News Summary
Generated by OK AI. Editorially reviewed.- २०औं एसियन गेम्समा नेपालका कराते खेलाडीले कुमुते र कातामा प्रतिस्पर्धा गर्नेछन्, र कातामा पहिलो पटक महिला टिमले पनि सहभागिता जनाउनेछ।
- कातामा सानुमाया थिङ, एलिसा रास्कोटी मगर र मेघा लिम्बु खेल्नेछन्, र प्रशिक्षक मन्देकाजी श्रेष्ठले पदकको अपेक्षा गरेका छन्।
- नेपाली कराते टोली सेप्टेम्बर पहिलो साता जापान गई करिब दुई हप्ता वैदेशिक प्रशिक्षण र अन्तिम तयारी गर्नेछ।
२०औं एसियन गेम्समा सबैभन्दा धेरै पदकको अपेक्षा गरिएको खेल हो कराते । १९औं एसियन गेम्समा करातेकै एरिका गुरुङले ऐतिहासिक रजत पदक जितेपछि पछिल्लो तीन वर्ष नेपाली करातेले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सफलता हात पारिसकेको छ ।
आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा हुने २०औं एसियन गेम्समा नेपालबाट कराते खेलमा कुमुते र काता दुवै विधामा खेलाडी सहभागी हुनेछन् ।
करातेमा कुमुते (फाइट) र काता गरी दुई विधा हुन्छ । कुमुतेमा ३ पुरुष र २ महिला गरी कूल ५ खेलाडी छन् भने कातामा ३ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
कुमुते जस्तै नेपालले यसपटक कराते कातामा पनि पदक ल्याउने लक्ष्यका साथ तयारी गरिरहेको छ ।
कातामा तीनै खेलाडी महिला विधामा छन् । सानुमाया थिङ, एलिसा रास्कोटी मगर र मेघा लिम्बुले प्रतिस्पर्धा गर्नेछन् ।
तीन मध्ये सानुमायाले महिला काता एकलमा प्रतिस्पर्धा गर्नेछन् । सानुमायासँगै एलिसा र मेघा मिलेर महिला टिम कातामा चुनौती पेश गर्नेछन् ।

नेपालले पहिलो पटक एसियन गेम्समा महिला कातामा पनि प्रतिस्पर्धा गर्न लागेको हो ।
एलिसाले सन् २०२३ मा चीनको हान्झाउमा भएको १९औं एसियन गेम्समा पनि एकल कातामा प्रतिस्पर्धा गरेकी थिइन् । उनको लागि एसियन गेम्समा यो दोस्रो सहभागिता हो भने सानुमाया र मेघा पहिलो पटक एसियन गेम्समा खेल्दैछन् ।
यद्यपी सानुमाया थिङ र मेघा लिम्बुसँग पनि करातेको विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेलेको अनुभव छ ।
सानुमायाले एरिका गुरुङसँगै इजिप्टको कायरोमा भएको डब्लुकेएफ वर्ल्ड कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेकी थिइन् । यस्तै तीनै खेलाडीसँग एसियन च्याम्पियनसिप र साउथ एसियन च्याम्पियनसिप समेत खेलेको अनुभव छ । उनीहरूले विभिन्न अन्तर्राष्ट्रिय पदक समेत जितेका छन् ।
२०औं एसियन गेम्सका लागि सुरुमा महिला एकल कातामा सानुमाया थिङले मात्र प्रतिस्पर्धा गर्ने पक्का भएपनि केही समयअघि मात्रै महिला टिम कातामा पनि नेपालले सहभागिता जनाउने निश्चित भएको हो । जसले गर्दा अहिले काता खेलाडीले टिम कातामा विशेष ध्यान दिइरहेका छन् ।
काताको तयारी
काताको खेलाडीहरू अहिले दैनिक दुई पटक दशरथ रंगशालाको हलमा प्रशिक्षण गरिरहेका छन् । उनीहरूलाई १३औं सागमा काताबाटै दोहोरो स्वर्ण जितेका मन्देकाजी श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् । श्रेष्ठ आफैं पूर्व खेलाडी पनि भएकोले उनको खेलाडी र प्रशिक्षण अनुभवले अहिले खेलाडीहरूलाई त्यसले धेरै सहयोग पनि मिलेको छ ।
काता टिम प्रशिक्षक मन्दे काजीले व्यक्तिगत काताको लागि पहिले देखि तयारी भएको र टिम कातामा भने एक महिना अघि मात्रै सहभागि हुने पक्का भएको बताए । ‘२०औं एसियन गेम्सको हामी अन्तिम चरणको तयारीमा पुगिसकेका छौं । यस पटक यही पटक महिला कातामा व्यक्तिगतसँगै टिम काता पहिलो पनि सहभागी हुँदेछौं,’ श्रेष्ठले भने ‘म आफैं पनि उत्साहित छु र नतिजाको पर्खाइमा छु । खेलाडीहरूको मिहिनेत धैर्यता, लगनले गर्दा राम्रो नतिजा आउने आशा छ ।’
‘व्यक्तिगत काताको तयारी २०२३ पछि नै सुरु भएको थियो । हामीले व्यक्तिगतसँगै महिला टिम कातालाई पनि छनोट गर्यौँ । दुई हप्ताको तयारीले नै दशौँ साउथ एसियन कराते च्याम्पियनसिपमा हामीले स्वर्ण पदक जितेका थियौँ । हामीसँग कातामा बेस्ट खेलाडीहरू छन् र उनीहरूसँग पदक ल्याउन सक्ने क्षमता छ । रिङमा राम्रो नतिजा ल्याउनका लागि तयारी गरिरहेका छौँ ।’
व्यक्तिगत र टिम काता दुवैमा प्रतिस्पर्धा गर्न लागेकी सानुमाया थिङले टिमकाताको सबै जनाको सहकार्य राम्रो हुनुपर्ने र त्यही अनुसार तयारी गरिरहेको बताइन् । ‘व्यक्तिगतमा बेस्ट प्लेअर छनोट हुन्छ । टिम कातामा ३ जना एउटै रिदममा बग्नुपर्छ । एउटै लयमा हुनुपर्छ । टिम कातामा एकरुपता ल्याउन सक्नुपर्छ,’ उनी भन्छिन्, ‘जति धेरै राम्रो कोअर्डिनेसन भयो त्यति धेरै राम्रो हुने हो । टिम कातामा धेरै महिनेत गर्नुपर्छ । एसियन गेम्स खेल्नु सानो कुरा होइन । हामी बेस्ट दिन्छौँ ।’

