News Summary
Generated by OK AI. Editorially reviewed.- मदन पुरस्कार विजेता लेखक विवेक ओझाले अनलाइनखबरसँग कुराकानी गरे ।
- उनल नेपाली समाजको गरिबी, शिक्षा, बेरोजगारी, उद्यमशीलता र स्वास्थ्य दयनीय अवस्थामा रहेको बताए।
अछाममा जन्मिएका विवेक ओझा मदन पुरस्कार विजेता लेखक हुन् । उनको उपन्यास ऐंठनले २०७९ को मदन पुरस्कार जितेको थियो । उनको एक पाइला आकाशमा गजल संग्रह, ऐलानी उपन्यास र हालै मात्र मौन कोलाहल कथासंग्रह बजारमा आएको छ । यसपटक उनैसँग अनलाइनखबरले दिलै खोलेर कुराकानी गरेको छ ।
१.हिजोआज
पछिल्लो समय के कुराले वा कुन समाचारले खुसी हुनुभयो ?
ओहो ! साँच्चै सम्झिन खोज्दा पनि त्यस्तो उपल्लै हिसाबको खुसीको समाचार याद आएन ।
दिक्क बनाएको कुरा ?
हाम्रो समाजको गरूत्व दुःखको इकाइ बोकेर बसेको छ जस्तो लाग्छ । जब म चारैतिरको अस्तव्यस्त समाज देख्छु, स्वाभाविक रूपमा दुःखी हुन्छु । मलाई मानिसले नचाँहिदो किसिमले दुःख पाएको र अप्राकृतिक रूपमा मृत्युवरण गरेका खबरले निकै दु:खी बनाउँछ । त्यस्ता कुराले दैनिकजसो म प्रभावित भैरहेको हुन्छु ।
अचेल सबभन्दा रोचक लागेको विषय वा व्यक्ति ?
जहाँसम्म विषयको कुरा छ, आख्यानका विषय मलाई रोचक लाग्छन् । त्यस्ता विषय जो मेरो कल्पनाका लागि नयाँ होउन् र जसले मस्तिस्क बटारून् । अझ सदाबहार रोचक लाग्ने विषय त गणित, विज्ञान र मिथकसँग जोडिएका कुरा हुन् । तर व्यक्तिका हकमा कहिल्यै मेरो त्यसरी खयाल आएन ।
नेपाली समाजको सबैभन्दा राम्रो र नराम्रो पक्ष के लाग्छ ?
कुनै पनि समाजको आकार र प्रकार त्यहाँको चेतनाले निर्धारण गरेको हुन्छ । समाजको नराम्रो पक्ष भन्नुभन्दा पनि समाजका कमी कमजोरी भनौँ न, त्यो समाजको मलजलमा नै हुर्किएका हुन्छन् ।
हाम्रो जस्तो गरिब समाजमा मानिसहरू तरल हुनु, चाँडो आश गर्नु र भर पर्नु केही कमजोरीका उदाहरण हुन् । अझ कताकता हाम्रो आईक्यूबारे पनि त बहस भै’रहन्छ नि, पुछारतिर छौँ रे हामी आईक्यूमा, हो जस्तै लाग्छ । उसो त म समाजशास्त्रको ठोस विवेचना गर्न सक्तिनँ तर आपसी एकता र एक ढिक्का भई जमेर बसेको समुदाय नै हाम्रो बल हो जस्तो लाग्छ ।
पत्रपत्रिका र अनलाइन कत्तिको हेर्नुहुन्छ ? पत्रकारिता तपाईंलाई कस्तो लाग्छ ?
मैले केही विश्वास गरेका पत्रपत्रिका र अनलाइनहरू छन्, जो म बारम्बार खोलिरहन्छु । जहाँसम्म पत्रकारिताको कुरा छ, त्यो आफैंमा निकै संवेदनशील कुरा हो । यसै यसलाई राज्यको चौथो अंग भनिएको हैन । मैले आफूले पत्रकारिता गर्न सकेको छैन तर गम्भीर पत्रकारिताप्रति मेरो सदा सम्मान छ । र, यो राज्यका लागि अभिन्न अँग नै हो जस्तो ठान्छु । अब प्रायोजित र अतिरन्जनालाई त पत्रकारिता मान्दिनँ म ।
इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?
