News Summary
Generated by OK AI. Editorially reviewed.- नागपञ्चमीको अवसरमा ललितपुरको नागदह क्षेत्रमा आयोजित ‘हिस रन २०८३’ को तेस्रो संस्करण २९१ धावक–धाविकाको सहभागितामा सम्पन्न भएको छ।
- दर्ता विवरणअनुसार २० देखि २४ वर्ष उमेर समूहका ७६ जना सहभागी सबैभन्दा धेरै थिए भने कुल सहभागीमध्ये २३३ पुरुष र ५८ महिला थिए।
- हिमालयन रनिङ क्लबले हिस रनलाई संस्कृति, सम्पदा, पर्यटन, स्वास्थ्य र सामुदायिक भाइचारा जोड्ने अभियानका रूपमा अघि बढाएको जनाएको छ।
२ भदौ, काठमाडौं । नागपञ्चमीको अवसरमा हिमालयन रनिङ क्लब (एचआरसी) ले आयोजना गरेको ‘हिस रन २०८३’ को तेस्रो संस्करण सम्पन्न भएको छ । ललितपुरको नागदह क्षेत्रलाई केन्द्रमा राखेर आयोजना गरिएको दौडमा कुल २९१ धावक–धाविकाले सहभागिता जनाएका छन् ।
सामान्य दौड प्रतियोगिताभन्दा फरक पहिचान बनाउँदै आएको हिस रनले खेलकुदसँगै संस्कृति, सम्पदा, पर्यटन, स्वास्थ्य र सामुदायिक भाइचारालाई जोड्दै आएको छ ।
नागपञ्चमीको सांस्कृतिक महत्वसँग जोडिएको नागदहलाई दौडको केन्द्र बनाइँदा स्थानीय सम्पदा र पर्यटनको प्रवर्द्धनलाई समेत प्राथमिकता दिइएको आयोजकले जनाएको छ ।
कार्यक्रममा विभिन्न उमेर समूहका धावकको सहभागिता रहेको थियो। उपलब्ध दर्ता विवरणअनुसार २० देखि २४ वर्ष उमेर समूहको सहभागिता सबैभन्दा धेरै थियो। यो समूहका ७६ जना अर्थात् २८ प्रतिशत सहभागी थिए।
त्यसपछि १९ वर्षभन्दा कम उमेरका ५१ जना सहभागी थिए। २५–२९ वर्ष उमेर समूहमा ३५, ३५–३९ मा २६, ४०–४४ र ४५–४९ वर्ष समूहमा समान १९ तथा ५०–५४ वर्ष समूहमा १६ जना सहभागी थिए। ६० वर्ष वा सोभन्दा माथिका १० जना धावकले पनि दौडमा सहभागिता जनाएका थिए।
दर्ता विवरणमा २७१ जना सहभागी थिए । कार्यक्रमकै दिन थप २० जना सहभागी भएपछि कुल धावकको संख्या २९१ पुगेको आयोजकले जनाएको छ।
दर्ता भएका धावकमध्ये २१८ पुरुष र ५३ महिला थिए । कार्यक्रमको दिन थपिएका २० जनामा १५ पुरुष र पाँच महिला थिए। यससँगै पुरुष सहभागीको संख्या २३३ र महिलाको संख्या ५८ पुगेको छ।
कुल सहभागितामा पुरुषको हिस्सा ८०.१ प्रतिशत र महिलाको १९.९ प्रतिशत रहेको छ। आयोजकले महिला, युवा तथा नयाँ धावकको सहभागिता बढ्दै जानुलाई सकारात्मक रूपमा लिएको छ।
हिस रनलाई आयोजकले केवल प्रतिस्पर्धात्मक दौडका रूपमा नभई स्थानीय संस्कृति, धार्मिक परम्परा, सम्पदा र पर्यटनलाई खेलकुदसँग जोड्ने अभियानका रूपमा अघि बढाएको छ।
नागपञ्चमीको अवसरमा नागदह क्षेत्रमा आयोजना गरिएको कार्यक्रमले नागपूजा तथा यससँग जोडिएको सांस्कृतिक परम्परालाई नयाँ पुस्तासँग जोड्ने प्रयास गरेको छ। दौडमा सहभागी धावकले ललितपुरका सांस्कृतिक तथा ऐतिहासिक क्षेत्रसँग समेत परिचित हुने अवसर पाएका छन्।
दौडमार्फत आफ्नै संस्कृति, सम्पदा र स्थानीय पर्यटनलाई चिनाउने वातावरण सिर्जना गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ। साथै विभिन्न उमेर र पृष्ठभूमिका व्यक्तिलाई एउटै कार्यक्रममा सहभागी गराएर सामुदायिक एकता र भाइचाराको भावना बलियो बनाउने लक्ष्यसमेत राखिएको छ।
विभिन्न संस्थाको सहयोग
कार्यक्रम सफल बनाउन ललितपुर महानगरपालिका वडा नम्बर १६ र २४, नागदह संरक्षण सुधार समिति, लेक गार्डेन रेस्ट्रो, एनएएफ सीड्स प्रालि, बी एन्ड डी इन्टरप्राइजेज र पूर्ण मेटल कन्सर्नले सहयोग गरेका थिए।
हिमालयन रनिङ क्लबले सहयोगी संस्था, स्थानीय समुदाय, स्वयंसेवक, धावक तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।
हिमालयन रनिङ क्लबका अध्यक्ष शहदेव ब्यञ्जनकारले हिस रनलाई दौडमार्फत संस्कृति, सम्पदा, पर्यटन र समुदायलाई जोड्ने अभियानका रूपमा अघि बढाइएको बताए।
कार्यक्रम संयोजक मदन महर्जनको संयोजनमा सम्पन्न कार्यक्रममा कीर्तिमानी म्याराथन धावक तथा ओलम्पियन बैकुण्ठ मानन्धरको समेत उपस्थिति थियो।
तेस्रो संस्करणसम्म आइपुग्दा हिस रनले नागपञ्चमीसँग जोडिएको सांस्कृतिक दौडको पहिचान बनाउँदै गएको आयोजकको दाबी छ। आगामी संस्करणमा कार्यक्रमलाई अझ व्यवस्थित र व्यापक बनाउँदै देशका विभिन्न स्थानका साथै विदेशी धावकलाई समेत आकर्षित गर्ने लक्ष्य राखिएको छ।
प्रतिक्रिया 4