सधैं झैँ बिहान ५ बजे उठेँ। नानीको स्कुलमा ‘एक्स्ट्रा क्लास’ चलिरहेको थियो। उनी आफ्नो काम सकेर तयार भई ६:३० मा स्कुल पुग्न ६ बजे नै हिँडिन्। मैले पनि उनको लागि स्कुलमै खाना पुर्याउनुपर्ने भएकाले खाना बनाउन थालेँ। खाना बनाएर नानीका लागि टिफिन बक्समा राखेँ, आफूले खाएँ र तयार भएँ।
सधैँभन्दा ५-७ मिनेट छिटो तयार भएकी थिएँ, त्यसैले आज अलि छिट्टै जान्छु भनेर घरबाट निस्किएँ।
घरबाट अलिकति अगाडि सात्तलेको ओरालोमा पुगेकी मात्र थिएँ, फोनको घण्टी बज्यो। स्कुटर साइड लगाएर फोन हेरेँ, बेत्रावतीबाट एक जना दाइले गर्नुभएको रहेछ। केही काम पर्यो होला भनेर उठाएँ। उहाँले बाढी आउने सूचना दिँदै भन्नुभयो, ‘नदी किनारमै कामको सिलसिलामा बसेका मान्छेलाई बाढी आउँदैछ, पाखा लागेर बस्न भनिदिनू न।’
मैले नदी किनारमा रहेकाहरूका नजिकका मान्छेलाई फोनमार्फत जानकारी गराएँ र स्कुल जान भनेर सोलेतर्फ ओर्लिएँ। सोले बजार शान्त थियो। मान्छेहरू आफ्नै धुनमा सामान्य रूपमै बसिरहेका थिए। म अलि अगाडि बढेँ, त्यहाँ पनि मान्छेहरू शान्त नै थिए। ‘बाढी सामान्य नै आउने होला, हामी हिँड्ने बाटो त नदीभन्दा धेरै माथि छ’ भन्ठान्दै म अघि बढेँ।
स्कुल हिँडेका विद्यार्थीहरू आफ्नै सुरमा बिस्तारै जाँदै थिए। बाटोमा एक जना स्टाफ भेटिनुभयो। उहाँले आफ्नो नानीको खाना पनि लगिदिन अनुरोध गर्नुभयो। मैले उहाँको नानीको खाना पनि लिएर स्कुलतर्फ हिँडेँ। बाढी आउने कुनै सङ्केत थिएन, सबै सामान्य तरिकाले नै चलिरहेको थियो।
आँखै अगाडि त्रिशूलीको त्यो वितण्डा
अलि अगाडि बढेर स्कुलनजिकै पुग्दा भने मान्छेको अस्वाभाविक चहलपहल देखेँ। ‘के भयो ?’ भनेर सोधेँ। उनीहरूले बाढीकै कुरा सुनाए। त्यहाँका मान्छेहरू भने निकै नै डराएका थिए। भाग्ने तरखर गर्दै थिए। म पनि स्कुल पुगेँ र नानीहरूलाई खानाको बक्स जिम्मा लगाएँ।
‘एक्स्ट्रा क्लास’ पढाउने शिक्षकहरू पनि खाना खान घर हिँड्ने तयारीमा हुनुहुन्थ्यो। मैले उहाँहरूलाई बाढीको कुरा भनेँ। ‘पोहोरको जस्तै सानो आउने होला, आउँछ जान्छ, डराउन पर्दैन’ भनेर हामीले कुरा गर्यौं।
तर, विद्यालयमै आइपुग्नुभएका एक जना अभिभावकले आत्तिँदै भन्नुभयो, ‘निकै ठूलो बाढी आएको छ रे, सुरक्षित ठाउँमा जाऔं !’

