News Summary
Generated by OK AI. Editorially reviewed.- क्यानले ११ वैशाखमा राष्ट्रिय पुरुष क्रिकेट टोलीको म्यानेजरसहित ६ पदमा आवेदन खोलेको तीन महिना बित्दा पनि नियुक्ति टुंग्याएको छैन।
- टिम म्यानेजर पद आवश्यक नरहेको भन्दै क्यानका कोषाध्यक्ष पदम खड्काले भ्याकेन्सी खोल्दैमा नियुक्तिको ग्यारेन्टी नहुने बताएका छन्।
- नियुक्ति र भिसा ढिलाइका कारण नेदरल्यान्ड्स र यूएई सिरिजमा नेपाली टोली म्यानेजरविहीन भएको छ।
२ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले ११ वैशाखमा राष्ट्रिय पुरुष क्रिकेट टोलीको म्यानेजरसहित ६ पदमा आवेदन खुला गर्यो । २७ वैशाखसम्मको समय दिएर खुलाएको आवेदन ३ महिना बितिसक्दा पनि टुंग्याउन सकेको छैन ।
क्यानले टिम म्यानेजरसहित महिला क्रिकेट विकास अधिकृत, फ्रन्ट डेस्क अफिसर, इन्वेन्टोरी अफिसर, प्रोक्योरमेन्ट अफिसर र जुनियर अफिसर (फाइनान्स) मागेको थियो । तर, हालसम्म कुनै जवाफ नआउँदा आवेदन दिएकाहरूले पदपूर्ति प्रक्रियाबारे आशंका गरेका छन् ।
आवेदन खुला गरेको जानकारी क्यानले अफिसियल वेवसाइट र फेसबुक पेजबाट दिएको थियो । तर, त्यसपछिका कुनै पनि प्रक्रिया क्यानले सार्वजनिक गरेको छैन । आवेदन दिएका व्यक्तिहरूले नै कुनै जानकारी पाएका छैनन् ।
‘अप्लाई गरेको हो । तर, अहिलेसम्म केही खबर आएको छैन । मैले पनि बुझ्नु छ,’ आवेदन दिएका एक व्यक्तिले भने । आवेदन के भयो भन्नेबारे केन्द्रीय सदस्यहरू नै अनविज्ञ छन् । ‘आवेदन खुलाएको थाहा छ । त्यसपछि के-के भयो केही थाहा छैन,’ एक केन्द्रीय सदस्यले भने ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दकाअनुसार जनरल म्यानेजर (महाप्रबन्धक) उत्सव ढुंगानाको नेतृत्वमा छनोट समिति गठन गरिएको थियो । तर, क्यानका कोषाध्यक्ष पदम खड्का भने आवेदन खुलाइएको पद आवश्यक नरहेको जिकीर गर्छन् ।
राष्ट्रिय पुरुष क्रिकेट टोली म्यानेजरका लागि सुरुमा एउटा योग्यता तय गरेको थियो । तर, कुनै निश्चित व्यक्तिलाई म्यानेजर बनाउने गरी योग्यता निर्धारण गरिएको भन्दै विरोध भएपछि सोही दिन परिमार्जन गरिएको थियो ।
सुरुमा म्यानेजरमा आवेदन दिनका लागि कम्तीमा ३ वर्ष अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गरेको वा कम्तीमा ५ वर्ष उच्चस्तरीय घरेलु क्रिकेट खेलेको हुनुपर्ने मापदण्ड थियो ।
तर, म्यानेजरका लागि उपयुक्त मापदण्ड नभएको भन्दै चर्को विरोध भयो । त्यसपछि क्यानले त्यसलाई हटाएर मापदण्ड परिमार्जन गरेको थियो । अहिले भने टिम म्यानेजर नै आवश्यक नरहेको जिकिर क्यान पदाधिकारी नै गर्छन् ।
क्यानका कोषाध्यक्ष खड्का भने टिम म्यानेजर पदको आवेदन खोले पनि अहिलेलाई आवश्यक नरहेको जिकिर गर्छन् ।
‘म्यानेजरको कुरामा अहिले हुँदैन । म्यानेजर आवश्यक देखिएन । म्यानेजरको पर्फर्मेन्स के हुन्छ, अब कतिवटा म्यानेजर राख्ने । आज नेपाल ‘ए’ टिम अस्ट्रेलिया जाँदै छ । नेपालको सिनियर टिम मलेसिया जाँदै छ । अनि एउटा म्यानेजरले के गर्ने,’ उनी भन्छन्, ‘यसलाई चाहिँ नेपाल क्रिकेट संघको अब आउने एजीएमबाट हामी एप्रुभ लिएर मात्र गर्छौं।’
….
नेपालले केही दिनअघि मात्रै नेदरल्यान्ड्समा आईसीसी विश्वकप लिग–२ अन्तर्गतको एक सिरिज खेल्यो । उक्त सिरिजमा नेपाल जितविहीन भएर फर्कियो ।
क्यानको ढिलासुस्ती र कमजोर व्यवस्थापनका कारण उक्त सिरिजमा नेपाली टोली म्यानेजरविहीन हुन पुग्यो ।
नेदरल्यान्ड्स सिरिजका लागि कर्णाली प्रदेश क्रिकेट संघका सचिव एवम् जिल्ला क्रिकेट संघ सुर्खेतका अध्यक्ष श्रीधर केसीलाई म्यानेजरको जिम्मेवारी दिइएको थियो । तर, नियुक्ति र भिसा प्रक्रिया ढिलाई हुँदा उनी टोलीसँग नेदरल्यान्डस् जान पाएनन् । उक्त सिरिजमा पनि नेपाल म्यानेजरविहीन बन्न पुग्यो ।
त्यसअघि गत वैशाखमा घरेलु मैदानमा भएको लिग–२ अन्तर्गतकै सिरिजमा पनि नेपाली टोली म्यानेजरविहीन हुन पुग्यो ।
त्यतिबेला क्यानका केन्द्रीय सदस्य दिवाकर घलेले विदेश जानकै लागि मात्र म्यानेजर पद सिर्जना गर्ने प्रवृत्ति बढ्दै गएको बताएका थिए । ‘म्यानेजरको महत्त्व हामी अझै पनि राम्ररी बुझ्न सकेका छैनौं । विदेश जानकै लागि मात्र म्यानेजर पद सिर्जना गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ । त्यही पदलाई घरेलु सिरिजमा पनि प्रभावकारी बनाउन सकिन्थ्यो । तर, यसपटक मैले अहिलेसम्म म्यानेजरलाई मैदानमा देख्न सकिनँ,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए ।
त्यसअघि यूएईमा भएको लिग–२ अन्तर्गतको सिरिजमा पनि टिम म्यानेजर नहुँदा टेक्निकल एनालिष्ट रमन सिवाकोटीले उक्त भूमिका निर्वाह गरेका थिए ।
क्यानले राष्ट्रिय टोलीका लागि स्थायी रुपमा एउटै व्यक्तिलाई म्यानेजर नियुक्त नगर्दा नेपाली टोलीले व्यवस्थापकीय समस्या झेल्दै आएको छ ।
विदेशी प्रशिक्षकहरूले पनि टोलीमा प्रतियोगितापिच्छे फरकफरक म्यानेजर नभई एउटै म्यानेजर बनाउन सुझाव दिँदै आएका छन् । सोहीअनुसार क्यानले पनि एउटै म्यानेजर राख्ने उद्देश्यले आवेदन खुला गरेपनि आन्तरिक विवादका कारण उक्त आवेदनलाई नै वेवारिस बनाएको छ ।
एउटै व्यक्ति टिम म्यानेजर नहुँदा क्यानले अहिले संघका जिल्ला तथा प्रदेशका पदाधिकारी तथा सदस्यहरूलाई पठाउँदै आएको छ ।
टप एन्ड टि–२० सिरिज खेल्न अष्ट्रेलिया गएको नेपाल ‘ए’ टिमको म्यानेजरको रुपमा यसअघि भिसाका कारण रोकिएका कर्णाली प्रदेश क्रिकेट संघका सचिव केसी गएका छन् ।
‘क्यान नेतृत्वले आफू अनुकूलका व्यक्तिलाई विदेश पठाएर भोट बैंकको रुपमा म्यानेजर पदलाई प्रयोग गर्दै आएको छ,’ एक क्यान सदस्यले भने, ‘ती कुराहरू रोकिने डरले म्यानेजरको आवदेन अगाडि नबढाएका हुन् ।’
‘भ्याकेन्सी खोल्दैमा हामी लिन्छौँ भन्ने ग्यारेन्टी छैन’
क्यानका कोषाध्यक्ष पदम खड्का आवेदन खोल्दैमा सबै लिन्छौं भन्ने ग्यारेन्टी नभएको बताउँछन् । क्यानलाई अति आवश्यक भएका पदमा मात्र लिने उनको तर्क छ ।
‘यो भ्याकेन्सीको पूरै लिन्छौँ भन्ने छैन । केही हामीलाई अति आवश्यक भएका मात्र लिन्छौँ । जम्बो टिम बनाएर नेपाल क्रिकेट संघलाई भार हुने हिसाबले भ्याकेन्सी खोल्दैमा हामी लिन्छौँ भन्ने ग्यारेन्टी छैन,’ उनी भन्छन्।

अफिस सरेपछि मात्रै आवश्यकतअनुसार पदपूर्ति गर्ने कोषाध्यक्ष खड्काको भनाइ छ । ‘आवश्यक कर्मचारीको भ्याकेन्सी खोलेको हो । हाम्रो मूलपानीमा पर्याप्त अफिस छैन । हामीले अब बाहिर अफिस लिएपछि मात्र कर्मचारी थप्ने, कर्मचारी मात्र थपेर हुँदैन, आर्थिक बोझ हुन्छ नेपाल क्रिकेट संघलाई । अफिस नयाँ ठाउँमा सरेपछि आवश्यकताअनुसार राख्दै जान्छौं,’ उनी भन्छन् ।
प्रतिक्रिया 4