News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड अभिनेता सोनु सुद बुधबार भोटेकोशी बाढी प्रभावितलाई सहायता पुर्याउन नुवाकोट पुगेका छन् ।
- उनले घरबारविहीन बाढी प्रभावितका लागि ‘एक घर बनाउने संकल्प’ अभियानको प्रस्ताव गरेका छन् ।
- उनको संस्था र साझेदार टोलीले २ हजार कम्बल, लत्ताकपडा, सुक्खा खाद्यान्न र महिला स्वास्थ्य सामग्री नेपाल पठाइसकेको छ ।
काठमाडौं । बलिउड अभिनेता सोनु सुद भोटेकोशी बाढी प्रभावितलाई सहायता पुर्याउन बुधबार नुवाकोट पुगेका छन् । उनीसँगै मुम्बईबाट आएको सहायता टोली प्रभावित थलो पुगेको हो ।
त्यसअघि उनले काठमाडौंको एक गुम्बामा आश्रय लिएका बाढी प्रभावितलाई भेटेका थिए । उनले आश्रित बालबालिकालाई भेटेको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।
मंगलबार काठमाडौं आइपुग्ने वित्तिकै उनले नेपाली संचारकर्मीसँग कुराकानी गरे । उनले बाढीका कारण घरबारविहीन बनेका नागरिकको आवास निर्माणका लागि ‘एक घर बनाउने संकल्प’ अभियानको प्रस्ताव गरे ।
‘नेपाल अहिले निकै कठिन समयबाट गुज्रिरहेको छ । यो बेला अगाडि आएर सक्दो सहयोग गर्नु हामी सबैको मानवीय दायित्व हो’, सूदले भने, ‘टाढाबाट सहयोग पठाउनुभन्दा आफैँ उपस्थित भएर पीडितको हात समात्दै हामी तपाईंको साथमा छौँ भन्ने ढाडस दिनुको प्रभाव धेरै ठूलो हुन्छ । म केवल मद्दत गर्न मात्र होइन, आफ्नो जिम्मेवारी पूरा गर्न यहाँ आएको हुँ ।’
उनको संस्था ‘सूद च्यारिटी फाउन्डेसन’, लायन्स क्लब र खाल्सा एडको संयुक्त टोलीले स्थलगत रूपमै पुगेर वास्तविक आवश्यकता पहिचान गरिरहेको छ ।

अहिले भारतबाट दुई हजार थान कम्बल, लत्ताकपडा, सुक्खा खाद्यान्न तथा महिला स्वास्थ्य सामग्री नेपालतर्फ पठाइसकिएको उनले बताए ।
सूदले नुवाकोट लगायतका बाढी प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी शिक्षा, स्वास्थ्य र आवाससम्बन्धी समस्या समाधानका लागि दीर्घकालीन सहयोग योजना बनाउने जानकारी दिए ।
नेपाली नागरिकको आत्मबल र मिहिनेती स्वभावको प्रशंसा गर्दै उनले मुम्बईमा विगत २५/३० वर्षदेखि आफूसँग काम गर्ने अधिकांश व्यक्ति नेपाली नै रहेको उल्लेख गरे । ठूलो विपद्का बीच पनि नेपालीले देखाएको धैर्यता र मुस्कानले आफूलाई थप प्रेरित गरेको उनको भनाइ थियो ।
उनले जलवायु परिवर्तन र वातावरणीय असन्तुलनप्रति चिन्ता व्यक्त गरे । प्रकृतिको दोहन र वनजङ्गल फडानीका कारण विश्वभर यस्ता विपत्ति बढिरहेको उल्लेख गर्दै उनले भावी पुस्ताको सुरक्षाका लागि अहिले नै प्रकृतिको संरक्षणमा गम्भीर हुनुपर्नेमा जोड दिए ।
लायन्स क्लब्स इन्टरनेशनल तथा ‘खाल्सा एड’ सँगको सहकार्यमा मानवीय सहायता जुटाउने उद्देश्यले उनी नेपाल आएका हुन् । विपत्तिको यस कठिन घडीमा नेपाललाई सहयोग गर्न विश्वभर छरिएर रहेका समुदायलाई अपिल गरे ।
यसअघि भारतको पञ्जाबमा आएको बाढीपछि आफ्नो संस्थाले २५७ वटा घर निर्माण गरिदिएको स्मरण गर्दै उनले नेपालमा पनि पहिचान गरिएका स्थानहरूमा आवास निर्माण थालिने जानकारी दिए ।
प्रतिक्रिया 4