६ भदौ, काठमाडौं । कास्की जिल्लाको पोखरामा मोटरसाइकल अनियन्त्रित भएर पोल र बसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
पोखरा महानगरपालिका–१८ लामागाउँमा ग २० प ६०९४ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडक छेउको विद्युत् पोलमा ठोक्किएको थियो । पोलमा ठोक्किएपछि मोटरसाइकल पुन: पोखराबाट साराङकोटतर्फ जाँदै गरेको ग १ ख ४३३५ नम्बरको बसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पोखरा महानगरपालिका–१८ की २९ वर्षीया रूपा बिक गम्भीर घाइते भई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो । त्यहाँ उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक पोखरा महानगरपालिका–१८ सुन्दरपोखरीका ४३ वर्षीय रामचन्द्र बिक गम्भीर घाइते छन् । उनको टाउको र दायाँ कानमा चोट लागेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न बस चालक अन्नपूर्ण गाउँपालिका–१ नौडाँडाका २४ वर्षीय अभिषेक परियारलाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ ।
प्रतिक्रिया 4