News Summary
Generated by OK AI. Editorially reviewed.- एनडीटीभी वर्ल्डले ११ भदौमा काठमाडौंबाट ‘एनडीटीभी अन्वीक्षा : सीमापार विचार’ संवाद शृङ्खला सुरु गर्ने भएको छ ।
- कार्यक्रममा रवि लामिछाने, गगन थापा, स्वर्णिम वाग्ले, शिशिर खनाल, शशि थरुर र नवीन श्रीवास्तवसहित विभिन्न क्षेत्रका व्यक्तित्व सहभागी हुनेछन् ।
- संवादमा नेपालको राजनीति, अर्थतन्त्र, भारतसँगको सम्बन्ध, क्षेत्रीय राजनीति, व्यापार, प्रविधि, पर्यटन, पूर्वाधार, वातावरण र युवाका अपेक्षाबारे छलफल हुनेछ ।
४ भदौ, काठमाडौं । भारतीय टेलिभिजन च्यानल एनडीटीभी वर्ल्डले आगामी २७ अगस्ट अर्थात् ११ भदौमा भारत र नेपालका विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तित्वलाई एउटै मञ्चमा राखेर विश्वव्यापी संवाद शृङ्खला सुरु गर्दैछ ।
‘एनडीटीभी अन्वीक्षा : सीमापार विचार’ नामको संवाद शृङ्खला नेपालको राजधानी काठमाडौंबाट सुरु हुनेछ । याक एन्ड यतिमा बिहान ९ बजेदेखि हुने कार्यक्रममा सत्तारुढ रास्वपा सभापति रवि लामिछानेदेखि प्रमुख प्रतिपक्षी कांग्रेस सभापति गगन थापासम्मका नेताहरू सहभागी हुनेछन् ।
कार्यक्रमको प्रचार सामग्रीमा रवि र गगनसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति सुम्निमा उदास, अभिनेता राजेश हमाल, अभिनेत्री मनिषा कोइराला लगायत संवादमा सहभागी हुने उल्लेख छ ।
एनडीटीभी अनलाइनको एक समाचारमा लेखिए अनुसार व्यापार तथा उद्योग क्षेत्रबाट नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, कन्फेडेरेसन अफ नेप्लिज इन्डस्ट्रिजका अध्यक्ष वीरेन्द्रराज पाण्डे तथा नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका उपाध्यक्ष एवं सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक गौरव तयाल पनि सहभागी हुनेछन् ।
खेल क्षेत्रबाट नेपालका पूर्वक्रिकेटर तथा क्यानका महासचिव पारस खड्काले नेपाली खेल क्षेत्रको दृष्टिकोण प्रस्तुत गर्नेछन् ।
यसैगरी भारतका तर्फबाट इन्डिया फाउन्डेसनका अध्यक्ष डा. राम माधव, भाजपाका राष्ट्रिय कार्यकारिणी सदस्य डा. विनय सहस्रबुद्धे, भाजपाको विदेश मामिला विभागका प्रमुख डा. विजय चौथाइवाले, पूर्वकेन्द्रीय मन्त्री तथा कांग्रेस नेता डा. शशि थरुर, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव लगायत संवादमा सहभागी हुने बताइएको छ ।
कुन–कुन विषयमा हुनेछ छलफल ?
