक हो । त्यस्तै, रेसमेटिरोम (Resmetirom) स्टियाटोहिपाटाइटिसमा प्रयोग हुने र अहिले निकै आशाजनक नतिजा देखाएको औषधिका रूपमा चर्चा भइरहेको छ । यो औषधि सबै फ्याटी लिभर भएका व्यक्तिका लागि भने होइन ।

रेसमेटिरोम नेपालमा हाल उपलब्ध नहुन पनि सक्छ । त्यसैले औषधि आफैंले किनेर वा चिकित्सकीय सल्लाहबिना प्रयोग गर्नु हुँदैन । कुन अवस्थामा कुन औषधि आवश्यक हुन्छ भन्ने कुरा कलेजोमा सुन्निनु, फाइब्रोसिस तथा अन्य स्वास्थ्य अवस्थाको मूल्यांकनपछि चिकित्सकले निर्णय गर्छन् ।

आफैं औषधि वा जडीबुटी नखानु

ग्रेड १ फ्याटी लिभर देखिएपछि आफैंले विभिन्न ‘लिभर डिटक्स’, जडीबुटी वा सप्लिमेन्ट प्रयोग गर्नु उचित हुँदैन । केही हर्बल उत्पादनले उल्टै कलेजोलाई क्षति पुर्‍याउन सक्छन् ।

समग्रमा, ग्रेड १ फ्याटी लिभर देखिँदैमा धेरै आत्तिनुपर्ने अवस्था होइन । तर यसलाई शरीरको मेटाबोलिक स्वास्थ्य सुधार्ने संकेतका रूपमा लिनुपर्छ । समयमै तौल घटाउने, खानपान सुधार्ने, नियमित शारीरिक गतिविधि गर्ने तथा मधुमेह, कोलेस्ट्रोल र रक्तचाप नियन्त्रणमा राख्ने हो भने कलेजोमा जम्मा भएको बोसो घटाउन र रोगको प्रगति रोक्न सकिन्छ ।

ग्रेड १ भन्दा ग्रेड २ र ३ मा जोखिम बढी हुन्छ । अझ कलेजोका कोषिकामा इन्जुरी र सुन्निनु सुरु भएर स्टियाटोहिपाटाइटिसको अवस्था देखिन थालेपछि भने थप गम्भीरतापूर्वक मूल्यांकन र उपचार आवश्यक हुन्छ ।

कलेजो फ्याटी लिभर
डा. अजित खनाल
लेखक
डा. अजित खनाल
कन्सल्टेन्ट ग्यास्ट्रोइन्ट्रोलोजिस्ट

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : २५०६ अध्ययन : एमबीबीएस, इन्टरनल मेडिसिन एमडी, ग्यास्ट्रोइन्ट्रोलोजीमा डीएम काठमाडौंस्थित वीर अस्पताल तथा ग्रीन सिटी अस्पताल र ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

कति खतरनाक हो फ्याटी लिभर ‍? नियन्त्रणका ६ तरिका

कति खतरनाक हो फ्याटी लिभर ‍? नियन्त्रणका ६ तरिका

यौन दुर्बलता : औषधिदेखि कृत्रिम उपकरणसम्म, नेपालमै छन् उपचारका विकल्प

यौन दुर्बलता : औषधिदेखि कृत्रिम उपकरणसम्म, नेपालमै छन् उपचारका विकल्प

मेडिकल काउन्सिलको अनुगमन : क्लिनिक बन्द गरी सञ्चालक फरार

मेडिकल काउन्सिलको अनुगमन : क्लिनिक बन्द गरी सञ्चालक फरार

पूर्वाधार विकास मन्त्री लम्सालको पिसाबमा संक्रमण

पूर्वाधार विकास मन्त्री लम्सालको पिसाबमा संक्रमण

नेपालमा ‘वयस्क जेई’ अलर्ट !

नेपालमा ‘वयस्क जेई’ अलर्ट !

जीवित अंगदान के हो ? जानौं अंग दिएपछि शरीरमा हुने परिवर्तन

जीवित अंगदान के हो ? जानौं अंग दिएपछि शरीरमा हुने परिवर्तन