+

नेपालमा पहिलोपटक पीएसए स्याटेलाइट स्क्वास हुने

२०८३ भदौ  २ गते २१:१० २०८३ भदौ २ गते २१:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्क्वास एण्ड र्‍याकेट संघले पहिलो पटक पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता आयोजना गर्ने भएको छ ।
  • प्रतियोगितामा नेपालसहित ६ देशका १६ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन्, जसमा नेपालबाट ६ खेलाडी सहभागी हुनेछन् ।
  • कुल पुरस्कार राशि १ हजार अमेरिकी डलर रहेको छ ।

२ भदौ,काठमाडौं । नेपाल स्क्वास एण्ड र्‍याकेट संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता हुने भएको छ ।

नेपालमा पहिलोपटक हुने लागेको र्‍याङ्किङ प्रतियोगिता ४ दिनसम्म ललितपुरको सातदोबाटोमा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष धुव्रबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, मलेसिया र बेलायतबाट १६ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट अरहान्तकेशर सिम्ह, दीपक थापा, पासाङ ब्लोन, सरोज तामाङ, राकेश परियार र नयनबहादुर मगरले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको ‘ड्र’ साइज ८, १६ र ३२ खेलाडीको हुने प्रावधान रहे पनि पहिलो संस्करणमा १६ खेलाडीलाई मात्र सहभागी गराउन लागिएको संघका उपाध्यक्ष एवम् प्रतियोगिताका निर्देशक रुपक दास ताम्राकारले बताए ।

मोनार्ड ‘ड्र’ प्रणालीअनुसार प्रतियोगितामा कुल ३५ खेल सञ्चालन हुनेछन् ।

संघले यस प्रतियोगितालाई नेपालमा स्क्वास खेलको स्तर उकास्ने र नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक अनुभव दिलाउने महत्वपूर्ण अवसरका रूपमा लिएको छ । अन्तर्राष्ट्रिय खेलाडीको सहभागिताले नेपाली खेलाडीलाई आफ्नो स्तर परीक्षण गर्ने अवसरसमेत प्राप्त हुने संघको अपेक्षा छ ।

प्रतियोगिताको कुल पुरस्कार राशि १ हजार अमेरिकी डलर रहेको छ । विजेताले ४००, उपविजेताले २०० तथा सेमिफाइनलमा पुग्ने दुई खेलाडीले जनही १०० अमेरिकी डलर प्राप्त गर्ने प्रतियोगिताका निर्देशक रुपकदास ताम्राकारले बताए । त्यस्तै क्वार्टरफाइनलमा पुग्ने खेलाडीलाई जनही ५० अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ ।

सन् २०२८ मा अमेरिकाको क्यालिफोर्नियामा आयोजना हुने एलए ओलम्पिकमा स्क्वास समावेश हुने भएपछि यस खेलको अन्तर्राष्ट्रिय महत्व थप बढेको र यही पृष्ठभूमिमा नेपालमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगिताको सम्पूर्ण खर्च संघ आफैंले व्यहोर्ने जनाएको छ । प्रतियोगितालाई थप व्यवस्थित रूपमा सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद्बाट आर्थिक सहयोगको अपेक्षा गरिएको संघले जनाएको छ ।

नेपालमा अहिले स्क्वास खेलको गतिविधि मुख्यतः ललितपुर र पोखरामा सीमित रहेको संघको भनाइ छ । खेलको पहुँच देशभर विस्तार गर्न प्रदेशस्तरमा स्क्वास कोर्ट निर्माण गर्ने योजना समेत संघले अघि सारेको अध्यक्ष गुरुङले बताए ।

स्क्वासको पूर्वाधार विस्तारसँगै युवालाई यस खेलतर्फ आकर्षित गर्ने र अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्य संघले लिएको छ ।

नेपाल स्क्वास एण्ड र्‍याकेट संघ पीएसए नेपाल स्याटेलाइट स्क्वास
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय