News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतले पुनरावलोकनको आदेश दिएपछि कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाबाट पार्टी विभाजन नहुने अवस्था बनेको छ।
- राष्ट्रिय भेलाले डा. शशांक कोइरालालाई समूहको नेता चयन गरेको छ र १५औं महाधिवेशनसम्मका नियमित काम उनकै संयोजनमा हुने निर्णय गरेको छ।
- पूर्वउपसभापति पूर्णबहादुर खड्का भेलाको अन्तिम दिन अनुपस्थित रहेपछि संस्थापन इतरभित्र उनको भूमिकाबारे संशय पैदा भएको छ।
१ भदौ, काठमाडौं । कांग्रेस भित्रको विवादमा सर्वोच्च अदालतले पुनरावलोकनको आदेश दिएपछि उत्साहित शेरबहादुर देउवा समूहले राष्ट्रिय भेलामार्फत आफ्नो शक्ति प्रदर्शन गर्यो । राष्ट्रिय भेला सुरु हुनु एक दिनअघि स्वदेश फर्किएका पूर्वसभापति देउवाको स्वागतमा पनि कुनै कसर बाँकी राखेन ।
संस्थापन इतरका शीर्ष तहका सबै नेता पूर्वसभापति देउवालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगे । २९ साउनदेखि ३१ गतेसम्म काठमाडौंमा भएको भेला-सम्मेलनमा प्रमुख अतिथि उनै देउवा बने ।
कदाचित्, देउवा स्वदेश फिर्ता नभएको भए भेलाको संयोजक तोकिएका डा. शशांक कोइराला प्रमुख अतिथि हुने थिए । देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका पूर्वउपसभापति पूर्णबहादुर खड्का भेला-सम्मेलनको संयोजकका लागि अनिच्छुक थिए । पार्टी विभाजन हुने अवस्थामा राष्ट्रिय भेलामा समेत नजाने अडान खड्काले लिएका थिए ।
सर्वोच्च अदालतले पुनरावलोकनको आदेश दिएपछि संस्थापन इतरको भेलाबाट पार्टी विभाजित नहुने अवस्था बनेको थियो । पूर्वसभापति देउवा पनि भेलामा उपस्थित हुने र अदालतको आदेशपछि पार्टी विभाजन नहुने भएसँगै खड्का भेलामा सहभागी हुने भएका थिए ।
खड्कालाई भेलामा सहभागी हुन अनुरोध गर्नका लागि डा. शशांक कोइराला नेता एनपी साउदलाई लिएर उनकै निवास गए । एकताका लागि भेला आयोजना गरिएको हो भने र पार्टी नफुट्ने सुनिश्चितता भए भेलामा सहभागी हुने त्यसबेला खड्काले भेट्न जाने दुई नेतालाई बताएका थिए ।
भेलाबाट पार्टी विभाजन नहुने सुनिश्चितता भएसँगै भेलाको उद्घाटनमा खड्का सहभागी भए । अदालतको अर्को आदेशको प्रतीक्षामा रहनुपर्ने कारणले संस्थापन इतरले विभाजनको बाटो रोजेन ।
भेला समापनको दिन (साउन ३१ गते) खड्का उपस्थित भएनन् । पूर्वसभापति देउवाको निर्देशनमा कार्य गर्ने गरी पूर्वमहामन्त्री डा. कोइरालालाई समूहको नेता चयन गरियो । भेलाको निर्णयको पहिलो नम्बरमै भनिएको छ, ‘१५औं महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित क्रियाकलाप सभापतिको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजकले नै संयोजन गर्दै जानु हुनेछ ।’
यो निर्णयसँगै संस्थापन इतरको दोस्रो वरीयता स्वतः कोइरालामा सरेको छ । जबकि, संस्थापन इतरको बैठक आह्वान गर्ने, अदालती प्रक्रियामा जाने एवं राष्ट्रिय भेलाको मिति तय गर्ने लगायतका कार्यका लागि नेतृत्वदायी भूमिकामा पूर्वउपसभापति खड्का थिए ।
संस्थापन इतरका नेता गुरु बराल भने पूर्वउपसभापति खड्काको जिम्मेवारी नखोसिएको दाबी गर्छन् । बरालले अनलाइनखबरसँग भने, ‘पूर्णबहादुर दाइ कार्यवाहक सभापति हुँदै हुनुहुन्छ । महाधिवेशनका लागि हुने कामको जिम्मेवार न शशांक डासाबलाई बनाएका हौं ।’

पूर्वसभापति देउवाका निरन्तरका सारथि खड्का भेलाको अन्तिम दिनमा उपस्थित नहुनु र समूहले गर्ने भावी कार्यको नेतृत्व कोइरालाले गर्ने गरी निर्णय गर्नुले उक्त समूहमा संशय पैदा भएको छ । संस्थापन इतरका एक नेताले समूहबाट गर्ने कार्यमा नेतृत्व गर्ने अधिकार आफूमा नआउने भएकै कारण खड्का अनुपस्थित भएको दाबी गरे ।
