News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले रसुवाको भोटेकोशी बाढीपीडितका लागि राहत, उद्धार, मनोपरामर्श र पुनर्निर्माण समन्वय गर्न पार्टीभित्र जिम्मेवारी तोकेको छ।
- सुरुङभित्र फसेका इन्जिनियर र श्रमिकको उद्धारमा सरकारी समन्वय गर्ने जिम्मेवारी मीनबहादुर भामलाई दिइएको छ भने सरकारले अदूरदर्शिता देखाएको कांग्रेसको निष्कर्ष छ।
- कांग्रेसले बाढीपछि जलवायु परिवर्तनको मुद्दा उठाउने, तथ्य जाँच गर्ने टोली बनाउने र पीडित परिवारसँग सम्पर्क तथा सहजीकरण गर्ने समिति गठन गरेको छ।
१७, भदौ, काठमाडौं । नेपाली कांग्रेसले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि राहत, उद्धार, मनोपरामर्श लगायतका कार्यमा सक्रिय हुने गरी पार्टीमा जिम्मेवारी तोकेको छ ।
उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको नीति प्रतिष्ठान प्रतिष्ठानले विपद् व्यवस्थापन उपसमिति अन्तर्गत निर्माण गरेको ‘स्ट्राटिजी रेस्पोन्स टिम (एसआरटी) मार्फतको कार्य गर्ने गरी निर्णय गरेको छ ।
विपद् व्यवस्थापन उपसमितिका संयोजक रहेका मानबहादुर थापा नेतृत्वमा सरकारका निकायहरूसँग समन्वय गरी प्रभावकारी कार्य गर्ने निर्णय गरिएको छ ।
पार्टी केन्द्रीय सदस्य एवं नीति प्रतिष्ठानका उप संयोजक मधु आचार्यले राहत वितरणलाई व्यवस्थित बनाउन सरकारसँग समन्वय गर्ने भूमिका प्राप्त गरेका छन् ।
सुरुङभित्र रहेका इन्जिनियर, श्रमिक लगायतको उद्धारका लागि सरकारी समन्वयमा काम गर्ने गरी पार्टीबाट मीनबहादुर भामलाई जिम्मेवारी तोकिएको छ । सुरुङभित्र फसेकाहरूको उद्धारमा सरकारले अदूरदर्शिता र अकर्मण्यता देखाएको कांग्रेसको निचोड छ ।
विपद्पछिको आवश्यकता आकलन तथा पुनर्निर्माणको खाका बनाउन केन्द्रीय सदस्य एवं नीति प्रतिष्ठान सदस्य प्राध्यापक डा. गोविन्दराज पोखरेलले जिम्मेवारी पाएका छन् । पोखरेलले विज्ञको संलग्नतामा पुर्ननिर्माणको खाका तयार गर्नेछन् । पार्टीले तयार गरेको उक्त प्रतिवेदनलाई सरकारलाई बुझाउने निर्णय गरिएको छ ।
नीति प्रतिष्ठान सदस्य मोहना अन्सारीले मनोसामाजिक परामर्शका लागि समन्वय गर्ने भएकी छन् । साथै, बाढी पीडितका लागि मानसिक स्वास्थ सचेतना अन्सारीको नेतृत्वमा पार्टीले अभियान सञ्चालन गर्ने भएको छ ।
कांग्रेसले सामाजिक सञ्जालमा आएका विषयवस्तुको पनि तथ्य जाँच गर्ने टिम बनाउने भएको छ । नीति प्रतिष्ठान सदस्य प्रकृति भट्टराईको संयोजनमा भ्रमपूर्ण, अतिरञ्जनापूर्ण समाचार लगायतको पहिचान गरिने भएको छ ।
बाढी पिडित बालबालिका उद्वार र पुनर्स्थापना पहलका लागि कार्य गर्ने गरी संयोजन गर्ने गरी जिम्मेवारी उमंग लोहनीले पाएका छन् ।
‘वास्तविक तथ्यांक संकलन र स्थितिको अनुगमन गरेर आवश्यक दृष्टि र योजना निर्माण गर्ने गरी बाल अधिकार उपसमितिलाई सक्रिय तुल्याउने निर्णय बैठकले गरेको छ,’ नीति प्रतिष्ठानको बैठकको निर्णयमा भनिएको छ ।
बाढी पीडित ज्येष्ठ नागरिकको पक्षमा कार्य गर्ने गरी संयोजनको जिम्मेवारी अनुपा श्रेष्ठलाई तोकिएको छ ।
शैक्षिक स्थलहरूको पुनर्स्थापना पहलका लागि पार्टीबाट संयोजन डा.कृष्णप्रसाद पौडेलले गर्ने भएका छन् ।
स्थानीय तहको नेतृत्वमा संघ र प्रदेश सरकारसँगै राजनैतिक दल, अभिभावक, स्थानीय समाज र निजी क्षेत्र पनि संलग्न हुन जरुरी रहेको कांग्रेसको ठहर छ ।
बाढीले पूर्वाधारको क्षेत्रमा पुर्याएको क्षतिका लागि समन्जवयको कार्य गर्ने गरी अमृत लोहनीलाई जिम्मेवारी तोकिएको छ ।
सुरुङभित्र फसेका, जीवन गुमाएका श्रमिक, घाइते, परिवारका सदस्य गुमाएका श्रमिकका लागि कार्य गर्ने गरी केन्द्रीय सदस्य महेन्द्र यादवलाई तोकिएको छ ।
बाढीपछि स्वास्थ क्षेत्रमा आउनसक्ने संकटमा सजगता अपनाउन र पूर्व तयारी गर्न डा. अञ्जनीकुमार झा र डा. केदारनसिंह केसीलाई जिम्मेवारी दिइएको छ ।
बाढी पिडित परिवारसँग सम्पर्क गर्ने व्यक्ति समेत तोकिएको छ । रेशम गुरुङले पीडित परिवार सम्पर्क र सहजीकरण गर्ने जिम्मेवारी पाएका छन् । प्रतिष्ठानले ‘पिडित परिवार सम्पर्क र सहजीकरण समिति’ गठन गरेको छ ।
जलवायुको मुद्दा पार्टीबाट उठाउने गरी पार्टीबाट संयोजनको जिम्मेवारी रोशनी गिरीले प्राप्त गरेका छन् ।
भोटेकोशी बाढी पश्चात उद्वार, राहत र पुनर्स्थापना अभियान सँगसँगै जलवायु चुनौती सामना गर्न अग्रसर हुनुपर्ने निष्कर्ष निकालेको कांग्रेसको निर्णयमा भनिएको छ, ‘हाम्रा सयौं हिमाल जलवायु परिवर्तनको जोखिमसँग जुधिरहेका छन्, अत संसारको अग्लो शिखर सगरमाथाको देशले अब जलवायु परिवर्तनको मुद्दामा साना राष्ट्रहरूको नेतृत्व गरेर ठुला राष्ट्रहरूसँग संवाद र दबाबको नीतिका साथ अघि बढ्नुपर्ने समय आएको छ ।’
प्रतिक्रिया 4