+
+
Shares

सरकारी निकायमा युवालाई पेड इन्टर्नसिपको व्यवस्था गर्न रास्वपा उपनेताको माग

उपनेता पराजुलीले भने, ‘अनुभवबिना काम नपाइने र काम नभई अनुभव नहुने बेरोजगारको पीडादायी चक्र यहीँबाट सुरु हुन्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते १६:१५

८ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीले मन्त्रालय, विभागलगायत सरकारी निकायमा युवालाई पेड इन्टर्नसिपको व्यवस्था गर्न माग गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारसँग यस्तो माग गरेका हुन् ।

‘हरेक वर्ष हजारौँ विद्यार्थी अध्ययन सकाएर जागिर खोज्न निस्कँदा, सामना गर्नुपर्ने पहिलो प्रश्न कामको अनुभव कति छ ? भन्ने हुन्छ,’ उपनेता पराजुलीले भने, ‘अनुभवबिना काम नपाइने र काम नभई अनुभव नहुने बेरोजगारको पीडादायी चक्र यहीँबाट सुरु हुन्छ ।’

युवा पुस्ता आईटी, डेटा साइन्स, एआई, डिजिटल टेक्नोलोजीजस्ता विधामा अभ्यस्त रहेको उनले बताए । ‘तर कर्मचारी संरचनामा यही ज्ञानको खाँचो छ । बिडम्वना, त्यही ज्ञान आर्जेका पुस्ता अवसरको खोजीमा विदेशिन बाध्य छ,’ उनले भने । त्यसकारण ‘आजैबाट प्रतिभाशाली युवालाई सिंहदरबारको ढोका किन नखोल्ने ?’ भन्दै उनले प्रश्न गरे ।

श्रम ऐन, २०७४ को दफा १६ ले नै प्रशिक्षार्थीलाई काम सिक्दै अनुभव हासिल गर्ने कानुनी बाटो खोलिसकेको उनले बताए ।

‘त्यसैले सरकारका मन्त्रालय, विभागलगायत सबै निकायहरूमा युवाका लागि नीतिमार्फत नै स्पष्ट टीओआरको व्यवस्था गरेर प्रत्येक वर्ष निश्चित संख्यामा विद्यार्थीलाई खुला प्रतिस्पर्धाबाट छनोट गरी निश्चित समयको लागि पेड इन्टर्नसिप दिनसक्ने कार्यविधि बनाई तत्काल लागु गर्न ढिला गरिनु हुँदैन’, पराजुले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?