+
+
Shares

प्रदीप गिरिको स्मृतिमा निबन्ध पुरस्कारको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ६ गते १८:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले स्व. प्रदीप गिरिको स्मृतिमा ‘प्रदीप गिरि फेलोसिप’ र ‘निष्ठामूलक असहमति’ निबन्ध पुरस्कार घोषणा गरेको छ।
  • फेलोसिपअन्तर्गत चार जना अध्येतालाई अनुसन्धान र चार जना कानून व्यवसायीलाई एक वर्ष निःशुल्क कानूनी पैरवीका लागि छनोट गरिने छ।
  • २४ कात्तिकदेखि आवेदन खुला हुने र मंसिर मसान्तभित्र फेलो छनोट गरी कार्यक्रम हरेक वर्ष सञ्चालन गरिने पार्टीले जनाएको छ।

६ भदौ, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका वैचारिक नेता एवं समाजवादी चिन्तक स्व. प्रदीप गिरिको स्मृतिमा ‘प्रदीप गिरि फेलोसिप’ र ‘निष्ठामूलक असहमति’ निबन्ध पुरस्कारको घोषणा गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार आयोजित ‘हि टोल्ड अस : इन स्पिरिट एन्ड स्ट्रगल’ कार्यक्रममा सभापति गगनकुमार थापाले यसबारे जानकारी गराएका छन् ।

स्व. गिरिको चौथो वार्षिक स्मृति दिवसको अवसरमा कांग्रेसको केन्द्रीय नीति तथा अनुसन्धान प्रतिष्ठान र प्रदीप गिरि इन्स्टिच्युटको संयुक्त पहलमा कार्यक्रम सुरु गरिएको हो ।

सभापति थापाका अनुसार गिरिको अध्ययनशील स्वभाव र सीमान्तकृत समुदायप्रतिको निष्ठालाई जीवित राख्न दुई फरक विधामा फेलोसिप प्रदान गरिने भएको हो ।

प्रदीप गिरि फेलोसिपलाई ‘विचार, अध्ययन र अनुसन्धान’ तथा ‘कर्म र न्याय’ गरी दुई पाटोमा विभाजन गरिएको छ । पहिलोमा विचार, अध्ययन र अनुसन्धान छ । यस विधाअन्तर्गत चार जना अध्येतालाई फेलोसिप प्रदान गरिने बताइएको छ ।

यसमा नेपाली राजनीति, गणतन्त्र, संघीयता, सामाजिक न्याय, समावेशिता, दर्शन र साहित्यका क्षेत्रमा अनुसन्धान, पुस्तक लेखन तथा दस्तावेजीकरणका लागि सहयोग उपलब्ध गराइने छ ।

यसका साथै गिरिको व्यक्तित्व, मधेश दृष्टिकोण र उनको दार्शनिक जीवनमाथि गरिने शोधलाई प्राथमिकता दिइने प्रतिष्ठानले जनाएको छ । फेलोहरूले निश्चित पारिश्रमिक, सम्पादकीय मार्गदर्शन र पुस्तकालयको सुविधा प्राप्त गर्ने छन् ।

दोस्रोमा कर्म र न्याय रहेको छ । यो विधाअन्तर्गत चार जना सक्रिय कानून व्यवसायीहरूलाई फेलोका रूपमा छनोट गरिने छ । उनीहरूले एक वर्षसम्म कानूनी सहायता डेस्क सञ्चालन गरी जातीय विभेद, भूमि विवाद र नागरिकताबाट वञ्चित सीमान्तकृत एवं दलित समुदायका कम्तीमा २० वटा मुद्दामा निःशुल्क कानूनी पैरवी गर्ने छन् ।

यसको उद्देश्य व्यक्तिगत पीडालाई सार्वजनिक अभिलेखका रूपमा स्थापित गर्दै नीति निर्माणमा दबाब सिर्जना गर्नु रहेको सभापति थापाले बताए ।

गिरिको राजनीतिक संस्कार र आलोचनात्मक चेतलाई सम्मान गर्दै कांग्रेसले ‘निष्ठामूलक असहमति’ शीर्षकमा वार्षिक निबन्ध पुरस्कारको समेत घोषणा गरेको छ ।

आफ्नो दल, संस्था वा विचारधाराको रचनात्मक आलोचना गर्दै लेखिएका उत्कृष्ट निबन्धलाई उक्त पुरस्कार प्रदान गरिने सभापति थापाले जानकारी दिए । यो फेलोसिप कुनै राजनीतिक दलमा आवद्ध वा नभएका सबै योग्य नेपाली नागरिकका लागि खुला रहने छ ।

यसका लागि २४ कात्तिक (गोवद्र्धन पूजा तथा प्रदीप गिरिको जन्मजयन्ती) देखि आवेदन खुला गरिने छ ।

छनोट प्रक्रियालाई पूर्णतः निष्पक्ष बनाउन कुनै पनि राजनीतिक दलको बहालवाला पदमा नरहेका व्यक्तिहरू सम्मिलित एक स्वतन्त्र निर्णायक समिति गठन गरिने छ ।

मंसिर मसान्तभित्र फेलोहरूको छनोट गरिने र यो कार्यक्रम प्रत्येक वर्ष निरन्तर सञ्चालन हुने पार्टी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?