News Summary
Generated by OK AI. Editorially reviewed.- राहुल गान्धीले पुणेमा मनुस्मृतिमा महिलाबारे लेखिएको उद्धरण शर्मनाक भन्दै महिलाहरू कसैको अधीनमा हुन नसक्ने बताए।
- उनले महिलाको ७० करोड अद्वितीय यात्रा, कल्पना र सपना भारतको सबैभन्दा ठूलो शक्ति र सम्पत्ति भएको उल्लेख गरे।
- राहुलको अभिव्यक्तिपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भाजपाका नेताहरूले उनलाई संविधान र भारतीय सभ्यताप्रति जवाफदेही हुनुपर्ने भन्दै आलोचना गरे।
९ भदौ, काठमाडौं । भारतको लोकसभाका विपक्षी दलका नेता राहुल गान्धी मनुस्मृति ग्रन्थका विषयमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । पुणेमा शनिबार आयोजित ‘छात्राहरूको गुञ्ज’ कार्यक्रममा राहुल गान्धीले मनुस्मृतिका सन्दर्भहरू उल्लेख गरेका थिए।
राहुलले मनुस्मृतिमा महिलाहरूबारे लेखिएको उद्धरणलाई ‘शर्मनाक’ बताए। उनले भने, ‘महिलाहरू कसैको अधीनमा हुन सक्दैनन्।’
गान्धीले भने, ‘म यहाँ मनुस्मृतिको उल्लेख गर्न चाहन्छु, जसले बाल्यकालमा महिला आफ्नो बुबाको अधीनमा हुनुपर्छ, यौवनमा श्रीमान्को अधीनमा हुनुपर्छ र श्रीमान्को मृत्युपछि छोराहरूको अधीनमा हुनुपर्छ भनी स्पष्ट भन्छ। महिला कहिल्यै स्वतन्त्र हुनुहुँदैन भन्ने यी शब्दहरू शर्मनाक हुन्। यी शब्दहरू बोलिनु हुँदैनथ्यो।’
गान्धीले भारतको सबैभन्दा ठूलो शक्ति महिलाहरूको ‘७० करोड अद्वितीय यात्रा, अद्वितीय कल्पना र अद्वितीय सपना’ भएको बताए। महिलाहरू देशको सबैभन्दा ठूलो सम्पत्ति रहेको भन्दै उनले महिलाहरू आफ्ना लागि आफैं उभिनुपर्ने र आफूमाथि विश्वास गर्नुपर्ने बताए।
गान्धीले उल्लेख गरेको उद्धरण मनुस्मृतिको पाँचौं अध्यायको श्लोक १४८ मा छ। मनुस्मृतिका विवादित उद्धरणहरूमध्ये यो पनि एक हो। महिलाको स्वतन्त्र र निजी अस्तित्वलाई खारेज गर्ने ग्रन्थका रूपमा मनुस्मृति विवादित छ। त्यति मात्र होइन, समाजमा जात व्यवस्थाको सोपानतन्त्रका आधारमा निर्मित दलित जातिलाई पनि अधीनस्थ बनाएर राखेको आरोप यसमाथि लाग्ने गर्छ।
हिन्दू धर्मशास्त्रअनुसार मनुस्मृतिका रचनाकार पौराणिक आदिपुरुष महर्षि मनु मानिन्छन्। अन्वेषकहरूका अनुसार यसको वर्तमान स्वरूप ईसापूर्व दोस्रो शताब्दीदेखि ईस्वी सन् दोस्रो शताब्दीबीचको कालखण्डमा सङ्कलन गरिएको हो। यसमा १२ वटा अध्याय र करिब २,६८४ श्लोकहरू रहेका छन्।
पहिलो अध्यायमा जगत् सृष्टिका विषयहरू समावेश छन्। दोस्रो अध्याय धर्मका लक्षण, वर्णधर्म, ब्रह्मचर्य र आफ्नो मालिकको सेवामा आधारित छ।
तेस्रो अध्यायमा विवाहका प्रकार, विवाहका नियम, अतिथि सत्कार, महिलाको आदर र श्राद्ध अर्थात् पूर्वजहरूलाई सम्झिने कुराको वर्णन छ। चौथो अध्यायमा गृहस्थ धर्मका कर्तव्य र २१ प्रकारका नरकहरूको उल्लेख छ।
पाँचौं अध्यायमा खाने वा नखाने नियम, महिलाहरूका कर्तव्य, शुद्धता र अशुद्धता आदिको उल्लेख छ। छैटौं अध्यायमा वानप्रस्थ र सन्न्यास धर्मका बारेमा र सातौं अध्यायमा एक राजाका कर्तव्यहरूको उल्लेख छ। आठौं अध्यायले अपराध, न्याय, वचन र राजनीतिक मामिलाहरूमा कुरा गर्छ।

नवौं अध्यायमा पैतृक सम्पत्ति, दसौं अध्यायमा वर्णहरूको मिश्रण, एघारौं अध्यायमा पापकर्म र बाह्रौं अध्यायमा तीन गुण तथा वेदहरूको प्रशंसा छ।
मनुस्मृतिको सामान्य दिग्दर्शन यही हो। र, यसलाई सामाजिक व्यवस्थाका रूपमा भारतले लामो समयदेखि ग्रहण गर्दै आएको थियो। समयक्रममा भारतमा प्रगतिशील आन्दोलन फक्रँदै जाँदा मनुस्मृति आलोचनाको विषय बन्दै गएको हो।
डा. बाबासाहेब आम्बेडकरले २५ जुलाई, १९२७ मा महाराष्ट्रको कोलाबा जिल्लाको महादमा सार्वजनिक रूपमा मनुस्मृति जलाएका थिए।
आम्बेडकर आफ्नो किताब ‘फिलोसोफी अफ हिन्दुइज्म’ मा लेख्छन्, ‘मनुले चार वर्ण व्यवस्थाको वकालत गरेका थिए। मनुले यी चार वर्णहरूलाई अलग–अलग राख्नेबारे बताएर जाति व्यवस्थाको जग बसाले। यद्यपि, मनुले जाति व्यवस्थाको रचना गरेका हुन् भन्न सकिँदैन। तर, उनले यस व्यवस्थाको बीउ पक्कै रोपेका थिए।’
उनले मनुस्मृतिको विरोधलाई आफ्ना किताब ‘कौन थे शूद्र’ र ‘जाति का अन्त’ मा पनि उल्लेख गरेका छन्।
त्यस समयमा दलितहरू र महिलाहरूलाई सामान्य जीवन जिउने अधिकार थिएन। यसका साथै ब्राह्मणहरूको प्रभुत्वका कारण जाति व्यवस्थाको जन्म भयो।
डा. आम्बेडकरका अनुसार जाति व्यवस्था बहु–तले भवनजस्तो हुन्छ, जसमा एक तलाबाट अर्को तलामा जानका लागि कुनै भर्याङ हुँदैन। उनले भनेका छन्, ‘वर्ण व्यवस्था बनाएर कामलाई मात्र विभाजन गरिएन, बरु काम गर्नेहरूलाई पनि विभाजित गरियो।’
भारतमा मनुवादको समर्थन गर्नेहरूको सङ्ख्या पनि कम छैन। यस विषयमा इतिहासकार नरहर कुरुन्दकरले बीबीसीसँग कुरा गर्दै भनेका छन्, ‘मनुस्मृतिका समर्थकहरूको एउटा गुट भन्छ कि यस सृष्टिको रचना ब्रह्माले गरेका थिए र संसारको कानुन प्रजापति–मनु–भृगुको परम्पराबाट आएको हो। यस्तो अवस्थामा यसको सम्मान गरिनुपर्छ।’
कुरुन्दकरले आफ्नो किताबमा मनुस्मृतिका समर्थकहरूले यसलाई वेदहरूकै जस्तो सम्मान गरिनुपर्ने धारणा राखेको विषय पनि समेटेका छन्। किताबका केही अंशहरूका आधारमा सिङ्गो किताबबारे गलत धारणा बनाउन नमिल्ने मनुवादी धारणालाई पनि उनले नियालेका छन्।
उनले भनेका छन्, ‘बचाउका लागि यो पनि भनिन्छ कि स्मृतिहरू वेदहरूमा आधारित छन् र मनुस्मृति पनि वेदहरूकै हिसाबले छ। यसकारण यसलाई वेदहरूजस्तै सम्मान मिल्नुपर्छ। शंकराचार्यका साथै अन्य धर्मगुरुहरूले पनि यसै आधारमा यसको बचाउ गरे। मनुस्मृतिका आधुनिक समर्थकहरू भन्छन् कि यस किताबका केही भागहरूलाई छाडिदिने हो भने यो किताबले समाजको कल्याणको कुरा गर्छ।’
गान्धीको ‘मनुस्मृति’ सम्बन्धी अभिव्यक्तिलाई लिएर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सोमबार उनीमाथि तिखो प्रहार गरे। योगी आदित्यनाथले राहुल गान्धी प्रतिपक्षी दलको नेताका रूपमा देशको लोकतन्त्रप्रति जवाफदेही हुनुपर्ने बताए।
योगी आदित्यनाथले भने, ‘राहुल गान्धीले महाराष्ट्रमा एउटा अभिव्यक्ति दिएका छन् कि महिलाहरू मनुस्मृतिको बन्धन तोडेर अब बाहिर आऊन्। देशले उनीबाट राहुल गान्धीका रूपमा धेरै अपेक्षा गर्दैन, तर भारतको संसद्मा प्रतिपक्षी नेताका रूपमा देशले तपाईंलाई लोकतन्त्रप्रति जवाफदेही बनाउँछ।’
आदित्यनाथले गान्धीलाई संविधानको शपथ लिएर भारतको परम्परा र विरासतलाई गाली गर्नुलाई आफ्नो जन्मसिद्ध अधिकार ठानेको आरोप लगाएका थिए।
योगी आदित्यनाथले भने, ‘त्यस्तो को छ, जसको जीवनमा कुनै न कुनै रूपमा महिलाको सहारा नहोस्- चाहे त्यो आमा, बहिनी, पत्नी वा छोरीको रूपमा होस् ? त्यस्तो को व्यक्ति छ ? के बुबाविना कुनै छोरी हुन्छिन् ? के भाइविना कुनै बहिनी हुन्छिन् ? के कुनै पत्नी श्रीमान्विना आफ्नो अस्तित्व मान्छिन् ? के कुनै आमा छोराविना आफ्नो अस्तित्व पूर्ण मान्छिन् ?’
मूलतः भाजपाका सांसद र समर्थकहरूबाट गान्धी आलोचित भइरहेका छन्। भाजपा सांसद निशिकान्त दुबेले गान्धीलाई ‘पढ्न, बुझ्न र त्यसपछि मात्र बोल्न’ भनेका छन्।
त्यस्तै, भाजपा नेता अमित मालवीयले चयन गरिएका अंशहरू मात्र उद्धृत गर्नु ‘दुष्प्रचार’ भएको बताए। मनुस्मृतिमा महिलाप्रतिको आदरलाई देवताहरूको प्रसन्नतासँग जोडिएको श्लोक उल्लेख गर्दै मालवीयले गान्धीलाई अंग्रेजी चस्माले भारतीय सभ्यता नपढ्न भनेका छन्।
‘यदि राहुल गान्धी हिन्दू धर्मग्रन्थमाथि बहस गर्न चाहन्छन् भने, उनले यसलाई राजनीतिक दृष्टिकोणबाट हेर्नुको सट्टा कम्तीमा इमानदारीपूर्वक पढ्नुपर्छ। भारतको सभ्यतालाई अंग्रेजी चस्माले पढेर बुझ्ने दाबी गर्न सकिँदैन,’ मालवीयले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4