+
+
Shares

स्वर्ण जयन्ती मनाउँदै निकासी पैठारी संघ, व्यापार समस्याबारे भन्सार विभागसँग छलफल

संघले स्थापनाको ५० वर्ष पूरा गरेको अवसर पारेर २०८३ लाई स्वर्ण जयन्ती वर्ष घोषणा गरी विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १८:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल समुद्रपार निकासी पैठारी संघले स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्तीको लोगो अनावरण गरेको छ ।
  • संघले २०८३ लाई स्वर्ण जयन्ती वर्ष घोषणा गरी विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।
  • अन्तर्क्रियामा व्यवसायीले आयात–निर्यातका चुनौती र सुधार सुझाव राखेपछि विभागका अधिकारीले चासो सम्बोधन गर्ने बताए ।

३ भदौ, काठमाडौं । आयात निर्यातकर्ता व्यवसायीको संगठन नेपाल समुद्रपार निकासी पैठारी संघले स्वर्ण जयन्तीको लोगो अनावरण गरेको छ ।

संघले स्थापनाको ५० वर्ष पूरा गरेको अवसर पारेर २०८३ लाई स्वर्ण जयन्ती वर्ष घोषणा गरी विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।

स्वर्ण जयन्ती वर्षमा गरिने कार्यक्रमको एक हिस्साका रूपमा बुधबार आयोजित अन्तर्क्रियामा संघले उक्त लोगो अनावरण गरेको हो । भन्सार विभागका निर्देशक ज्ञानेन्द्र ढकाल, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशकद्वय तारानाथ लुइँटेल र अनिल किराँती, शाखा अधिकृत दीपकप्रसाद अधिकारी, संघका पूर्वअध्यक्षहरू लोकमान्य गोल्छा, अशोकुमार अग्रवाल, सुनिल वंशल र विनोद सेठिया तथा वर्तमान अध्यक्ष शिवकुमार अग्रवालले संयुक्त रूपमा लोगो अनावरण गरे ।

संघका सदस्य र भन्सार तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीहरुबीचको अन्तरक्रियामा आयात–निर्यात व्यापारका नीतिगत र प्रक्रियागत विषयसँग सम्बन्धित आयात–निर्यातकर्ता व्यवसायीको चासोका विषयमा छलफल भएको थियो । कार्यक्रममा सहभागी संघका सदस्यहरूले व्यवसायका क्रममा सामना गर्नुपरेका चुनौती तथा अप्ठ्यारामा सम्बन्धित विभागका अधिकारीको ध्यानाकर्षण गराउँदै व्यापार सहजीकरणका लागि गर्नुपर्ने सुधारबारे सुझाव प्रस्तुत गरेका थिए ।

दुवै विभागका अधिकारीले व्यवसायीका जिज्ञासाको जवाफ दिँदै आफूहरूको जिम्मेवारी व्यापार सहजीकरण र सम्बन्धित कानुन कार्यान्वयन भएको स्मरण गराउँदै व्यवसायीले उठाएका वास्तविक चासो सम्बोधन गरिने बताए ।

सरोकारवालाबीचको खुला छलफलले नीति निर्माण र कार्यान्वयन तहलाई व्यवसायीका कठिनाइसँग परिचित गराउने हुँदा यसले नीतिगत सुधारमा समेत योगदान गर्ने भन्दै उनीहरूले आगामी दिनमा पनि यस किसिमका छलफल कार्यक्रम नियमित आयोजना गर्न संघलाई सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?