+
+
Shares
सिनेमा :

खुलेर उड्न नसकेको ‘गौंथली’

सिनेमाले बालविवाहको पीडा, शिक्षाको महत्त्व, लैंगिक विभेद, घरेलु हिंसा, परम्परागत सोच, अटिजमसम्बन्धी चेतना, महिला सशक्तिकरण जस्ता विषय प्रस्तुत गरेको छ ।

सापेक्ष सापेक्ष
२०८३ भदौ ३ गते १७:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गौंथली बक्स अफिसमा उत्साहजनक प्रदर्शन गर्दै पूर्ण बहादुर सारङ्गीको कीर्तिमान तोड्ने दिशामा अघि बढिरहेको छ ।
  • गौंथलीले बालविवाह, शिक्षाको महत्त्व, लैंगिक विभेद, घरेलु हिंसा र महिला सशक्तिकरणका विषय उठाए पनि कथा र प्राविधिक पक्ष कमजोर रहेको छ ।

बक्स अफिसमा उत्साहजनक प्रदर्शन गरिरहेको गौंथली यसबेला पूर्ण बहादुर सारङ्गीको कीर्तिमान तोड्ने दिशामा छ । भलै यसको निर्क्यौल समयले गर्छ ।

बक्स अफिसमा राम्रो गरिरहेको यो सिनेमा खासमा कस्तो छ त ? यसले के भन्न खोजेको छ ? निर्देशक डा. कपिल रिजालले के देखाउन खोजेका छन् ? त्यसमा उनी कति सफल भए ? प्राविधिक रूपमा यो सिनेमा कति बलियो छ ? यिनै प्रश्नको उत्तर यो लेखमा खोतल्ने प्रयास गरिनेछ ।

मदनकृष्ण श्रेष्ठले न्यारेट गरेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको उडी छुनु चन्द्र एक कविताबाट सिनेमा सुरु हुन्छ । उनी स्कुलमा नेपाली विषय पढाउने मदन सरको भूमिकामा छन् । उनले विद्यार्थीहरूलाई सो कविता कक्षाकोठामाा सुनाइरहेका हुन्छन् ।

उनी अवकास पाउन लागेका शिक्षक हुन् । आजसम्म उनले पढाइरहेको विद्यालयमा कोही छोरी मान्छेले एसएलसी उत्तीर्ण गरेका हुँदैनन् । यो कुरा विद्यार्थीहरूलाई सुनाइरहँदा कक्षा ८ की विद्यार्थी गौंथली भण्डारी बडो उत्साहित हुन्छिन् । र, आफूले एलएससी उत्तीर्ण गरेर सरको इच्छा पूरा गर्ने अठोट लिन्छिन् ।

त्यही बीचमा गौंथलीको विवाहको कुरा अघि बढ्छ । गौंथलीले विवाह नगर्ने, पढ्ने भनेर बुबासँग अनुरोध गर्छिन् । तर, उनको त्यो अनुरोधको सुनुवाइ हुँदैन । त्यसपछि इच्छा विपरीत गौंथलीको विवाह हुन्छ । के गौंथलीले एसएलसी उत्तीर्ण गर्छिन् ? त्यसपछि उनको जीवनले कस्तो मोड लिन्छ ? के-के भोग्नुपर्छ ? यी प्रश्नहरूको उत्तर नै सिनेमाको बाँकी कथा हो ।

यो सिनेमाले ५०–६० को दशक बीचको समयलाई देखाउने प्रयास गरेको छ । बालविवाहको पीडा, शिक्षाको महत्त्व, लैंगिक विभेद, घरेलु हिंसा, परम्परागत सोच, अटिजम सम्बन्धी चेतना, महिला सशक्तिकरण जस्ता विषय सिनेमाले प्रस्तुत गरेको छ । तर, कथानक र प्राविधिक रूपमा कमजोर हुँदा यी विषय एकअर्कामाथि खप्टिन पुगेका छन् । कुनै पनि विषय प्रमुख भएर सिनेमामा उठ्दैन ।

यद्यपि, सिनेमाले हामीलाई हामी कुन समयबाट गुज्रिएर आएका थियौं भनेर देखाउन सफल छ । महिलाहरू कसरी आफ्नै घरभित्रबाट आफ्नो रुचि मारेर बन्धनमा रहनुपर्छ भनेर यसले देखाएको छ । त्यसमा सासु बुहारीको पात्र, गाउँले पात्रहरू, श्रीमान श्रीमतीको भूमिका रहेका समस्त पात्रहरूमार्फत निर्देशकले यो कुराहरू देखाएका छन् ।

पुरानो समाजमा एउटी बुहारीले भोग्नुपर्ने कथाव्यथा देखाउन निर्देशक डा. रिजाल देखाएका छन् । तर, कास्टिङ फितलो हुँदा मुल कथामै विश्वास गर्न हम्मे–हम्मे पर्छ ।

सिनेमाको कमजोर पक्ष भनेको यसको कथामा कुनै नयाँपन नहुनु हो । पढ्न मन हुँदाहुँदै कम उमेरमै विहे गर्नुपर्ने बाध्यता र विहे गरेर गएपछि घरमा सासूले गर्ने दुर्व्यवहारको प्रसंग धेरै सिनेमा तथा सिरियलहरूमा देखिएकै कुरा हो ।

सिनेमामा उल्लेख गरिएको समय र देखाउन खोजेको सामाजिक परिवेशबीच त्यति मेल देखिँदैन । स्कुल भर्ना गर्दा गौंथलीले आफ्नो जन्म मिति २०४२ साल भनेको छिन् । सिनेमाको प्रसंग हेर्दा उनको उमेर १५ वर्ष आसपास हो । त्यो अनुसार यो ५६-५७ सालतिरको कथा हो । त्यो भनेको धेरै पुरानो समय होइन । तर कथा भने ५०-६० वर्ष पुरानो लाग्छ । हाम्रा हजुरआमा पुस्ताले सुनाउने अनुभवसँग मेल खान्छ । सासुले गर्ने क्रुर, व्यवहार, त्यहाँको समाजिक अवस्था, गौंथलीको घर र माइतीका मान्छेको मनस्थिति सबै हेर्दा त्यो अनुभूति हुन्छ।

कथा अनुसार पात्रहरूका उमेरको अन्तरलाई मिलाउन पनि निर्देशक डा. रिजाल चुकेका छन् । उदाहरणका लागि– मदन सर, गौंथलीकी सासु र ससुरा आदि । यो सिनेमाले समाजको वास्तविकता देखाउने अर्थात् सिनेमाको विधा सोसल ड्रामा/सोसल रियालिजम भएकाले यो कुरामा निर्देशकलाई छुट दिन मिल्दैन ।

भलै उनले गाउँले परिवेशलाई टिप्न सकेका छन् । विगतको महसुस गराउन कलर ग्रेडिङमा काम गरेका छन् । तर, न उनी पात्रहरूको मनोविज्ञानमा पुरै डुबेका छन् न समग्र गाउँको वास्तविकता देखाउन सकेका छन् । त्यसमाथि यो पहाडी गाउँको कथा हो । रवीन्द्र झाले निभाएको पात्र बिल्कुलै सुहाउँदैन । झा सहित अन्य कोही पनि गाउँले पात्रहरूलाई सशक्त बनाएर सिनेमामा उभ्याउन निर्देशक डा. रिजाल असफल छन् ।

सिनेमामा हामीले गौंथली र उसको श्रीमान ठूलेको डायनमिक सम्बन्ध देख्छौं ।

उनीहरूको सम्बन्ध नै दर्शक अडाइराख्ने एउटा माध्यम बनेको छ । ठूले शारीरिक रूपमा दुर्बलता रहेको अटिजम भएको युवक हो । ठूलेको पात्र निर्माणमा निर्देशक डा. रिजालको मेहेनेत त देखिन्छ तर त्यो वास्तविता भन्दा बनावटी बढी लाग्छ । ठूलेको हाउभाउमा मिस्टर बिनको प्रभाव प्रष्टै देखिन्छ ।

गौंथली गाउँ छाडेर शहरको जुन कुनामा पुगेकी छिन् त्यहीँ मदन सर भेटिनु, उनले स्कुलै नगई होटलमा भाँडा माझ्दै पढेर पनि एसएलसीमा नेपाल टप गर्नु, अनि घरबाट भागेको ठूले पनि ठ्याक्कै त्यही ठाउँमा पुग्नु जस्ता संयोगले यो समाजिक यथार्थ भन्दा सिनेमा नै हो है भन्ने अनुभूति दर्शकलाई गराउँछ।

सिनेमाको सबैभन्दा कमजोर पाटो ब्याकग्राउन्ड साउन्ड हो । अनावश्यक हर्ट बिट राख्नु, संवादभन्दा गीतको साउन्ड अनावश्यक ठूलो हुनु, एम्बियन्ट साउन्डहरू अप्राकृतिक सुनिनु आदि यसका उदारहण हुन्।

यो सिनेमाको अधिकांश दृश्यहरू दिनको उज्यालोमा खिचिएका छन् । रातका दृश्यहरू पनि राखिएका छन् । रातका दृश्यहरूको तुलनामा दिनको दृश्य कमजोर छ । भनौं, सिनेम्याटिक रूपमा कमजोर छ यो सिनेमा । अझ अनावश्यक ठाउँमा समेत क्लोजअप सटहरू बढी राखिँदा पात्रको मनस्थितिमा रहिरहन गाह्रो पर्छ ।

त्यस्तै केही ठाउँमा अनावश्यक क्यामेरा सटहरू राखिएका छन् भने कतिठाउँमा भिजुअल पनि खास छैन । उदाहरणका लागि, ठूलेले विगत सम्झँदाको फ्ल्यास ब्याकको भिजुअल कुनै सिकारू विद्यार्थीको काम जस्तो मात्रै लाग्छ । यद्यपि कतिपय ठाउँमा सिनेम्याटोग्राफी उत्कृष्ट पनि छ । उदाहरणका लागि, ठूलेले गुलेली हान्दाको दृश्य । तर, यो अनुपात अत्यन्तै कम छ ।

सिनेमाको सबैभन्दा राम्रो पाटो यसले नेपाली समाजको एउटा ठूलो समस्यालाई टिप्नु हो । जुन घर झगडा हो । सासु बुहारीको मतभिन्नता हो । श्रीमान–श्रीमतीको झगडा र ‍यसबीचको माया हो । गाउँलेहरूको दोहोरो चरित्र हो । सम्भवत: दर्शकहरूलाई यस्तै कुराले आकर्षित गरेको हो । सिनेमाको सफलताको कारण पनि यही हो ।

समग्रमा नेपाली समाजका धेरै महिलाले भोगेका कुरालाई ठूलो पर्दामार्फत उतार्न प्रयास गर्नु सकारात्मक हो । तर, सिनेमा टेलिसिरियलभन्दा केही बढी हो भन्ने सोचेर काम गरिएको भए यो एउटा उत्कृष्ट सिनेमा बन्न सक्थ्यो।

अन्तमा, यदि कसैले गौंथली हेर्न छुटाएको छ भने ग्लानीबोध गरिरहन पर्दैन, दशकौंदेखि धेरै सिनेमा, टेलिसिरियलहरूमा देख्दै आएको भन्दा अतिरिक्त कुरा यहाँ पाइँदैन ।

भनौ न, व्यापारको हिसाबमा गौंथली मज्जाले उडिरहेको छ तर समग्रमा सिनेमाको नजरबाट यो खुलेर उड्न सकेको छैन ।

फोटो : गौंथली । ओएसआर डिजिटल ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?