+

विपद्‍पछि देखिने हरेक मानसिक प्रतिक्रिया रोग होइन

२०८३ भदौ  १८ गते १६:२५ २०८३ भदौ १८ गते १६:२५
Shares
विपद्‍पछि देखिने हरेक मानसिक प्रतिक्रिया रोग होइन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विपद्पछि डर, निद्रा नलाग्ने, बारम्बार सम्झिने वा खालीपन महसुस हुनु स्वाभाविक मानसिक प्रतिक्रिया हुन सक्ने र यसलाई रोग ठान्न नहुने लेखमा उल्लेख छ।
  • बालबालिकामा विपद्को असर गहिरो हुन सक्ने र लामो समय डर, चिन्ता, निराशा वा आत्महानिको विचार आए मानसिक स्वास्थ्य विशेषज्ञको सहयोग लिनुपर्ने लेखमा भनिएको छ।

विपद् आउँदा हाम्रो पहिलो प्राथमिकता स्वाभाविक रूपमा जीवन बचाउनु हो। बाढी, पहिरो वा डुबानका बेला उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण, खाना, पानी, औषधि र आश्रयको व्यवस्था अत्यन्त आवश्यक हुन्छ। तर विपद्को प्रभाव यतिमै सीमित हुँदैन । पानीको सतह घट्दै जान्छ, सडक खुल्न थाल्छन्, घरहरू सफा गरिन्छन् र राहतका सामग्री पुग्न थाल्छन्; तर कतिपय मानिसको मनमा भने विपद् त्यहीँ रोकिँदैन।

आफ्नो आँखाअगाडि घर डुबेको देख्नु, परिवारको सदस्य हराउनु, आफन्तको मृत्युको खबर सुन्नु, रातभर उद्धारको प्रतीक्षामा बस्नु, आफूलाई समेत मृत्युको नजिक पुगेको महसुस गर्नु वा वर्षौँको मेहनतले जोडेको सम्पत्ति एकैछिनमा गुमाउनु यी सामान्य अनुभव होइनन्।

यस्ता घटनापछि मानिसमा डर लाग्ने, आत्तिने, धेरै रुने, निद्रा नलाग्ने वा बारम्बार त्यही घटना सम्झिरहने जस्ता समस्या देखिन सक्छन् । कसैलाई भविष्यलाई लिएर निकै चिन्ता वा निराशा हुन सक्छ । केही मानिसलाई केही महसुस नै नहुने, खाली–खाली जस्तो लाग्न सक्छ । यी सबै प्रतिक्रियालाई कमजोरीका रूपमा लिनु हुँदैन । यस्तो असामान्य र कठिन परिस्थितिपछि मानिसको मनले देखाउने स्वाभाविक प्रतिक्रिया हुन सक्छ ।

यो अवस्थामा ‘साइकोलोजिकल फर्स्ट एड’ (पीएफए) अर्थात् मनोवैज्ञानिक प्राथमिक सहायता, महत्वपूर्ण हुन्छ।

पीएफए मानसिक रोगको उपचार होइन

पीएफए लाई धेरैले मनोपरामर्श वा मनोचिकित्सा जस्तै बुझ्ने गर्छन् । पीएफए यी दुवैभन्दा फरक हो । यो मानसिक रोगको उपचार गर्ने प्रक्रिया होइन, बरु विपद् वा अत्यन्त तनावपूर्ण परिस्थिति भोगिरहेको व्यक्तिलाई तत्काल दिइने प्रारम्भिक मनोसामाजिक सहयोग हो।

विपद्को समयमा मानिस डराएको, आत्तिएको, अन्योलमा परेको वा गहिरो दुःख महसुस गर्न सक्छ । यस्तो अवस्थामा पीएफएको मुख्य उद्देश्य उसको समस्या तुरुन्तै समाधान गरिदिनु होइन । बरु, उसलाई सुरक्षित महसुस गराउनु, उसको तत्काल आवश्यकता बुझ्नु, शान्त रूपमा साथ दिनु र आवश्यक परे उचित सहयोग तथा सेवासँग जोड्नु हो।

यस क्रममा व्यक्तिलाई आफ्नो अनुभव जबरजस्ती सुनाउन लगाउनु आवश्यक हुँदैन । कहिलेकाहीँ पीडित व्यक्तिलाई धेरै प्रश्न वा सल्लाहभन्दा पनि कसैले धैर्यपूर्वक उसको कुरा सुनिदिनु र आफू एक्लो नभएको महसुस गराउनु बढी महत्वपूर्ण हुन्छ।