यस्तै १९औं एसियन गेम्समा व्यक्तिगत कातामा खेलेकी एलिसा अहिले टिम कातामा खेल्न उत्साहित छिन् । ‘व्यक्तिगत खेल्दा आफ्नो मात्र शतप्रतिशत दिँदा हुन्थ्यो टिम कातामा एकअर्कालाई साथ दिनुपर्छ । केही नर्भस छु तर हामी राम्रो प्रदर्शन गर्छौ ।’
दुई च्याम्पियन खेलाडीहरूसँग खेल्न अर्की सदस्य मेघा लिम्बु उत्साहित छिन् । ‘अपेक्षा एकदम उच्च छ । च्याम्पियन साथीहरूसँग खेल्न उत्सहित छु र धेरै कुरा सिकिरहेको छु ।’
मिसन २०२६ मा रहँदा पनि नेपाली कराते खेलाडीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेलेकोले त्यसले पनि राम्रो तयारी भएको सानुमाया थिङले बताइन् । ‘हामीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेल्यौं राष्ट्रिय गेमहरू पनि भयो । क्लोज क्याम्पमा आउनुअघि मैले साथ एसियन च्याम्पियनसिप खेले । क्याम्पमै हुँदा वर्ल्ड च्याम्पियनसिपमा पनि खेलेँ त्यो ठूलो अनुभव पनि भयो ।’
१३औं सागमा कातामै दोहोरो स्वर्ण जितेका मन्देकाजी श्रेष्ठसँग ट्रेनिङ गर्दा धेरै कुराहरू सिकेको खेलाडीहरू बताउँछन् । ‘ट्रेनिङ पनि राम्रो भइरहेको । मन्दे गुरुङले राम्रो ट्रेनिङ गराइरहनुभाछ । अहिले सबै कुरा राम्रो भइरहेको छ ।’ थिङले भनिन् । ‘खेलाडीलाई चाहिने कुराहरू खेलाडीलाई कसरी राम्रो बनाउने भन्ने कुरा मन्दे गुरुङसँग छ । उहाँसँग ट्रेनिङ गर्नु प्लस प्वाइन्ट पनि हो ।’
एलिसा रास्कोटी भन्छिन्, ‘मन्दे गुरुङसँग ट्रेनिङ गर्दा खुशी लाग्छ र हाम्रो लागि धेरै महिनेत पनि गर्नुभाछ ।’
‘मन्दे गुरुङसँग व्यक्तिगत र टिम काता दुवैको ज्ञान छ । त्यसले हामीलाई फाइदा पनि छ धेरै कुरा सिकिराछौँ । हामीले टिममा चाहिने सहकार्य पावर स्पिड टाइमिङ सिकिरहेका छौँ ।’ मेघा लिम्बुले भनिन् ।

