४ भदौ, सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ मा बुधबार सञ्चालित आँखा शिविरमा २५१ जनाको आँखा परीक्षण गरिएको छ। परीक्षणका क्रममा ९५ जनामा मोतियाबिन्दुको समस्या फेला परेको छ।
धर्मी हल्फा महिला विकास क्लब सप्तरीको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो।
शिविरको उद्घाटन प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले गरेका थिए। उद्घाटन कार्यक्रममा प्रजिअ थापाले सामाजिक क्षेत्रमा धर्मी हल्फा महिला विकास क्लबले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै यस्ता स्वास्थ्य शिविरले ग्रामीण तथा विपन्न समुदायका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने बताए।
सगरमाथा चौधरी आँखा अस्पताल लहानका सात जना नेत्र चिकित्सकको टोलीले आँखा परीक्षण गरेको क्लबका अध्यक्ष तथा समाजसेवी इन्जिनियर सूर्यनारायण यादवले जानकारी दिए।
उनका अनुसार शिविरमा परीक्षण गरिएका २५१ जनामध्ये ९५ जनामा मोतियाबिन्दु फेला परेको हो। शिविरमा मोतियाबिन्दुलगायत आँखासम्बन्धी समस्या देखिएका बिरामीको सगरमाथा चौधरी आँखा अस्पताल लहानमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको अध्यक्ष यादवले जानकारी दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थापा, सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रूपक खड्का, सशस्त्र प्रहरी बल नेपाल नं. ६ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक नवीन सिंह राई, छिन्नमस्ता गाउँपालिका–३ का वडाध्यक्ष विजयकुमार यादव, वडा नं. १ का वडाध्यक्ष ललनप्रसाद यादवलगायतको उपस्थिति रहेको थियो।
यादवले स्वर्गीय आमा बुवाको सम्झनामा धर्मी हल्फा महिला विकास क्लब मार्फत आफ्नो निजी खर्चमा जिल्ला भरी समाजिक गतिविधिमा निरन्तर सक्रिय रहदै आएको छ।
प्रतिक्रिया 4