रोग होइन मानसिक प्रतिक्रिया

विपद्पछि हरेक व्यक्तिले एउटै किसिमको प्रतिक्रिया दिँदैन । कसैलाई धेरै डर लाग्न सक्छ, कसैलाई बारम्बार रुन मन लाग्न सक्छ भने कसैलाई केही समयसम्म केही महसुस नै नहुने वा खाली–खाली जस्तो लाग्न सक्छ। कोही आफ्नो अनुभवबारे धेरै बोल्न सक्छन् भने कोही चुपचाप बस्न चाहन सक्छन्।

लक्षण देखिन सक्छन् यस्ता लक्षण

–निद्रा नलाग्ने वा पटक–पटक ब्युँझिने

–बाढी वा विपद्को दृश्य बारम्बार सम्झना आउने

–पानी, वर्षा वा ठूलो आवाजसँग डर लाग्ने

–अत्यधिक चिन्ता वा आत्तिने

–परिवारका सदस्यसँग छुट्टिन डराउने

–घटनाप्रति आफूलाई दोष दिने

–पढाइ, काम वा दैनिक गतिविधिमा ध्यान दिन गाह्रो हुने

–भविष्यप्रति अत्यधिक निराश वा असुरक्षित महसुस गर्ने

–केही समयसम्म खाली–खाली वा केही महसुस नै नहुने जस्तो लाग्ने

यीमध्ये केही प्रतिक्रिया देखिँदैमा व्यक्तिलाई मानसिक रोग लागेको भन्न मिल्दैन। यस्ता प्रतिक्रियाको तीव्रता र अवधि व्यक्तिअनुसार फरक हुन सक्छ । विपद् जस्तो कठिन अनुभवपछि केही समयसम्म यस्तो हुनु मानिसको स्वाभाविक प्रतिक्रिया हुन सक्छ । जसरी शरीरलाई चोटपटकपछि निको हुन समय लाग्छ, त्यसरी नै मनलाई पनि यस्तो अनुभवबाट सम्हालिन समय लाग्न सक्छ।

तर यी समस्या लामो समयसम्म रहिरहे, झन् बढ्दै गए वा व्यक्तिको दैनिक जीवन, काम, पढाइ, सम्बन्ध वा सुरक्षामा गम्भीर असर पार्न थाले भने मानसिक स्वास्थ्य विशेषज्ञको सहयोग लिनु आवश्यक हुन सक्छ।

विपद‍मा परेको व्यक्तिलाई घटनाको विवरण जबरजस्ती सुनाउन लगाउनु आवश्यक हुँदैन । व्यक्ति आफैँ कुरा गर्न चाहन्छ भने धैर्यपूर्वक र बिना निर्णय उसको कुरा सुन्नु महत्वपूर्ण हुन्छ । उसको भावनालाई तुरुन्तै समाधान गर्ने, अनावश्यक सल्लाह दिने वा ‘बलियो बन्नुपर्छ’ भनेर दबाब दिनेभन्दा पहिले उसको अनुभव र आवश्यकतालाई बुझ्नु महत्वपूर्ण हुन्छ। व्यक्ति कुरा गर्न नचाहेमा त्यसलाई पनि सम्मान गर्नुपर्छ।

विपद्को समयमा विपद्को समयमा पीएफएलाई सरल रूपमा हेर्ने, सुन्ने र जोड्ने तीन आधारबाट बुझ्न सकिन्छ । यसको उद्देश्य संकटमा परेको व्यक्तिलाई सुरक्षित महसुस गराउनु र आवश्यक सहयोगसम्म पुर्‍याउनु हो।

यसको अर्को महत्वपूर्ण पक्ष भनेको व्यक्तिलाई आवश्यक सहयोग र सेवासँग जोड्नु हो । कसैलाई औषधि आवश्यक छ भने स्वास्थ्य सेवासँग जोड्ने, परिवारबाट छुट्टिएको व्यक्तिलाई परिवारसँग सम्पर्क गराउन सहयोग गर्ने, बालबालिकालाई सुरक्षित अभिभावक वा विश्वासिलो व्यक्तिसँग राख्ने र गम्भीर मानसिक समस्या देखिएमा मानसिक स्वास्थ्य विशेषज्ञसँग जोड्ने।

पीएफए दिने व्यक्तिले सबै समस्या आफैँ समाधान गर्नुपर्दैन; आफ्नो भूमिका र सीमालाई बुझ्दै आवश्यक सेवासँग जोड्नु नै यसको महत्वपूर्ण हिस्सा हो ।

