+
+
Shares

बाढीले खेत खोस्यो, काँसले जीवन फेर्‍यो

बर्सेनि  आउने बाढीले खेतीमा निर्भर जीवन संकटमा परेका बेला माडीका थारू महिलाहरूले नदी किनारका प्राकृतिक स्रोतको उपयोग गरेर वातावरणमैत्री हस्तकला उत्पादन मार्फत् आम्दानी, आत्मनिर्भरता र सामाजिक नेतृत्व गरिरहेका छन् ।

शान्ता अधिकारी शान्ता अधिकारी
२०८३ भदौ ७ गते १२:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको माडीमा डाग्रे र रिउ खोलाको बाढीले दशकौंदेखि खेतीयोग्य जमिन कटान र डुबान गर्दै आएको छ।
  • माडीको गर्दी–१ मा २०७५ सालमा बनेको थारु महिला कृषक समूहका ४८ महिलाले काँस, बाबियो र पटेरोबाट हस्तकला उत्पादन गरी आम्दानी गर्दै आएका छन्।
  • समूहले ढकिया, फूलदानी, हटकेस, थरिया, किस्ती र गुन्द्रीजस्ता सामग्री काठमाडौं, नवलपरासी, मकवानपुर र विदेशसम्म बिक्री गर्दै आएको छ।

७ भदौ, माडी (चितवन) । चितवनको डाग्रे खोलामा ठूलो बाढी आएको २४ वर्ष भयो । २०५९ को भदौमा आएको बाढीले चितवन गर्दी-१ की हिरामती चौधरीको खेतमा लहलहाएको धान मात्र बगाएन, घरको भकारीमा थन्क्याएको अन्न पनि सखाप पारिदियो।

भदौरे बाढीको पीडा सेलाउन नपाउँदै असोजमा फेरि अर्को बाढी आयो। काटेर गरामा सुकाउन राखेको धानसमेत बाढीले बगाएपछि केही दिन उनी हिलाम्मे मुठा खोज्दै छाक टार्न बाध्य भइन्।

हिरामतीको कथा माडीका धेरै थारु महिलासँग मिल्छ । वर्षेनी दोहोरिने बाढी, खेतीयोग्य जमिनको कटान र घट्दो उत्पादन यहाँका स्थानीयका लागि दशकौंदेखिको समस्या हो।

वडा नम्बर १ का अध्यक्ष अमित लामाका अनुसार २०३१ सालको बाढीमा ६ जनाको ज्यान गएको थियो। त्यसपछि २०३२, २०४८, २०५२, २०५७, २०५८, २०६७ र २०६८ सालमा पनि ठूलो बाढी आएको थियो। २०६८ सालको बाढीमा थप दुई जनाले ज्यान गुमाएका थिए।

डाग्रे खोला क्षणभरमै बाढीमा परिणत हुने खोला भएको स्थानीय बताउँछन् । गर्दी–१ की धनरजीया चौधरी भन्छिन्, ‘खेतमा जाँदा सामान्य देखिने खोला फर्किदा तर्नै नसकिने गरी उर्लिन्छ। अहिले मौसम नै बदलिएको छ। भदौ–असोजमै पनि कुन बेला बाढी आउँछ, थाहा हुँदैन।’

६२ वर्षीया केशरीया महत्तोको अनुभव पनि उस्तै छ। रिउ र डाग्रे खोलाको किनारमै रहेको खेतमा बर्सेनि बाढीले दुःख दिने गरेको उनी सुनाउँछिन् । उनी भन्छिन्, ‘धान रोप्यो, सर्न नपाउँदै बगाइदिन्छ। काट्ने बेला पानीले भिजाउने हो कि बगाउने हो भन्ने चिन्ता हुन्छ।’

४५ वर्षीया सीता गुरौका अनुसार डाग्रे खोलामा सामान्य बाढी आउँदा पनि शेरुवा बस्ती जोखिममा पर्छ । ‘बस्तीमा पानी पस्यो भने धान, मकै सबै नष्ट हुन्छ, उनी भन्छिन् ।

गर्दी–१ को शेरुवा बस्तीमा करिब ८० घरधुरी छन् । रिउ र डाग्रे खोलाले धार परिवर्तन गर्दा सर्यौ बिगाहा खेतीयोग्य जमिन डुबान र कटानमा पर्ने गरेको स्थानीय बताउँछन्।

२०३५ सालमा आएको भीषण बाढीपछि पाण्डवनगर, कुन्तीपुर र द्रोपतीनगरका करिब डेढ सय घरधुरीलाई बाँके र बर्दियातर्फ स्थानान्तरण गरिएको थियो। तर केही परिवार भने त्यहीँ बसे, जसले आजसम्म पनि बाढीको जोखिमसँगै जीवन बिताइरहेका छन् ।

