News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिवि शिक्षण अस्पतालले भोटेकोशी बाढीमा फेला परेका पहिचान नखुलेका शव आज पनि गोकर्णमा अस्थायी रूपमा गाड्ने तयारी गरेको छ।
१८ भदौ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालले आज पनि भोटेकोशी बाढीमा फेला परेका शव गोकर्णमा व्यवस्थापन गर्ने तयारी छ । पहिचान नखुलेका शवहरूलाई अस्थायी रूपमा व्यवस्थापन गर्न लागिएको हो ।
त्रिवि शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागका अनुसार हालसम्म १७७ शव व्यवस्थापनका लागि अस्पतालमा ल्याइएको थियो । तीमध्ये १२९ शवको पोस्टमार्टम सम्पन्न भइसकेको छ । ८५ शव अस्थायी रूपमा गाड्न पठाइएको छ भने २१ शव परिवारले पहिचान गरी बुझेर लगेका छन् ।
विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार लामो समयपछि फेला परेका कारण धेरै शव डिकम्पोज्ड अवस्थामा छन् । कतिपय शवको अनुहारसमेत चिन्न नसकिने गरी बिग्रिएका छन् । यसले शवको पहिचान र व्यवस्थापन दुवै जटिल बनेको छ ।
अहिले पहिचान नखुलेका शवको वैज्ञानिक विधिबाट सनाखत गर्ने प्रक्रिया अघि बढाइएको छ । त्यसका लागि मृतकको डीएनए नमुना टिचिङ अस्पतालमै संकलन गरिन्छ भने सम्भावित आफन्तको नमुना महाराजगञ्जस्थित प्रहरी अस्पतालमा संकलन गरिँदैछ । नजिकको रक्तसम्बन्ध भएका आफन्तको नमुनासँग डीएनए मिलान गरेर शवको पहिचान गर्ने प्रक्रिया अपनाइएको छ ।
शवको संख्या अस्पतालको क्षमताभन्दा बढी भएपछि भण्डारण व्यवस्थापनमा समेत ठूलो समस्या भएको छ । टिचिङ अस्पतालमा करिब १५० शव राख्न सक्ने क्षमता भए पनि त्योभन्दा बढी शव आइसकेका छन्।
डिकम्पोज्ड शव खुला ठाउँमा राख्न नमिल्ने भएकाले शवगृहमा चाप बढेको हो । ठाउँ अभाव भएपछि यसअघि पनि केही शव पशुपतिको चिस्यान गृहमा पठाउनुपरेको थियो ।
पोस्टमार्टम सम्पन्न भइसकेका तर पहिचान खुल्न नसकेका शवलाई आवश्यक डीएनए नमुना संकलन तथा कानुनी प्रक्रिया पूरा गरेपछि अस्थायी व्यवस्थापनका लागि गोकर्णतर्फ पठाउने गरिएको छ ।
प्रतिक्रिया 4