सो कार्यक्रममा नेपालको बदलिँदो राजनीति, अर्थतन्त्र र समाजका साथै भारतसँगको सम्बन्ध तथा क्षेत्रीय राजनीतिमा नेपालको भूमिकाबारे छलफल हुने छ ।
छलफलमा नेपालको आर्थिक विकासका योजना, व्यवसाय सञ्चालनका अवसर, लोकतान्त्रिक व्यवस्थामा आएका परिवर्तन तथा युवाका अपेक्षाबारे पनि चर्चा हुनेछ ।
त्यसैगरी प्रविधि, पर्यटन, पूर्वाधार, वातावरण, व्यापार र क्षेत्रीय सहकार्यजस्ता विषय पनि छलफलमा समेटिनेछन् ।
नेपालले बदलिँदो विश्वमा आफूलाई कसरी अघि बढाउन खोजिरहेको छ र उसका प्राथमिकता तथा चुनौती के–के छन् भन्ने विषयमा समेत संवाद केन्द्रित हुनेछ ।
‘अन्वीक्षा नामको यो विशेष कार्यक्रम भारत–नेपाल सम्बन्धमा हुने परम्परागत छलफलमा मात्र सीमित रहने छैन । नेपालको आफ्नै आवाज, सोच, सपना र भविष्यका योजनालाई केन्द्रमा राखेर नेपाललाई बुझ्ने प्रयास गरिनेछ,’ एनडीटीभीले समाचारमा लेखेको छ ।
‘अन्वीक्षा’को अर्थ के हो ? सुरुवात नेपालबाटै किन ?
एनडीटीभीका अनुसार ‘अन्वीक्षा’ नाम प्राचीन भारतीय परम्पराको ‘आन्वीक्षिकी’ शब्दबाट लिइएको हो । यसको अर्थ तर्क, सोचविचार र परीक्षणका माध्यमबाट कुनै विषयलाई बुझ्नु हो ।
‘यस पहलको उद्देश्य परिचित विषय र कथालाई पनि नयाँ दृष्टिकोणबाट हेर्नु हो,’ समाचारमा लेखिएको छ, ‘प्रत्येक कार्यक्रममा कुनै देशको इतिहास, पहिचान, त्यहाँका नागरिकको वास्तविक जीवन र उनीहरूका महत्वाकांक्षालाई बुझ्ने प्रयास गरिनेछ ।’
साथै ती विषयलाई विश्व राजनीतिका तथा अर्थतन्त्रका ठूला प्रश्नसँग जोडेर हेरिने एनडीटीभीले जनाएको छ ।
यस पहलका विषयमा एनडीटीभीका प्रमुख कार्यकारी अधिकृत तथा प्रधान सम्पादक राहुल कंवलले देशहरूबीच राम्रो संवाद त्यतिबेला सुरु हुनसक्ने बताएका छन्, जब मानिसहरूले आफ्ना पूर्वधारणाभन्दा माथि उठेर कुनै देशले आफूलाई कसरी हेर्छ भन्ने कुरा सुन्न तयार हुन्छन् ।
उनका अनुसार यो यात्राको सुरुवातका लागि नेपाल स्वाभाविक र महत्त्वपूर्ण गन्तव्य हो ।
त्यस्तै, एनडीटीभी वर्ल्डका सम्पादक नवीन कपुरले यो पहलले भारतलाई विश्वसँग जोड्ने प्रयासलाई थप अघि बढाउने बताएका छन् । ‘अन्वीक्षा’मार्फत विभिन्न देशलाई उनीहरूको आफ्नै दृष्टिकोण, प्राथमिकता र अपेक्षाका आधारमा बुझ्ने प्रयास गरिने उनको भनाइ छ ।
अन्य देशमा पनि हुनेछ यस्तो कार्यक्रम
काठमाडौंमा हुने भारत–नेपाल संवाद ‘अन्वीक्षा’को ठूलो योजनाको पहिलो कदम हुनेछ । यो शृङ्खला विश्वका विभिन्न देश र महादेशसम्म पुग्ने बताइएको छ ।
त्यस क्रममा विभिन्न देशको पहिचान, उनीहरूका महत्वाकांक्षा र भविष्यलाई प्रभावित गर्ने विषयमा संवाद गरिनेछ ।
‘त्यसैले काठमाडौंमा हुने कार्यक्रम भारत–नेपाल सम्बन्धमा मात्र सीमित रहने छैन,’ एनडीटीभीले भनेको छ, ‘कार्यक्रममा क्षेत्रीय तथा विश्व राजनीतिमा नेपालको स्थान, बदलिँदो विश्वमा नेपालको भूमिका र नेपाली समाजका आगामी सपना तथा महत्त्वाकांक्षाबारे पनि महत्त्वपूर्ण प्रश्न उठाइनेछ ।’
प्रतिक्रिया 4