त्यत्तिकैमा अर्को एक जना शिक्षकलाई पनि फोन आएछ, उहाँ पनि आत्तिँदै बाहिर आउनुभयो। हेडसर अर्को एक जना शिक्षकसँग बाहिर अवलोकन गर्न जानुभयो र छिनभरमै फर्केर आउनुभयो।
स्कुलको गेटमै बसेर गफ गरिरहेका हामीले पछाडि फर्केर हेर्दा त अति नै ठूलो बाढीले हाइटेन्सन लाइनका पोलहरू ढाल्दै, पक्की पुल बगाउँदै आएको देख्यौं। हामी आत्तियौं र विद्यार्थीहरूलाई चिच्याएर बोलायौं। स्कुलमा आइपुगेका साना–साना नानीहरूलाई काम गर्ने दिदीहरूले बोकेर सुरक्षित ठाउँमा लैजानुभयो। हामी पनि भाग्यौं।
स्कुलको मुख्य गेटबाट भाग्न आँट आएन। आपत्कालीन गेट डाँडापट्टि थियो, त्यहीँबाट विद्यालयमा आइपुगेका र बाहिर देखिएका सबै विद्यार्थीलाई भगाउन सफल भयौं। डाँडामा पुगेर फर्केर हेर्दा स्कुलको गेटभित्र पनि बाढी पसिसकेको थियो।
बगर बनेको गाउँ र रुवाइ
डाँडामा बसेर त्रिशूलीको वितण्डा हेर्नुको विकल्प थिएन, हेरिरह्यौं। गाउँ, बस्ती, विद्यालयहरू, बिजुलीका पोलहरू छिनभरमै ध्वस्त भए। कति विद्यार्थी बिहानी क्लास सकेर खाना खान घरतर्फ जाँदै थिए, बाटोमै आएको बाढीमा उनीहरू विलीन भए।
एकैछिन अगाडि बोलेर आएकाहरूलाई बगाएको खबर साँझतिर मात्रै सुनियो। आफन्तलाई फोन गरेर सुनाउन खोज्दा बोलीभन्दा पहिला रुवाइ आयो। आफूले टेकेको माटो, घुमेको ठाउँ बगर बनेको थियो। बोलेका मान्छे, आफन्त सबैलाई एकैछिनमा बाढीले निलेको थियो। बिजुलीका पोल ढलेकाले लाइन थिएन। कसैसँग राम्ररी सम्पर्क हुन सकेको थिएन।
दिनभरि हामी शिक्षक साथीहरू विद्यालयमा भएका विद्यार्थीलाई अभिभावकको जिम्मा लगाउने काममा व्यस्त रह्यौं। सबैजसोलाई अभिभावकको जिम्मा लगायौं। जस–जसको घर बग्यो र अभिभावकसँग सम्पर्क गराउन सकिएन, उनीहरूलाई बस्ने व्यवस्था गरियो।
प्रकृतिको निष्ठुरता र एउटा गहिरो घाउ
आफू त सुरक्षित थियौं, तर छिमेकी र आफन्तहरू सम्पर्कविहीन थिए। जति सम्झ्यो, उति मन भक्कानिएर आउँछ। दिमागमा त्यही दिनको सम्झना मात्रै फनफनी घुम्छ। फेरि सामान्य बन्न सकिएला कि नसकिएला ! जति सम्झ्यो, उति गाह्रो हुन्छ। प्रकृति यति धेरै निष्ठुरी हुन सक्छ भनेर कुनै दिन सोचिएकै थिएन।
साथीभाइ, इष्टमित्रहरूले चिन्ता व्यक्त गर्दै फोन सम्पर्क गर्न खोज्नुभएको रहेछ। चिन्ता व्यक्त गर्नुहुने सबैप्रति म हार्दिक आभार व्यक्त गर्दछु। घर अनि काम गर्ने ठाउँ सुरक्षित भए पनि हिँड्ने बाटो, पुल सबै सकिएको छ। बजार जोड्ने पुल नहुँदा आफन्तजनमा अन्योलको अवस्था छ।
यस विषम परिस्थितिमा उद्धार कार्यमा संलग्न हुनुहुने सम्पूर्णप्रति उच्च सम्मान छ; उहाँहरूले आफ्नो ज्यानको पर्वाह नगरी सक्दो गरिरहनुभएको छ।
यो भदौ १० गतेले दिएको घाउ सायदै कहिल्यै पुरिएला।
प्रतिक्रिया 4