+
+
Shares

‘पलेँटी’ मा गुञ्जदै छन् नीर शाहका गीत

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १५:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालयको आरशालामा हुने ‘पलेँटी’मा यसपाली गीतकार तथा अभिनेता नीर शाह प्रस्तुत हुने भएका छन् ।
  • शाहद्वारा रचित झण्डै डेढ दर्जन गीत मीना पोखरेल र रुपक चौधरीले गाउनेछन् ।
  • कार्यक्रम यही अगष्टको अन्तिम शुक्रबार र शनिबार, २८ र २९ तारिखमा हुनेछ ।

काठमाडौं । हरेक अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपालयको आरशालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम ‘पलेंटी’मा यसपाली गीतकार तथा अभिनेता नीर शाह प्रस्तुत हुने भएका छन् ।

कार्यक्रममा शाहद्वारा रचित झण्डै डेढ दर्जन गीतहरू समावेश गरिएका छन्, जसलाई पलेँटीका कण्ठशिल्पी मीना पोखरेल र रुपक चौधरीले गाउने छन् । ‘पलेँटी’ कार्यक्रम आजभन्दा झण्डै २२ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम हो ।

शाह लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील रहँदै आएका परिचित अभिनेता तथा निर्देशक हुन् । उनको कलाकारितामा गीति सृजनाको पनि महत्वपूर्ण भूमिका छ । शाहले रचना गरेका गीतले लामो समयदेखि नेपाली संगीत संसारलाई तरङ्गित बनाउँदै आएका छन् ।

उनले रचेका गीतमा ‘पर्खी बसेँ आउला भनी, कहिले काहीँ म हाँस्छु, गहिराईमा डुब्दै नडुब, अधरको मुस्कान त केही होइन, बादल बनाई देऊ, हिउँभन्दा चिसो लगायतका अनेक गीतहरू छन् ।

शाहले गैर फिल्मी गीतमा जसरी कलम चलाएका छन् त्यत्तिकै सशक्त ढंगले फिल्मी गीतमा पनि कलम चलाएका छन् । शाहले रचना गरेका फिल्मी गीतमा आँखैमा कसैको तस्वीर बसेछ, जति निर्मल, छोरी मलाई भागी भागी, यो साँझ यो सुवास लगायतका गीत लोकप्रिय छन् ।

यसपाली पलेँटीमा प्रस्तुत हुने शाहका रचनामा सङ्गीतकार नातिकाजी, शम्भुजित बासकोटा, सिके रसाइली र दीप श्रेष्ठहरूले धुन भरेका गीत समेटिएका छन् ।

पलेँटी निम्ति तयारी गरिरहेको साङ्गीतिक टिम माझ भेटिएका गीतकार शाह आगामी कार्यक्रम बारे टिप्पणी गर्दै भन्छन्, ‘संगीत नाट्य विधासँग म यसरी नजिक छु कि सङ्गीतको सानो ध्यान वा ठूलो कन्सर्ट भइरहेको ठाउँ उत्तिकै प्रिय लाग्छ । पलेँटीको पूर्वाभ्यासमा सहभागी हुन आइपुगेँस गायक वाद्यवादक सबै प्रतिभा सम्पन्न हुनुहुँदो रहेछ । गौरवशाली इतिहास हो यो । उहाँहरूको प्रतिभासित प्रत्यक्ष साक्षी हुने मौका पाउँदा उत्साहित बनेको छु ।’

आफ्नो अनुभवको सम्झना गर्दै शाह अगाडि भन्छन्, ‘नारायणगोपाल दाइको लाइभ कन्सर्ट गरेको सम्झना छ । त्यो मेरो दायित्व थियो । त्यस्तै प्रकृतिको पलेँटीलाई जीवनका महत्वपूर्ण शृंखलामध्ये एक हो भन्ने ठानेको छु ।’

कार्यक्रम बारे ‘पलेँटी’ संयोजक आभास भन्छन्, ‘साङ्गीतिक रचनाका तीनवटै विधालाई समेट्ने क्रममा यसपाली गीतकार नीर शाहलाई निम्त्याएका छौँ । संचार र चलिचित्र क्षेत्रका साथै गीति साहित्यमा उहाँको उल्लेख्य योगदान रहेको छ । सृजनात्मक अनुभवसहितको यसपालीको पलेँटी रोमान्चक रहनेमा विश्वस्त छु ।’

पलेँटी कार्यक्रम यही अगष्ट महिनाको अन्तिम शुक्रबार र शनिबार (२८ र २९ तारिख) का दिन आयोजना हुनेछ । आरशालामा उपस्थित हुन असमर्थ सङ्गीतप्रेमीका निम्ति अनलाइनबाटै प्रत्यक्ष हेर्ने व्यवस्था पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?