हरेकको विगत उतारचढावले भरिएको हुन्छ । कयौँ जीवनको बाटो बदल्ने दुर्घटनाहरू घटेका हुन्छन् । यद्यपि, म कुनै पनि कुरा सुधार गर्ने पक्षमा छैन किनकी त्यस्ता दुर्लभ दुर्घटनाले नै मानिसका साथसाथै समाज चिन्ने अवसर दिने हो । थप, आफैंभित्रको क्षमता र कमजोरी चिन्ने अवसर दिने हो । आजको ‘म’ बन्न एकएक पुराना उतारचढाबको हात छ । र, भोलिको ‘म’ बन्न वर्तमान र भविष्यमा आउने उतारचढाबको हात हुने छ ।

२.बाल्यकाल र किशोरावस्था
सानोमा सबैभन्दा बढी कुन खेल खेल्नुहुन्थ्यो ?
म दुई खेल निकै रूचाउँछु । चेस र फुटबल । ती दुइ खेलहरू मैले सानोमा खुबै खेलेँ । औसत रूपमा राम्रै खेल्थेँ जस्तो लाग्छ ।
साथीहरूले तपाईंको निकनेमहरू केके राखिदिएका थिए ?
त्यस्तो सम्झना छैन ।
तपाईंको कोहीसँग झगडा परेको थियो?
मनमुटाव र वादविवाद त धेरैसँग भयो होला । तर, मैले जीवनकालमा कसैको एक झापड खाएको छैन न त कसैलाई एक झापड हानेको छु । सानैदेखि मलाई समाजले निकै डिसेन्ट बच्चा भने । मलाई लाग्छ समाजले राखेको ममाथिको विश्वास बिथोलेको छैन।
तपाईंको सेलिब्रेटी क्रस कोही थियो?
भन्नलाई नै भन्नुपर्ने हो भने त केही सेलिब्रेटिहरू राम्रा लागे होलान् तर त्यसरी क्रसकै हिसाबमा कहिल्यै सोचिएन ।
३.सिनेमा
पहिलोचोटी फिल्म हेर्दाको सम्झना कस्तो छ ?
पहिलो पटक फिल्म हेर्दा म सात वर्षको थिएँ । मेरो भाइ चार वर्षको थियो । आमा, बुबा र भाइसहित टीकापुरको राज सिनेमा घरमा गएको थिएँ । … त्यो कुन फिल्म थियो सम्झना छैन तर पनि फिल्म अनौठो र चाखलाग्दो लागिरहेको थियो । फिल्मभित्रको बन्दुक देखेर भाइ रून थाल्यो । अन्ततः हामी सबै हलबाट केही मिनेटमै निस्कियौं । मेरा लागि यो निकै अविस्मरणिय क्षण बन्यो।
कस्ता फिल्म हेर्न मन पर्छ ?
मलाई हरेक विधाका फिल्म मनपर्छन् तर मूल सर्त भनेको मेरो मन जित्नुपर्यो ।
साह्रै मन परेका फिल्म ?
थुप्रै छन्; क्युरियस केस अफ बेन्जामिन बटम्, इन्सेप्सन, शशाङ्क रिडेम्सन्, टाइटानिक आदिआदि ।
चर्चा सुनेका तर हेर्दा खासै नलागेका कुनै फिल्म छन् ?
निकै धेरै छन् । तर, त्यस्ता फिल्महरूको नाम लिन जरूरी छैन ।
हेर्ने फिल्म कसरी छान्नुहुन्छ ?
त्यस्तो हार्ड एण्ड फास्ट रूल छैन । फिल्मको रिभ्यु, साथीभाइको सल्लाह र कहिलेकसो त्यसको रेटिङ फिल्म छान्ने आधार हुन् ।
नेपालमा कस्ता फिल्म धेरै बनुन् जस्तो लाग्छ ?
