News Summary
Generated by OK AI. Editorially reviewed.- १० भदौको बाढीले रसुवागढीदेखि मुग्लिनसम्म कम्तीमा ३५ पुल बगाएको सडक विभागले जनाएको छ ।
- रसुवा अझै राष्ट्रिय सडक सञ्जालमा जोडिन नसकेको र तत्काल बेलिब्रिज जडान गर्न कम्तीमा एक महिना लाग्न सक्ने सडक विभागले बताएको छ ।
- सडक विभागले मुख्य राजमार्ग खुलाउन देवीघाट, त्रिशूली बजार र बेत्रावतीमा बेलिब्रिज राख्ने तयारी गरेको छ ।
१४ भदौ, काठमाडौं । १० भदौको विनाशकारी बाढीले रसुवागढीस्थित मितेरी पुलदेखि मुग्लिनसम्म कम्तीमा ३५ पुल पूर्णरूपमा बगेका छन् ।
बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवा व्यावहारिक रूपमा अझै पनि राष्ट्रिय सडक सञ्जालमा जोडिन सकेको छैन । प्राविधिक रूपमा वैकल्पिक मार्ग खुले पनि यातायात सहज छैन ।
हेलिकप्टरबाट रसुवाका ग्रामीण भेगसम्म राहत र उद्धार समेत कठिनाइ भइरहेको समयमा सडक यातायात विकल्प सहज नहुँदा बाढी प्रभावित स्थानीय थप पीडामा छन् ।
यस्तो अवस्थामा सरकारमाथि तत्काल यातायात खुलाउने दबाब छ । तर, यो काम तत्काल सम्भव देखिँदैन । सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार अहिलेको बाढीले साविकका पुलको पूरै संरचना बगाएको छ । यतिसम्मकी ती पुल भएको स्थानसमेत पूर्णतया बगेको अवस्था छ ।
सोहीकारण तत्काल सबै पुल सञ्चालनमा ल्याउन सक्ने अवस्था छैन । अहिले बगेका पुलको अवस्था के छ भनेर अध्ययनमा सम्बन्धित स्थानमा पुग्न सक्ने वातावरण समेत बनिसकेको छैन । त्यसकारण अहिले तत्कालै बेलिब्रिज समेत राखेर सडक यातायात खुल्ने सम्भावना नरहेको उनले बताए ।
उता, स्थानीय स्तरमा भने सडक सञ्जालमा छिटो जोड्न माग भइरहेको छ । रसुवा कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेसँगको टेलिफोन कुराकानीमा जिल्लालाई तत्काल सडक सञ्जालमा जोड्न आवश्यक रहेको बताए ।
नुवाकोट बेलकोटगढी गाउँपालिका अध्यक्ष जगतबहादुर गुरुङले वैकल्पिक सडक तत्काल खोल्न माग गरेका छन् ।

बेलिब्रिज जोड्न छिटोमा कति समय लाग्छ ?
सडक विभाग महानिर्देशक जैसीका अनुसार पुलको दुवैतर्फको फाउन्डेसन सकुशल रहेको अवस्थामा कम्तीमा १५ दिनमा एउटा बेलिब्रिज जडान गर्न सम्भव हुन्छ ।
विगतमा समेत नेपाली सेनाले दुई साता अवधिमा बेलिब्रिज जोडेर सञ्चालनमा ल्याएको अनुभव छ । तर, पुलको दुवैतर्फ नयाँ फाउन्डेसन तयार गर्नुपर्ने अवस्थामा भने थप १५ दिन लाग्छ । यस हिसाबले वर्तमान बाढीले गरेको क्षतिमा तीव्र गतिमा बेलिब्रिज जडान गर्न कम्तीमा एक महिना लाग्ने उनले जानकारी दिए ।
बढीमा तीन स्थानमा मात्र बेलिब्रिज राख्ने तयारी
सडक विभागले क्षतिग्रस्त पुल सबैमा तत्काल बेलिब्रिज राख्ने योजना बनाएको छैन । ‘हाम्रो प्राथमिकता राष्ट्रिय सडक सञ्जाललाई तत्काल खुलाउने हुनेछ,’ उनी भन्छन्, ‘सोही क्रममा सबैभन्दा अत्यावश्यक स्थानमा मात्र बेलिब्रिज जडान हुन्छ ।’
अन्य स्थानमा भने वैकल्पिक सडक स्तरोन्नति गरी यातायात सञ्चालनमा ल्याइने उनले जानकारी दिए । सोही अनुसार धादिङबेँसी जोड्ने वैकल्पिक सडक पुन: सुरु गरिएको उनले बताए ।

