+
+
Shares

विपन्न बालबालिकाको सहारा बन्यो गाउँपालिका

आर्थिक अवस्था कमजोर भएकै कारण कोही पनि विद्यालय शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले जिल्लाको सहिदलखन गाउँपालिकाले आवाससहित शिक्षा दिने व्यवस्था गरेको छ।

रासस रासस
२०८३ भदौ ९ गते १५:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखाको सहिदलखन गाउँपालिकाले विपन्न बालबालिकाका लागि वडा नं ६ घैरुङ बाँसकोटस्थित हिमालय माविमा आवाससहित शिक्षा सुरु गरेको छ।
  • पालिकाले आर्थिक वर्ष २०८२÷०८३ मा रु १० लाख विनियोजन गरेर २० जना क्षमताको छात्रावास, शौचालय र मेस व्यवस्थापन गरेको छ।
  • हाल छात्रावासमा १३ जना बालबालिका आश्रित छन् र उनीहरुको कक्षा १० सम्मको पढाइ तथा पालनपोषण पालिकाले बेहोर्ने भएको छ।
  • सहिदलखन गाउँपालिकाले सीमान्तकृत चेपाङ र बराम समुदायका बालबालिकाका लागि सिंजाली माविमा छुट्टै आवासीय सुविधा सुरु गर्ने तयारी गरेको छ।

९ भदौ, गोरखा । आर्थिक अवस्था कमजोर भएकै कारण कोही पनि विद्यालय शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले जिल्लाको सहिदलखन गाउँपालिकाले आवाससहित शिक्षा दिने व्यवस्था गरेको छ।

आफ्नो पालिका भित्रका विपन्न बालबालिकालाई लक्षित गरेर गाउँपालिकाले वडा नं ६ घैरुङ बाँसकोटस्थित हिमालय माविमा आवासहित पढ्न पाउने व्यवस्था गरेको हो।

पालिकावासीलाई शिक्षाको अधिकार सुनिश्चित गर्न हिमालय माविमा आवासीय शिक्षाको व्यवस्था गरेको पालिकाका अध्यक्ष रमेश थापा मगरले जानकारी दिए।

‘पालिकाभित्रका अनाथ, असहाय र आर्थिक रुपमा विपन्न बालबालिकाहरुलाई सुरक्षित आवाससहित गुणस्तरीय शिक्षा दिने उद्देश्यले छात्रावास सञ्चालनमा ल्याएका हौँ’, अध्यक्ष थापाले भने।

हाल गाउँपालिकाको हिमालय माविस्थित छात्रावासमा १३ जना बालबालिकाहरु आश्रित छन् । उनीहरुको कक्षा १० सम्मको शिक्षा र पालनपोषण सबैको जिम्मेवारी गाउँपालिकाले बेहोर्ने अध्यक्ष थापाको भनाइ छ ।

पालिकाभित्रका विपन्न बालबालिकाहरुका लागि आइतबारबाट सुरक्षित आवासीय शिक्षा सञ्चालनमा ल्याएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए।

उनका अनुसार विपन्न बालबालिकाका लक्षित आवासीय शिक्षा कार्यक्रममा लागि पालिकाले आर्थिक वर्ष २०८२÷०८३ मा रु १० लाख विनियोजन गरेको थियो। सोही रकमले हिमालय माविको रित्तो भवनमा छात्र र छात्राहरुका लागि छात्रावास, शौचालय र मेसको व्यवस्थापन गरेको उनले जानकारी दिए।

‘छात्रावास व्यवस्थापनको काम गत असारमै सकिएको थियो तर बर्खे बिदा र विद्यार्थीहरुको प्रथम त्रैमासिक परीक्षाका कारण सञ्चालनमा ल्याउन ढिला भयो’ उनले भने।

गाउँपालिकाले २० जना बालबालिका क्षमताको छात्रावास सञ्चालनमा ल्याएको छ । त्यसलाई आवश्यकताअनुसार बढाउँदै लैजाने शिक्षा अधिकृत खनालले बताए।

पारिवारिक अवस्थाका कारण अध्ययन गर्न नसकेका र संरक्षकको आवश्यकता भएका बालबालिकाहरुलाई पालिकाले आवेदन माग गरी छनोट गरेको थियो। छनोट भएका बालबालिकाहरु अधिकांशको आमा, बुबा नभएका वा भएकाहरुले दोस्रो विवाह गरेका र पारिवारिक अपहेलनामा परेका रहेको पालिकाले जनाएको छ।

सहिदलखन गाउँपालिकाले सीमान्तकृत चेपाङ र बराम समुदायका बालबालिकाहरुको लागि सिंजाली माविमा छुट्टै आवासीय सुविधासहित पठनपाठन गर्ने तयारी गरेको छ। विद्यालयको भवन निर्माण कार्य सम्पन्न भए लगत्तै आगामी शैक्षिक सत्रबाट उक्त सेवा सञ्चालन गर्ने गाउँपालिकाको योजना छ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?