२४ असार, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय दलको नेतालाई हटाउने पार्टी संसदीय दलको विधानमा राखिएको प्रावधानलाई प्रधानमन्त्री बालेन शाहलाई हटाउने भनी गलत नियतका साथ अपव्याख्या गरिएको दाबी गर्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
बुधबार प्रधानमन्त्री बालेन शाहलाई संसदीय दलको नेताबाट जुनसुकै बेला पनि हटाउन सक्ने भनि राखिएको प्रावधानबारे सञ्चारकर्मीहरुले जिज्ञासा राखेपछि उपनेता पराजुलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
विधानमा संसदीय दलको नेता मात्रै हटाउने प्रावधान राखिएको भनेर त्यसको अपव्याख्या गर्न खोजिएको दाबी उनको थियो ।
‘त्यहाँ संसदीय दलको उपनेताको पनि व्यवस्था गरिएको छ । तर यसको चर्चा भएन नि । सभापतिको पनि पद कसरी हटछ ? भन्ने कुराको त चर्चा भएन नि । तर विधानमा यी सबै कुराहरुको परिकल्पना गरिएको हुन्छ । विधान एउटा व्यक्ति वा पद हेरेर पार्टीलाई आगामी दिनमा अगाडि बढाउँदै गर्दा कसरी प्रभावकारी बनाउन सकिन्छ ? भन्ने उद्देश्य राखेर विधान बनाइएको हुन्छ,’ पराजुलीले भने ।
पार्टीको विधान कुनै व्यक्ति वा पदलाई हेरेर भन्दा पनि पार्टीको प्रभावकारितालाई हेरेर बनाउने भएकाले सोही अनुसार बुझन उपयुक्त हुने धारणा समेत उनले राखे ।
‘किनभने अन्य पदाधिकारीको जस्तै पदको अन्त्य कहिले हुन्छ, कसरी हुन्छ ? भनेर व्याख्या गरेजस्तै संसदीय दलको नेताका पनि पदको अन्त्य कसरी हुन्छ भनेर व्यवस्था गरिएको एउटा व्याख्यामध्येको व्याख्या भएको हुनाले यहाँहरूले यसलाई जुन आशयका साथ उठान गर्नुभएको छ, त्यो नियतसँग जोडेर हेरेको कारणले यसको अपव्याख्या भएको हो कि भन्ने मेरो बुझाइ छ,’ पराजुलीले भने ।
प्रतिक्रिया 4