त्यही संकटलाई माडीवासीले अवसरमा बदल्दै स्थानीय प्राकृतिक स्रोतबाट वातावरणमैत्री हस्तकला उत्पादन गरी आत्मनिर्भर बन्ने यात्रामा छन्। काँस र बाबियो आम्दानीको राम्रो आधार बनिरहेको छ।

काँस र बाबियो बने आम्दानीको आधार

मौसमको अनिश्चितता र खेतीमा बढ्दो जोखिमले थारु महिलाहरूलाई नयाँ विकल्प खोज्न बाध्य बनायो। उनीहरूले नदी किनारमा उम्रने काँस, पटेरो, बाबियो र थाकलको बोटलाई उपयोग गरेर हस्तकला उत्पादन सुरु गरे। कुनै समय बेकार मानिने यी प्राकृतिक घाँस अहिले उनीहरूको आम्दानीको प्रमुख स्रोत बनेका छन्। प्लास्टिकजन्य सामग्रीको विकल्पका रूपमा वातावरणमैत्री उत्पादनको माग बढेसँगै उनीहरूको व्यवसाय पनि विस्तार हुँदै गएको छ।

नगरपालिका–१, गर्दीमा २०७५ सालमा स्थापना भएको माडी थारु महिला कृषक समूहमा ४८ जना आबद्ध छन्। कामलाई व्यवस्थित बनाउन छ वटा उपसमूहसमेत गठन गरिएको छ। समूहले ढकिया, फूलदानी, हटकेस, मोहनी, थरिया, किस्ती, चिया राख्ने भाँडो, कफी ट्रे, गुन्द्री, कलम राख्ने भाँडोलगायत दैनिक प्रयोग तथा सजावटका सामग्री उत्पादन गर्दै आएको छ।
समूहकी अध्यक्ष हिरामती चौधरीका अनुसार पहिले सानातिना खर्चका लागि पनि परिवारका अन्य सदस्यमा भर पर्नुपर्ने अवस्था थियो। ‘अहिले आफ्नै कमाइ छ। परिवारलाई सहयोग गर्न सक्ने भएका छौं,’ उनी भन्छिन् ।

समूह सञ्चालनको प्रक्रिया बारे हिरामती भन्छिन्, ‘उत्पादन बिक्रीबाट आएको आम्दानीको १० प्रतिशत समूहको कोषमा जम्मा गरिन्छ। त्यही रकम कच्चा पदार्थ खरिद तथा आपतकालीन सहयोगमा प्रयोग हुने गरेको छ।’

समूहकी सहसचिव धनरजीया चौधरीका अनुसार पहिले खुलेर बोल्न समेत हिच्किचाउने महिलाहरू अहिले आफ्नै पहिचान बनाउन सफल भएका छन् । समूहमा आवद्ध ६३ वर्षीया जिता चौधरी भन्छिन्, ‘अहिले समूहमा बसेर काम गर्दा समय गएको पत्तै हुँदैन। आम्दानी पनि हुन्छ राति निन्द्रा पनि लाग्छ।’

समूहले उत्पादन गरेका सामग्री माडीमा नै हुने विभिन्न कार्यक्रमहरूमा बिक्री कक्ष राखेर बेच्ने गरेको अध्यक्ष हिरामती बताउँछिन्। त्यस बाहेक काठमाडौं, नवलपरासी, मकवानपुरलगायत विभिन्न जिल्लामा बिक्री हुने गरेको उनको भनाइ छ।

वैदेशिक रोजगारीमा जाने युवायुवतीले समेत यस्ता सामग्री विदेश लैजाने गरेका छन्। माडीका होमस्टे तथा कृषि फार्मबाट पनि नियमित माग आउने गरेका छन्।

वडा अध्यक्ष अमित लामा स्थानीय सरकारले मेला, प्रदर्शनी तथा नगरपालिकाले आयोजना गर्ने कार्यक्रममा बिक्री कक्ष उपलब्ध गराउँदै आएको बताउँछन्। उनी भन्छन्, ‘भविष्यमा बजार विस्तारका लागि थप सहकार्य गर्ने तयारी पनि भइरहेको छ।’

डाग्रे खोला किनारमा हल्लिने काँस कुनै समय बाढीले बगाएर ल्याएको बेकार घाँस थियो। आज त्यही काँसबाट बनेका ढकिया, फूलदानी र किस्तीले थारु महिलाको घरमा आम्दानी, आत्मविश्वास र भविष्यको नयाँ आशा भित्र्याइरहेका छन्। बदलिँदो मौसम र प्राकृतिक विपत्तिबीच माडीका महिलाहरूको यो प्रयास जीविकोपार्जनको राम्रो माध्यम बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?