उनका अनुसार यसअघि देवीघाटस्थित त्रिशूली नदीमाथिको तादी खोला पुल बगेको स्थानमा बेलिब्रिज राख्ने तयारी छ । दोस्रो पुल त्रिशूली बजारमा पुरानो पुल रहेको स्थानमा राख्ने तयारीमा सडक विभाग छ । तेस्रो पुल नुवाकोट र रसुवा जोड्ने बेत्रावतीमा जडान गर्ने तयारीमा सडक विभाग छ ।
‘यी तीन स्थानमा बेलिब्रिज जोड्दा मुख्य राजमार्ग सञ्चालनमा आउँछ,’ उनले भने, ‘त्यसपछि बाँकी पुल प्राविधिक अध्ययन र आवश्यकताका आधारमा स्थायी प्रकृतिमै निर्माण हुनेछन् ।’
पर्याप्त छैनन् बेलिब्रिज, भारत र चीनसँग मागियो
अहिले नेपाल सरकारसँग कुल ५० मिटर लम्बाइका ११ थान बेलिब्रिज छन् । अहिले त्रिशूली नदीको बाढीले पुलका लागि आवश्यक जमिन धेरै कटान गरेका कारण साविकको तुलनामा लामो पुल बनाउनुपर्ने हुन्छ ।
सोहीकारण सरकारले भारत र चीनसँग बेलिब्रिज सहयोग मागेको छ । चीनसँग ३० वटा बेलिब्रिज माग गरिएको अर्थ मन्त्रालयको विवरणमा देखिन्छ ।
सामान्यतया बेलिब्रिज साँघुरो स्थानमा अल्पकालीन यातायात सञ्चालनमा प्रयोग गरिन्छ । यस पटक नदीले किनारमा व्यापक कटौती गर्दा लामो बेलिब्रिज आवश्यक देखिएको हो ।
बाढीले मितेरीपुलदेखि मुग्लिनसम्म कहाँ-कहाँ बगायो पुल ?
सडक विभागको तथ्यांक अनुसार नेपाल–चीन सीमास्थित मितेरी पुलदेखि मुग्लिनको पुरानो सस्पेन्सन पुलसम्म प्रभावित बनेका छन् । मितेरी पुल पूर्णरूपमा बगेको छ भने मुग्लिन पुल जोगिएको छ ।
रसुवामा टिमुरेस्थित दुई बेलिब्रिज बगेका छन् । रसुवा भोटेकोशी पक्की पुल बगेको छ । रसुवामै चिलिमे पक्की पुलसमेत बाढीको शिकार भएको छ । रसुवाकै स्याफ्रुबेँसीमा हाइड्रोपावर बेलिब्रिज बगेको छ । सोही स्थानको पक्की पुलसमेत बाढीका कारण बगेको सडक विभागको तथ्यांक छ ।

रसुवामै हाकु प्रथम र हाकु द्वितीय बेलिब्रिज बगेका छन् । माथिल्लो त्रिशूली हाइड्रोमा बनेको बेलिब्रिज र मैलुङ बेलिब्रिज समेत पूर्णरूरुपमा बगेको छ ।
रसुवाको मैलुङमा त्रिशूली-३ ‘ए’ ड्याम नजिकको पक्की पुलसमेत बगेको छ । यसैको ड्याम २ नजिकको पक्की पुल पनि बगेको छ । खाल्टेस्थित रसुवा–नुवाकोट सीमा भोटेकोशी नदी पुल पूर्णरूपमा बगेको छ । साथै, बेत्रावतीको पुरानो र नयाँ दुवै पक्की पुल बाढीमा बगेको छ ।
नुवाकोटतर्फ त्रिशूली तुप्चेस्थित पक्की पुल पूर्णरूपमा बगेको छ । त्रिशूली बजारको पुरानो र नयाँ दुवै पक्की पुल बाढीको चपेटामा परेका छन् । सिमचौरस्थित त्रिशुली नदीको पक्की पुलसमेत पूर्णरूपमा बगेको छ ।
त्यस्तै देवीघाटस्थित झोलुङ्गे पुल बगेको छ । देवीघाटस्थित त्रिशूली नदीको पक्की पुलसमेत बगेको छ । देवघाटको तादी खोलाका पुरानो र नयाँ दुवै पक्की पुल बगेको छ ।
यसैगरी श्रीखालीस्थित त्रिशूली नदीको पुल बाढीमा परेको छ । बुद्धसिंहघाटस्थित त्रिशूली नदीमाथिको पुल बगेको छ । रातमाटेको त्रिशूली नदीमाथिको पुल बाढीको चपेटामा परेको छ । केउरेनीस्थित त्रिशूली नदीमाथिको पुल समेत बाढीले बगाएको छ ।
धादिङमा गल्छी नजिक त्रिशूली नदीमाथिको पुल भने जोगिएको अवस्था छ । गल्छीभन्दा तल बैरेनी–सल्यानटार सडकमा त्रिशूली नदीमाथि बनेको पुल भने बाढीमा बगेको छ ।
ह्यामलेट रिसोर्ट नजिकै त्रिशूली नदीमाथिको पक्की पुल क्षतिग्रस्त बनेको छ । धादिङकै जरे बगैँचास्थित त्रिशूली नदीमाथिको पुल बाढीले बगाएको छ । धादिङ घाटबेँसीस्थित त्रिशूली नदीमाथिको पुल बगेको छ । धादिङकै कोल्पु खोलाका नयाँ र पुरानो दुवै पुल क्षतिग्रस्त बनेका छन् ।
धादिङकै मलेखुस्थित फुर्के खोला पुल बगेको छ । बेनीघाटस्थित त्रिशूली नदीमाथिको पुल भने जोगिएको छ । फिस्लिङस्थित त्रिशूली नदीमाथिको पुल भने जोगिएको छ ।
यसबाहेक चितवन चुम्लिङटारस्थित बेलिब्रिज र मुग्लिनस्थित नयाँ आर्क ब्रिज र पुरानो सस्पेन्सन ब्रिजसमेत बाढीबाट जोगिएको अवस्थामा रहेको सडक विभागले आफ्नो तथ्यांकमा राखेको छ ।
प्रतिक्रिया 4