नेपालको बजारदेखि सम्भावना हेर्दा, नेपाली समाज झल्किने खालका सुन्दर कथामाथि फिल्म बन्दा बढी उपयुक्त हुन्छ कि जस्तो लाग्छ । सतही नभई अलि गहिरोगरि फिल्म बनुन् भन्ने बुझाइ हो मेरो ।
४.पुस्तक
पुस्तकहरू कतिको पढ्नुहुन्छ? पढ्का कस्तो खालका पढ्नुहुन्छ?
म समात्न चै निकै धेरै पुस्तक समात्छु तर निकै कम पुस्तक अन्तिमसम्म पढ्छु । मतलब, जुन पुस्तकले मेरो रूचि र उत्सुकता जगाउँदैन त्यस्तो पुस्तक म पढ्न छोडिदिन्छु । मलाई संख्याभन्दा पनि गुणत्व पठनप्रति बढी विश्वास छ ।
मन परेका कुनै पुस्तक ?
थुप्र छन् । अनुराधा, शिरिषको फूल, घामका पाइलाहरू, पागल बस्ती, लू, सेतो धरती, ज्याक्सन हाइट, फोसिल, हंस, फिरफिरे आदि थुप्रैथुप्रै छन्, भन्दै गयो भने त लिस्ट निकै लामो पो होला !
तपाईंका प्रिय लेखकहरू ?
जुन किताब मन पर्छन्, तिनका लेखकहरू स्वभाविक रूपमा प्रिय भै’हाल्छन् नै । दुई दर्जन जति लेखकको नाम नाम लिँदा त्यति सान्दर्भिक नहोला कि!
एक दिन बिताउन पाए कुन जीवित वा मृत लेखक वा कुनै पात्रसँग बिताउनुहुन्थ्यो ?
जुन हिसाबले तपाईंले सोध्नुभएको छ, त्यस हिसाबले लेखकसँग समय बिताउने मसँग ख्वाइस छैन । तर पात्र भनेपछि म हुरूक्क हुन्छु । त्यस्ता दर्जनौ पात्रहरू छन्, जोसँग म केही समय भए पनि भेट्न चाहन्छु । अझ कथाका कुनै स्थानहरू छन्, जहाँ म कुनै पात्रजसरी विचरण गर्न चाहान्छु । म लेखकलाई पढ्नमा नै रूची राख्छु ।
नेपालमा के कस्तो विषयमा धेरै पुस्तक लेखिनुपर्छ ?
विश्लेषकहरूले त नेपालमा लेखिन थुप्रै विषय खाली नै छन् भन्ने गरेको सुन्छु, त्यसमा मलाई त्यति चाँसो छैन । म आफू भने आफूले चाहेकै विषयमा लेख्छु र लेखिरहन पाइयोस् भन्ने हो ।

५.घुमफिर र सोख
घुमफिर गर्न कत्तिको रूचाउनुहुन्छ ?
रूचाउँछु । राम्रै रूचाउँछु ।
सबभन्दा धेरै गएको र जान मन भएको ठाउँ ?
मलाई नयाँ नयाँ ठाउँ घुम्न पाइओस भन्ने इच्छा हो तर धेरै कुराले त्यो सम्भव हुँदो रहेनछ ।
सबभन्दा मन परेको ठाउँ वा यात्रा ?
ऐंठन लेख्नु अघि दाङदेखि दार्चुलासम्म खुबै घुमेँ । पैदल, बाइक, बस, जिपदेखि ट्रकमा घुमेको सो यात्रा निकै यायावरी किसिमको थियो । त्यो यात्रा नै आजसम्मको अविस्मरणिय र अर्थपूर्ण यात्रा रह्यो ।
गीत कत्तिको सन्नुहुन्छ ? सबभन्दा मन परेका गायक ?
म गीत नै सुनौं भनेर गीत सुन्दिनँ । तर, कहिँकतै बस्दा उठ्दा । यात्रा गर्दा । साथीभाइको माहोलमा झम्दा गीतसँग जोडिन पुग्छु । फेरि एक पटक सुनिसकेको राम्रो गीत र भाका मलाई याद भै’हाल्छ । त्यस हिसाबले त सयौँ गीत सुनियो । त्यही अनुरूप मलाई मनपर्ने दर्जनौ गायक गायिका छन् ।
के कुराको विशेष सोख छ ?
लेख्न, पढ्न र फिल्म हेर्न मेरो विशेष सोख हो । मलाई त संसार नै कथा जस्तै लाग्छ ।
खानाको कत्तिको सोखिन हुनुहुन्छ ? मन पर्ने परिकार ?
खानाको त्यस्तो गहिरो सोख मसँग छैन ।
किनमेल गर्न कति रूचाउनुहुन्छ ?
मलाई किनमेल गर्न बहुत अल्छी लाग्छ । मलाई चाहिने सामान अरूले नै ल्याइदिओस भन्ने हो ।
के–कस्ता किनमेलका लागि बजार जानुहुन्छ ?
जान त बच्चाको खेलौनादेखि भान्साको सामानसम्मै किन्न बजार जानुपर्ने हुन्छ । तर, सबै मेरा लागि बाध्यतात्मक कुरा जस्ता हुन् ।
आफ्नो लुगाफाटो आफैं किन्नुहुन्छ कि अरूले किनिदिन्छन् ?
लुगा किन्दा त नाप्नै पर्छ । शरीरमा हुन्छ/हुन्न यकिन गर्नै पर्ने भएर आफैं जान्छु । जुन कुरामा नापो चाहिन्न श्रीमतीलाई ल्याइदिनू भन्छु ।
अहिलेसम्म किन्नु भएको सबैभन्दा महँगो वस्तु अथवा खर्च गरेको सेवा ?
मैले त्यस्तो सम्झिन र भन्न लायकको महङ्गो वस्तु किनेको छैन । उस्ताउस्तै रेन्जका वस्तु नै हुन्छन् ।
६.राजनीति
नेपालको राजनीति कस्तो लाग्छ ?
समाजको अवस्था अनुरूपको राजनीती हुने हो । त्यस अर्थमा हाम्रो राजनीती निकै अस्वस्थ र रूग्ण छ ।
हाम्रो राजनीतिको मुख्य समस्या के देख्नुहुन्छ ?
राजनीतीको समस्या भन्नलाई त म राजनीतिज्ञ हैन तर म समाजको हिस्सा र लेखक भएका नाताले समाजका समस्या चैं निकै देख्छु । शिक्षा, गरिबी, बेरोजगारी, उद्यमशिलतादेखि स्वास्थ्य क्षेत्र निकै दयनीय अवस्थामा देख्छु । कसैगरी यी समस्या हल होउन् भन्ने लाग्छ । सायद त्यसको उचित सम्बोधन हुन नसक्नु राजनैतिक समस्यासँग जोडिने हो कि!
नेताहरूको एउटा गुण वा चरित्र सुधार्न मिल्ने भए के सुर्धानुहुन्थ्यो ?
व्यावहारिक रूपमै इमान्दारिता । मुखमा त हामी इमान्दार छौं नै ।
मनपरेका वा प्रभाव पारेका नेता/राजनीतिज्ञ ?
त्यसरी मैले सोचेको रै’नछु ।
मानौं तपाईं प्रधानमन्त्री हुनुभयो, सबभन्दा पहिला के काम गर्नुहुन्थ्यो ?
होस्, म प्रधानमन्त्री भएको कल्पना गर्दिनँ ।
७.सामाजिक सञ्जाल र डिजिटल डिभाइस
कुन ब्रान्डको मोबाइल चलाइरहनु भएको छ ?
सामसुङको मोबाइल छ ।
दिनको कति घन्टा मोबाइल र संजालमा बिताउनुहुन्छ ? बढी चलाउने कुन ?