हाम्रो समाजमा कसैलाई दुःख परेको बेला हामी प्रायः ‘नरोऊ’, ‘बलियो हुनुपर्छ’, ‘सबै ठीक हुन्छ’ जस्ता कुरा भन्ने गर्छौँ । यी कुरा राम्रो मनसायले भनिए पनि पीडित व्यक्तिले आफ्नो दुःख वा भावनालाई बुझिएन भन्ने महसुस गर्न सक्छ । त्यसको सट्टा ‘तपाईंलाई अहिले निकै गाह्रो भइरहेको रहेछ’, ‘तपाईं कुरा गर्न चाहनुहुन्छ भने म सुन्छु’ वा ‘अहिले तपाईंलाई जे आवश्यक छ, त्यसका लागि हामी मिलेर सहयोग खोजौँ’ भन्न सकिन्छ । बाढी वा अन्य विपद्को प्रभाव बालबालिकामा पनि गहिरो हुन सक्छ । तर उनीहरूले आफ्नो अनुभव वयस्कले जस्तो शब्दमा व्यक्त गर्न नसक्न सक्छन् ।

यस्तो अवस्थामा बच्चा अचानक आमाबुबासँग टाँसिन सक्छ, एक्लै बस्न डराउन सक्छ, राति ओछ्यानमा पिसाब गर्न सक्छ, निदाउन समस्या हुन सक्छ वा बारम्बार एउटै प्रश्न सोध्न सक्छ । त्यसैले बच्चालाई गाली गर्नु वा ‘ठूलो भइसक्यौ, डराउनु हुँदैन’ भन्नु उचित हुँदैन । बरू उसको उमेरअनुसार सरल भाषामा कुरा गर्ने, सकेसम्म नियमित दिनचर्या कायम गर्ने, अभिभावक वा विश्वासिलो व्यक्तिको साथमा राख्ने गर्नुपर्छ । खेल तथा चित्रमार्फत आफ्ना भावना व्यक्त गर्ने अवसर दिनुपर्छ । बच्चालाई विपद्को अवस्थाबारे उसको उमेरअनुसार सरल, सत्य र आश्वस्त पार्ने जानकारी दिनु पनि महत्वपूर्ण हुन्छ।

कुन अवुस्थामा विशेषज्ञको सहयोग लिने

सबै बाढीपीडितलाई परामर्श आवश्यक हुन्छ भन्ने छैन । धेरै मानिसले परिवार, साथीभाइ, समुदाय र सुरक्षित वातावरणबाट प्राप्त सहयोगमार्फत बिस्तारै आफ्नो जीवन सामान्य अवस्थामा फर्काउन सक्छन् । तर केही अवस्थामा मानसिक स्वास्थ्य विशेषज्ञको सहयोग आवश्यक हुन सक्छ । यदि व्यक्तिमा लामो समयसम्म अत्यधिक डर वा चिन्ता रहिरह्यो, दैनिक काम गर्न कठिन भयो, निद्रामा अत्यधिक समस्या देखियो भने समस्या गहिरो हुन्छ ।

विपद्को घटनालाई बारम्बार सम्झिने वा त्यही घटना फेरि भइरहेको जस्तो अनुभव हुन थाल्यो, अत्यधिक निराशा देखियो, लागूपदार्थ वा अन्य पदार्थको प्रयोग बढ्यो वा आफूलाई हानि पुर्‍याउने विचार आयो भने मानसिक स्वास्थ्य विशेषज्ञसँग सम्पर्क गर्नु आवश्यक हुन्छ । यस्तो अवस्थामा ‘समयसँगै आफैँ ठीक हुन्छ’ भनेर मात्र पर्खनु उचित हुँदैन।

नेपालमा विपद् व्यवस्थापनको चर्चा गर्दा हामी प्रायः उद्धार, राहत र पुनर्निर्माणलाई केन्द्रमा राख्छौँ । यी सबै अत्यन्त महत्वपूर्ण छन् । तर विपद्को वास्तविक पुनर्स्थापना त्यतिबेला मात्र पूर्ण हुन्छ, जब मानिसले आफ्नो जीवन पुनः सुरक्षित र अर्थपूर्ण रूपमा अघि बढाउन सक्ने अवस्था पाउँछ।

उपचार मानसिक समस्या रसुवा बाढी
ऋचा खड्का
लेखक
ऋचा खड्का
क्लिनिकल साइकोलोजिस्ट

क्लिनिकल साइकोलोजिस्ट खड्का काठमाडौँको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्यूरो हस्पिटलमा कार्यरत छिन् ।क्लिनिकल साइकोलोजीमा एमफिल समेत गरेकी उनको स्वास्थ्य व्यवसायिक परिषद् नम्बर ३३ हो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय