+
+
Shares
एस्प्रेसो :

बालेनको समयमा पठन संस्कृति

रास्वपा बैठकमा रविले भनेको हुनाले यो एस्प्रेसो उक्त पार्टीप्रति बढ्ता केन्द्रित भयो होला । यथार्थमा कांग्रेस, एमाले, नेकपा, राप्रपा सबैको हालत लगभग उही छ । रिल्सहरूले हाम्रो जीवन लुटिदिएका छन् । हामी कस्तो हुने होइन, कस्तो देखिने भन्ने प्रतिस्पर्धामा छौं ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०८३ भदौ ३ गते २१:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सभापति रवि लामिछानेले मन्त्री र सांसदलाई राम्रोसँग पढेर मात्रै सदनमा आउन निर्देशन दिएका छन्।
  • लेखकले सांसदहरूले दिनको कम्तीमा दुईदेखि तीन घण्टा पढ्नुपर्ने र मोबाइल तथा ग्याजेटबाट टाढा रहनुपर्ने सुझाव दिएका छन्।
  • लेखमा टिकटक, रिल्स र डिजिटल डिटक्सको सन्दर्भ जोड्दै पढ्ने बानी घट्दा ज्ञान र क्षमता प्रभावित हुने तर्क गरिएको छ।

रास्वपाकी एक सांसदले अघिल्लो साता कुराकानीका क्रममा सुनाएकी थिइन्– मोबाइल नखेलाई त सुत्नै सक्दिनँ ।

उनले यति भन्दासम्म मैले अहिलेको नयाँ पुस्ता यस्तै हो भन्ठानेथें । तर आज रास्वपा सभापति रवि लामिछानेले आफ्ना मन्त्री र सांसदलाई राम्रोसँग पढेर मात्रै सदनमा आउन दिएको निर्देशनले मलाई यो एस्प्रेसो बनाउन प्रेरित गर्‍यो ।
रवि आफैं हिजोआज कतिन्जेल पढ्छन्, सोध्न पाएको छैन । पोहोर मंसिरको पहिलो साता नक्खु जेलमा उनीसँग लामो छलफल हुँदा भने उनी धमाधम साहित्य, राजनीति र दर्शनसम्बन्धी किताब पढिरहेको बताउँथे ।

अहिले त खुला जीवन छ, सत्ताराजनीतिको धपेडीले सुत्न-बस्न दिएको छैन । रविलाई अहिलेको जीवन कस्तो लागिरहेको छ त, कुनै बेला सोधौंला ।

मैले प्रधानमन्त्री बालेनका मुख्य सल्लाहकार कुमार बेनलाई केही साताअघि उनकै घरमा सोधेको थिएँ, ‘हाम्रा प्रधानमन्त्रीको ज्ञान, सूचना लिने र त्यसलाई प्रोसेस गर्ने तरिका के हो ? मतलब, बालेन कत्तिको पढ्छन् त ?’

कुमार बेनले दिएको जवाफ अहिले पनि कानैमा गुन्जिरहन्छ । उनले भनेका थिए, ‘बालेन यति सक्षम छन् कि तिनलाई पढ्नै पर्दैन ।’

कुमार बेनले गलत भन्न खोजेका पनि होइनन् । उनले भनेअनुसार बालेन कुनै पनि कुरा सुनेर त्यसलाई आफ्नो थट प्रोसेसमा यसरी राखिदिन्छन् कि त्यसका लागि कुनै किताबको सहारा जरुरी छैन ।
रविसँग या कुमारसँग धेरै तर्कवितर्क गर्नका लागि यो प्रसंग राखेको होइन । किनभने, आफ्ना सांसदहरूको पर्फमेन्स देखेर रवि स्वयं हैरान भएको यस्सै बुझ्न सकिन्छ । यस्तो हुनुका पछाडि पढ्ने बानी घट्नु या हट्नु पनि कारक हो भन्ने रविको बुझाइ रहेछ ।

उता, कुमार बेन पनि के ठान्छन् भने पढ्दैमा, धेरै पढ्दैमा या पढेको पढ्यै गर्दैमा ज्ञान आइहाल्छ भन्ने पनि होइन । एकजना साथी भन्थे– पढ्दैमा ज्ञानी भइहालिने भए प्रुफरिडरहरू सबैभन्दा ठूला विद्वान कहलिने थिए ।

तर, यो एआईको जमानामा प्रुफरिडरको पनि जागिरै उठ्ला जस्तो छ । सिर्जनात्मक चिन्तन नहुनेहरूलाई अबका दिनहरू निकै कठिन हुने छन् ।

रविले चुनावअघि दिएको नारा थियो- जान्नेलाई छान्ने । तर आफ्ना सांसदहरूमा जान्ने क्षमता सोचेभन्दा कम छ भन्ने उनी स्वयंको बुझाइले सायद छिट्टै रास्वपा सांसद, अरू नेताहरूलाई पुस्तकालयमा, पुस्तक पसलमा, वाचनालयमा पुर्‍याउने छ । भृकुटीमण्डपलगायत पुस्तकालयहरूको व्यथा, अनि सरकारले नै चलाएको दमनचक्र र उपेक्षाबारे त विमल आचार्यलगायत अध्येताहरूले भर्खरै छरपस्ट पारिसके ।

खासमा कुमार बेनले भनेझैं कुनै पनि व्यक्ति स्वयं सक्षम हुँदैमा सबथोक जानेको हुन्छ, अनि कुनै समयमा लिएको जानकारी सधैंलाई टिकिरहन्छ भन्ने होइन ।

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले हरेक वर्ष पढ्ने फिक्सन र नन्‌फिक्सनहरूको सूची फेसबुक, ट्विटर, इन्स्टामा राखेको हामीलाई थाहै हुनुपर्छ । ओबामा पनि कम सक्षम राष्ट्रपति त नहोलान् । उनी एउटा दृष्टान्त मात्रै हुन् ।

पुस्तक, त्यसमाथि पनि राम्रा र उम्दा पुस्तकको चर्चा गर्नेहरू संसारमा धेरै छन् ।

अस्ति भर्खरै बितेर गएका आदरणीय देवेन्द्रराज पाण्डेले जतिसुकै ज्ञानी सत्तासञ्चालकलाई पनि वशिष्ठ जस्ता गुरु खाँचो पर्ने भनी लेखेको ट्विट धेरैलाई याद होला ।

म यो पनि भन्दिनँ कि, मैले मात्र पढेको छु । म यो पनि भन्दिनँ कि धेरै पुस्तक चपाएपछि मात्रै ज्ञानी भइन्छ । जीवनका अनुभव र अनुभूतिहरू स्वयं ज्ञानका झिल्काहरू हुन् । अरूबाट सुनेका शिक्षा पनि काम नै लाग्छन् ।

तर, जो सांसद छन्, जसका हातमा यो देशको नीतिनियम र कानुन कस्तो बनाउने भनी निर्णय गर्ने अख्तियारी छ, तिनले कति समय पुस्तकमा दिनुपर्ला, रिपोर्टहरू पढ्नमा, विधेयकहरू पढ्नमा तिनले कति समय बिताउनुपर्ला ?

मेरो विचारमा तिनले कम्तीमा दिनको तीन घण्टा पढ्नुपर्छ । ल, केही नलागे पनि दिनको दुई घण्टा त जसरी पनि पढ्नुपर्छ । त्यतिन्जेल आफ्नो मोबाइल, ग्याजेट, टिभी वा कुनै पनि खालको डिस्ट्र्याक्सनबाट कुनै पनि बहाना निकालेर टाढा जानैपर्छ । टिकटकमा उठेको, बसेको, हिँडेको, खाएको, लाएको मात्रै सेयर गरेर जनताको जिम्मेवारी पूरा हुँदैन । राज्यप्रति न्याय हुँदैन ।

केही महिनाअघि अमेरिका गएका बेला मैले न्युयोर्क र कोलोराडोका केही ठाउँमा ध्यानमग्न भएर पार्कमा पढ्ने पाठकहरु देखेथे‌ं । मोबाइल चलाउने एक जना थिए । उनी पनि सोसल मिडिया होइन कुनै शोध गरिरहेका थिए ।

रास्वपा बैठकमा रविले भनेको हुनाले यो एस्प्रेसो उक्त पार्टीप्रति बढ्ता केन्द्रित भयो होला । यथार्थमा कांग्रेस, एमाले, नेकपा, राप्रपा सबैको हालत लगभग उही छ । रिल्सहरूले हाम्रो जीवन लुटिदिएका छन् । डिजिटल डिटक्स भन्ने शब्द यसै कारण चर्चामा छ । हामी कस्तो हुने होइन, कस्तो देखिने भन्ने प्रतिस्पर्धामा छौं ।

भर्खरै बितेर गएका महान कवि दुर्गालालले एउटा कालजयी पंक्ति लेखेका छन्– झुल्किन्छ है छाया वस्तु अन्सार । काँडाको आँखामा काँडै संसार ।

यदि कविजीले भनेझैं हुन्थ्यो भने हाम्रो भिडियो अर्थात् हाम्रो छाया त्यस्तै देखिन्छ जस्तो हामी अर्थात् हाम्रो क्षमता छ ।

यो केवल आशिका तामाङ वा खगेन्द्र सुनारलाई भन्ने कुरा पनि रहेन अब । यो रास्वपाको मात्रै विषय होइन । जसरी केवल पुस्तक मात्रै पढेको भरमा ज्ञान पाइन्न, त्यसरी नै पुस्तक चाहिँ पढ्दै नपढी केही पनि जानिँदैन ।

जान्दै नजान्ने हो भने, अर्थात् अस्ति कुनै बेला कलेजमा डिग्री लिनुअघि पढेका पेपर र लिएका क्रेडिटकै भरमा विद्वता छाँट्दै हिँड्ने हो भने हामी सांसद, मन्त्री, प्राध्यापक, पत्रकार, व्यवसायी, कृषक जो भए पनि नालायक ठहरिने छौं ।

क्षमता निरन्तर तिखार्ने हो भने पढ्नैपर्छ । यो एस्प्रेसो शट हेरिसकेपछि आफैंलाई इमानदार भएर सोधौं– म दिनमा कति घण्टा वा कति मिनेट पढ्दै छु ? कि मैले अचेल त्यो काम गर्न छाडिसकें ?

लेखक
बसन्त बस्नेत

बसन्त बस्नेत अनलाइनखबरका प्रधान सम्पादक हुन् । उनका 'महाभारा' र 'सिमसारा' उपन्यास तथा '७२ को विस्मय : संविधान मधेस र नाकाबन्दी' सामयिक इतिहास गरी तीन किताब प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?