‘शेरबहादुर दाइ सक्रिय राजनीतिमा नहुँदा समूहको नेतृत्व पूर्णबहादुर दाइले गर्नु नेचुरल हुने थियो,’ उनी भन्छन्, ‘कार्यवाहक सभापति भएको व्यक्तिले हाम्रो समूहले गर्ने कामको नेतृत्व गर्ने जिम्मेवारी नहुने भएपछि पूर्णबहादुर दाइ आउनु भएन ।’
संस्थापन इतरले चुनदेवीमा सम्पर्क कार्यालय खोल्न शीर्ष नेताहरूमा मूलतः विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महतलगायत लागिपरेका थिए । संस्थापन इतरको छुट्टै कार्यालय बनाउन सक्रिय भएर लाग्ने दोस्रो तहका नेताहरूमा मीन विश्वकर्मा, मोहन बस्नेत, कान्छाराम तामाङलगायत थिए ।
पार्टी विभाजन हुने उद्देश्यले सम्पर्क कार्यालय खोलिएको भए त्यहाँ नजाने पूर्वउपसभापति खड्काको अडान थियो । नेताहरूका अनुसार पार्टी विभाजन गर्ने उद्देश्य नभएको प्रतिबद्धता गरेपछि कार्यालय उद्घाटन गर्न खड्का सहमत भएका थिए । असार २२ गतेदेखि औपचारिक रूपमा कार्यालय सुरु गरिएको थियो ।
सम्पर्क कार्यालय खोल्न पहलकदमी लिएका नेताहरूले नै भेलाको संयोजक डा. कोइरालालाई बनाउन भूमिका खेलका थिए । पूर्वपदाधिकारीहरू निधि, सिटौला, सिंह लगायतका नेताहरू सम्पर्क कार्यालयमा उपस्थित भएर समूहको नेता कोइराला भएको घोषणा गरिएको थियो ।

संस्थापन इतरको मूल नेतामा डा. कोइरालालाई बनाउन सर्वसम्मत भएको नेता विमलेन्द्र निधिले त्यसबेला जानकारी गराएका थिए ।
‘उहाँलाई सर्वसम्मतिबाट हाम्रो संयोजक र लिडर बनाएका छौं । हाम्रो समूहको नेता चुन्यौं,’ निधिले भनेका थिए, ‘विशेष महाधिवेशनमा भाग नलिने समूहको नेता सार्वजनिक गरेका छौं ।’
देउवाका लागि प्रतिकूल समयमा समेत साथ दिँदै आएका खड्काको क्षेत्राधिकार भेलाबाट संस्थापन इतरले झनै खुम्च्याएको छ । देउवाका निरन्तरका विश्वासपात्रको पहिचान बनाएका खड्का विगतमा त्यही समूहबाट कार्यवाहक सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य बनेका थिए ।
भोलि सर्वोच्चले संस्थापन इतरको पक्षमा आदेश दियो भने समूहबाट महाधिवेशनको तयारी गर्ने अधिकार अब खड्कामा हुँदैन । भेलाको म्यान्डेटअनुसार कोइराला उक्त जिम्मेवारीमा हुने छन् ।
संस्थापन इतर नेता रामहरि खतिवडा पूर्वउपसभापति खड्का पार्टी एकताको पक्षमा रहेको र पदको पक्षमा नरहेको दाबी गर्छन् ।
खतिवडाले अनलाइनखबरसँग भने, ‘पूर्णबहादुर दाइले पार्टी विभाजन हुने हो भने सम्पर्क कार्यालय पनि जान्न भन्नुभएको हो । पार्टी विभाजन नहुने भएपछि भेलामा जानुभएको हो । उहाँका लागि एकता महत्वपूर्ण हो । पद होइन ।’
कार्यवाहक सभापतिको भूमिकामा हुँदा पदीय जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह नगरेको भन्दै खड्कामाथि पार्टी भित्रैबाट प्रश्न उठेको थियो । देउवा उपचारका लागि सिंगापुर जाँदा केन्द्रीय समिति बैठकलाई डेढ महिना लम्ब्याएर निरर्थक बनाएको आरोप उनीमाथि लागेको थियो । विभाजन हुन नदिन र सम्पूर्ण एकताको पक्षमा रहँदा पार्टी भित्रबाट अपजस भोग्नुपरेको खड्काले राष्ट्रिय भेलामा बताएका थिए ।
राष्ट्रिय भेलाबाट विशेष महाधिवेशनको विपक्षमा भएकाहरूको नेतृत्व खड्काबाट अब कोइरालामा सरेको छ । विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर कार्यवाहक सभापति रहेको बोला गत २९ असोजमै खड्काले बुझेका थिए ।
विशेष महाधिवेशनलाई अवैध ठहर गर्न माग गर्दै संस्थापनइतर निर्वाचन आयोग र सर्वोच्च अदालत खड्काकै नेतृत्वमा पुगेको थियो । संस्थापन इतरका एक नेताका अनुसार खड्का अब महाधिवेशनमा सभापति पदको प्रतिस्पर्धी हुने गरी त्यसको तयारीमा लाग्ने छन् ।
उनी भन्छन्, ‘पहिले जे भयो, भयो । अब पूर्णबहादुरजी महाधिवेशनमा सभापति लड्ने गरी तयारीमा लाग्नु हुन्छ ।’
प्रतिक्रिया 4