लगातार हेर्दिनँ । तर, केही घन्टाको फरकमा बेलाबेला सञ्जाल हेर्ने गर्छु । जोडजाड गर्दा एक डेढ घन्टा हेर्छु कि! त्यसमा पनि बढी चलाउने त फेसबुक नै होला ।
बिहान उठ्नासाथ र राति सुत्नेबेला फोन हेर्ने बानी छ कि छैन ?
कहिलेकसो हेर्छु होला तर त्यसरी सकभर हेर्दिनँ । सुत्दा नै म मोबाइल अन्तै राखिदिन्छु ।
सञ्जालको राम्रो र नराम्रो पक्ष के लाग्छ ?
भर्चुअल रूपमै ठूलो समाज निर्माण भएको छ । समाज निर्माण हुनु भनेको विचारहरू आदानप्रदान हुनु हो । चेतना प्रवाह भै’रहनु हो । साथसाथै समाजमा थरिथरिका मानिस र चिन्तन हुने हुँदा विमती र सो अनुरूपका अपराधहरू मौलाउँछन् नै । ठोस समाज र भर्चुअल समाजलाई समानान्तर रूपमा व्याख्या गरेर यसका राम्रा/नराम्रा पक्ष केलाउन सायद लामै आलेख चाहिन्छ ।
फलोअर्स, लाइक, कमेन्ट, भ्युजले तपाईंलाई केकति प्रभाव पार्छ?
सामान्य चासो भने रहन्छ तर प्रभावै त पार्दैन ।
एआई टुलहरू कतिको चलाइरहनु भएको छ? बढी कुन चलाउनुहुन्छ?
समान्य किसिमले कुनै जानकारी लिन चलाउने गरेको छु । तर, प्याकेज किनेर वा निकै गहन रूपमा यसकको बानी परेको छैन ।
सामाजिक सञ्जाललाई आजको समयमा कसरी व्याख्या गर्नुहुन्छ?
समाजको एक रूप हो भन्ने ठान्छु । जस्तो, म लेखकका अधिकांश साथीहरू लेखक र पाठक नै छन् । यो एक अलग्गै समाज जसरी ढिक्का भएको छ । सामाजिक सञ्जाल समाजकै परिस्कृत स्वरूप हो जस्तो लाग्छ, जो भर्चुअल रूपमा स्थापित भइसकेको छ ।

८.रोचक तथ्य
पुनः जन्म हुने भए अब के बन्न मन छ ?
म चाहन्न कि मेरो पुनः जन्म होस् । म कुनै ब्याक्टेरियोको जीवन पनि नपाऔं । आत्मा हुन्छ भने त्यसले मुक्ति नै पाओस् र विलिन होस् ।
तनाव, दबाबहरू कसरी कम गर्नुहुन्छ ?
तनाब र दबाबको जिम्मा अक्सर म समयलाई छोडिदिन्छु र आफ्नो कामको समय र ऊर्जा बढाउँछु ।
तपाईलाई के -को सुगन्ध सबैभन्दा मनपर्छ ?
मलाई त पुस्तककै सुगन्ध औधी मनपर्छ । त्यसपछि पानीले भिजेको माटोको गन्ध मनपर्छ ।
अहिलेसम्म तपाईंले पाउनु भएको राम्रो सुझाव ?
निकै धेरै सुन्नु; कम बोल; आफ्नो काम गरिराख – यिनै हुन् मैले पाएको घच्चीको सुझाब ।
आउँदो पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के हो ?
जोजो जुनजुन पेशामा हुनुहुन्छ, उहाँले नराम्रो नगरिदिए र नबिगारिदिए पुग्छ जस्तो लाग्छ ।
दिलै खोलेर अनलाइनखबरको साप्ताहिक कुराकानी श्रृंखला हो । यसमा हामी विभिन्न विषयमा अझ नजिक हुने गरी कुराकानी गर्छौं।
प्रतिक्रिया 4