+
+
Shares

मलेसियाको सूचीमा परेका २५ म्यानपावरसँग छलफल गर्दै सरकार

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते १७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले मलेसियामा श्रमिक पठाउन सूचीकृत भएका २५ म्यानपावरसँग वैदेशिक रोजगार व्यवसायी संघको रोहवरमा सोमबार छलफल गर्ने भएको छ।
  • मलेसियाले एफडब्लूसीएमएस प्रणालीमा नेपालका २५ म्यानपावरलाई मात्र सूचीकृत गरी त्यसमार्फत विदेशी श्रमिक भर्ना गर्ने व्यवस्था गरेको छ।
  • सूची सार्वजनिक भएपछि श्रममन्त्री रामजी यादवले शनिबार नेपालका लागि मलेसियाली कार्यबाहक राजदूतसँग छलफल गरेका थिए।

७ भदौ, काठमाडौं । मलेसियामा श्रमिक लैजान पाउनेगरी सूचीकृत भएका २५ म्यानपावरसँग सरकारले छलफल गर्ने भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले सोमबार मलेसियाको सूचीमा परेका २५ म्यानपावरलाई छलफलका लागि बोलाएको हो ।

वैदेशिक रोजगार व्यवसायी संघको रोहवरमा ती म्यानपावरलाई छलफलका लागि बोलाइएको श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए ।

मलेसिया सरकारले वैदेशिक रोजगारीका लागि नेपालका २५ वटा म्यानपावर कम्पनीलाई मात्रै सूचीकृत गरी सीमित गर्न खोजेको विषयमा मन्त्रालयले गम्भीर रुपमा लिँदै उनीहरूसँग छलफल गर्न लागेको हो ।

‘उनीहरूलाई संघमार्फत बोलाएका छौं । संघको प्रतिनिधि र २५ म्यानपावर बसेर उनीहरूको धारणा बुझ्नुपर्ला,’ प्रवक्ता घिमिरेले भने ।

मलेसियाकाे मानव संसाधन मन्त्रालयले २२ अगस्ट अर्थात् शनिबारदेखि वैदेशिक रोजगार व्यवसायी संस्था ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लूसीएमएस) मा नेपालसहित विभिन्न १० देशका म्यानपावरलाई सूचीकृत गरेको थियो । त्यसका लागि नेपालका २५ म्यानपावरलाई उक्त सूचीमा राखेको छ । प्रणालीमा सूचीकृत म्यानपावर कम्पनीमार्फत मात्रै मलेसियामा विदेशी श्रमिक भर्ना गर्न पाउने व्यवस्था गरिएको छ ।

नेपालबाट २५ वटा म्यानपावर कम्पनी सूचीकृत गरिँदा बंगलादेशबाट पनि २५, कम्बोडियाबाट २३, भारतबाट १०, म्यानमारबाट १०, पाकिस्तानबाट १०, फिलिपिन्सबाट ४३५, श्रीलंकाबाट २५८, थाइल्यान्डबाट १ र भियतनामबाट ९१ वटा कम्पनी सूचीकृत भएका छन् ।

मलेसियाले उक्त सूची सार्वजनिक गरेपछि श्रम मन्त्री रामजी यादवले शनिबार नै नेपालका लागि मलेसियन कार्यबाहक राजदूतलाई बोलाएर छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?