पदकको लक्ष्य
कुमुतेमा जस्तै कातामा पनि नेपालले पदक ल्याउने लक्ष्यका साथ तयारी गरिरहेको छ ।
प्रशिक्षक मन्देकाजीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताको एक्सपोजर भएकोले यस पटक काताबाट पनि पदकको अपेक्षा रहेको बताए । ‘एलिसाले १९औं मा व्यक्तिगत खेलेको र अहिले टिमकातामा खेल्दैछ । सानुमायाले वर्ल्ड च्याम्पियनसिपमा खेलेको थियो । त्यहाँको एक्सपोजरले पनि फाइदा पुगेको छ । एक्सपोजरले गर्दा खेलाडीहरूमा पनि कन्फिडेन्ट छ र हामी उच्च नतिजा अपेक्षा गरेका छौँ र पदकको अपेक्षा गरेका छौँ ।’
एसियन गेम्समा खेल्दा चुनौती हुने भएपनि यस पटक कराते खेलाडीहरू पदककै लागि खेल्ने प्रशिक्षक श्रेष्ठले बताए । ‘टिममा राम्रो खेलाडी हुँदा अपेक्षा स्वभाविक हुन्छ । चुनौती पनि हुन्छ । सबै खेल पदक ल्याउँछु भनेर नै लागेको छ । १९औं संस्करणमा रजत जितेकी एरिकाबाट स्वर्ण पदकको आशा गरेका छौँ । अन्य खेलाडीबाट पनि पदकको अपेक्षा राखेका छौँ । सबैको लक्ष्य उच्च छ ।’
यस्तै दुई विधामा खेल्ने सानुमाथाले दुवै विधामा आफ्नो बेस्ट दिने बताइन् । ‘यो एउटा मात्र होइन अरु गेम पनि छ । यो अन्तिम होइन । हरेक स्टेज पार गर्दै जानुपर्छ । करातेलाई सबैले आशा गरेको गेम भनेको छ । मिहिनेत गरिरहेका छौँ । हामी तीन जनाले सक्ने बेस्ट दिन्छौँ । मेरो व्यक्तिगत इभेन्ट पनि छ । म आफ्नो बेस्ट दिन्छु रिजल्ट आफ्नो ठाउँमा छ ।
यस्तै मेघाले शारीरिक र मानसिक रुपमा गुरुले मोटिभेसन दिइरहनुभएको र त्यसले पनि रामरो गर्न प्रेरित गर्ने बताइन् । एलिसाले पनि सकेसम्म पदक ल्याउने प्रयास गर्ने बताइन् । ‘पदक ल्याउने कोसिस नै हो । हामी तीन जनाले आफ्नो बेस्ट दिएर गोल्ड ने जित्ने कोसिस गर्छौं ।’

जापानमै वैदेशिक प्रशिक्षण
२०औं एसियन गेम्सका लागि नेपाली कराते टोलीले जापानमै वैदेशिक प्रशिक्षण र अन्तिम तयारी गर्ने भएको छ । कुमुते र काता दुवै खेलाडीहरू सेप्टेम्बर पहिलो साता नै जापान जाने प्रशिक्षक मन्देकाजी श्रेष्ठले जानकारी दिए ।
नेपाल कराते महासंघ र राखेपको छलफलपछि नेपाली कराते टोली छिटै अघि जाने निर्णय सोमबार भएको श्रेष्ठले बताए । ‘नेपाल कराते महासंघ अध्यक्ष युवराज लामा र राखेपबीचको छलफलपछि हामी केही दिनअघि जापान प्रस्थान गर्नेछौँ र जापानमा प्रशिक्षण गर्नेछौँ,’ उनले भने, त्यसले हामीलाई सहयोग पुग्छ । त्यहाँको हावापानी मौसमको अध्ययन गर्न पाउँछौँ ।’
कुमुते टोली इजिप्ट जाने तयारी गरेपनि प्राविधिक कारणले गर्दा नजाने भएको थियो । अब नेपाली कराते खेलाडीले करिब दुई हप्ता जापानमै गएर तयारी गर्नेछ । सेप्टेम्बर १९ मा उद्घाटनको भोलीपल्टै कराते खेलाडीको प्रतिस्पर्धा सुरु हुनेछ ।
१९औं एसियन गेम्समा अन्तिममा रहेको करातेको खेलहरू यसपटक भने सुरुमै हुन लागेको हो । जापानकै योकोहोमामा सेप्टेम्बर २५ देखि २७ सम्म वर्ल्ड शितोरियो च्याम्पियनसिप समेत हुने भएकोले एसियन गेम्समा सुरुमै खेल हुन लागेको हो र नेपाली खेलाडीले पनि एसियन गेम्सपछि वर्ल्ड च्याम्पियनसिप खेल्नेछन् ।
तस्वीरहरू : विकास श्रेष्ठ

प्रतिक्रिया 4