News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति गगन थापाले मधेस तथा थरुहट आन्दोलनसम्बन्धी लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग माग गरेका छन्।
- थापाले २०७३ सालमा गठन भएको गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नहुँदा सत्यतथ्य बाहिर नआएको र पीडित न्यायबाट वञ्चित भएको उल्लेख गरेका छन्।
- उनले विगतका सरकारको कमजोरी आज प्रतिवेदन रोक्ने कारण बन्न नसक्ने भन्दै ‘अब थप विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिदिनुहोस्।’ भनेका छन्।
८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेस तथा थरुहट आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सभापति थापाले राजनीतिक दलहरूले विगतमा सरकारमा जानुअघि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि सरकारमा पुगेपछि कार्यान्वयन गर्न नसकेको कमजोरी स्वीकार गरेका छन्।
‘२०७४ सालदेखि लगभग हरेक वर्ष यसरी नै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आवाज उठ्दै आएको छ। हरेक पटक हामी राजनीतिक दलहरूले सरकारमा जानुअघि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनायौं, तर सरकारमा पुगेपछि त्यसलाई कार्यान्वयन गर्न सकेनौं,’ थापाले लेखेका छन्, ‘अब त एक दशक बित्न लागिसक्यो।’
२०७३ सालमा गठन भएको सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन आजसम्म सार्वजनिक नहुँदा घटनाको सत्यतथ्य बाहिर आउन नसकेको र पीडितहरू न्यायबाट वञ्चित भएको उनको भनाइ छ।
विगतका सरकारहरूको कमजोरीलाई देखाएर अब प्रतिवेदन रोक्न नहुने उल्लेख गर्दै उनले अगाडि लेखेका छन्, ‘विगतका सरकारबाट पनि यो काम हुन सकेन। तर विगतको कमजोरी आज पनि प्रतिवेदन सार्वजनिक नगर्ने कारण बन्न सक्दैन, बन्नु हुँदैन। यसपटक यो विषय प्रतिबद्धतामा मात्र सीमित नहोस्।’
सभापति थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आग्रह गर्दै भनेका छन्, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मेरो आग्रह छ- अब थप विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिदिनुहोस्। सत्य जान्ने अधिकार नागरिकको हो, न्याय पाउने अधिकार पीडितको हो।’
प्रतिक्रिया 4