+
+
Shares

हायर पर्चेजको नयाँ व्यवस्था सकारात्मक, लगानी बढ्छ : एसोसिएसन

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते १३:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीका लागि जारी गरेको नयाँ व्यवस्थालाई एसोसिएसन अफ हायर पर्चेज कम्पनीज अफ नेपालले स्वागत गरेको छ।
  • नयाँ व्यवस्थाले ग्राहकबाट १ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने र स्प्रेडसम्बन्धी समस्या सम्बोधन गरेको एसोसिएसनले जनाएको छ।
  • एसोसिएसनका अध्यक्ष विष्णुकुमार अग्रवालले नयाँ व्यवस्थाले बैंकबाट सहजै कर्जा नपाउने उपभोक्तालाई वित्तीय पहुँचमा ल्याउन मद्दत गर्ने बताउनुभयो।

५ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीका लागि जारी गरेको नयाँ व्यवस्थाको एसोसिएसन अफ हायर पर्चेज कम्पनीज अफ नेपालले स्वागत गरेको छ।

नयाँ व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको पहुँचबाहिर रहेका उपभोक्ता र व्यवसायीलाई वित्तीय सेवामा जोड्न सहज हुने एसोसिएसनको ठम्याइ छ।

नयाँ व्यवस्थाले हायर पर्चेज कम्पनीलाई ग्राहकबाट १ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने व्यवस्था गर्नुका साथै स्प्रेडसम्बन्धी समस्या सम्बोधन गरेको एसोसिएसनले जनाएको छ।

त्यस्तै, कम्पनीको दीर्घकालीन नवीकरण अवधि १० वर्ष कायम गरिनुले संस्थागत स्थायित्व र लगानीको वातावरणमा सकारात्मक प्रभाव पार्ने बताइएको छ।

नेपालमा राष्ट्र बैंकको अनुमति लिएर १० वटा हायर पर्चेज कम्पनी सञ्चालनमा छन्। ती कम्पनीले मोबाइल, होम अप्लायन्स, विद्युतीय उपकरणदेखि मोटरसाइकल, सवारीसाधन तथा हेभी इक्विपमेन्ट खरिदका लागि कर्जा उपलब्ध गराउँदै आएका छन्।

एसोसिएसनका अध्यक्ष विष्णुकुमार अग्रवालले हायर पर्चेज कम्पनीको मुख्य उद्देश्य बैंकबाट सहजै कर्जा पाउन नसक्ने उपभोक्तालाई वित्तीय पहुँचमा ल्याउनु रहेको बताए। नयाँ व्यवस्थाले दूरदराजका क्षेत्रमा समेत सेवा विस्तार गर्न सहयोग पुग्ने उनको भनाइ छ।

एसोसिएसनले कर्जा असुली तथा लिलामीसम्बन्धी केही व्यावहारिक समस्या भने अझै समाधान हुन बाँकी रहेको जनाएको छ। समग्रमा नयाँ व्यवस्थाले हायर पर्चेज क्षेत्रलाई थप व्यवस्थित, दिगो र सेवामुखी बनाउँदै वित्तीय पहुँच, उद्यमशीलता र रोजगारी विस्तारमा योगदान पुर्‍याउने एसोसिएसनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?