News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको बाढीपछि चीन, भारत, अष्ट्रेलिया, कतार र अन्य देशले ल्याएका राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संकलन गरी वर्गीकरण गरेर पठाइँदैछ।
- अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालको संयोजकत्वमा बनेको टोलीले औषधि, मेडिकल उपकरण, टेन्ट, म्याट्रेस र शव व्यवस्थापनका किट नुवाकोट र रसुवामा पठाइरहेको छ।
- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सामाखुसीस्थित राधास्वामी सत्संग भवनमा संकलन केन्द्र खोलेको छ, तर रसुवाका स्थानीयले आधारभूत राहत नपुगेको गुनासो गरेका छन्।
१९ भदौ, काठमाडौं । रसुवा बाढीपछि विभिन्न अन्तर्राष्ट्रिय समुदायका साथै देशभित्र पनि अत्यावश्यक सामान र राहत संकलन भइरहेको छ । सरकारले विभिन्न ठाँउमा संकलन केन्द्र बनाएर त्यहाँबाट राहतका सामग्री वितरण गरेको छ ।
चीन, भारत, अष्ट्रेलिया, कतार लगायतका देशहरूले बाढीपिडितहरूका लागि सहयोग प्याकेज ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरेका छन् ।
सरकारले अन्तर्राष्ट्रिय सहायता र दाताहरूको समन्वयका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालको संयोजकत्वमा एउटा टिम नै खटाएको छ । उनीहरूले विभिन्न मुलुकहरूबाट आएका सहायता सामग्री वर्गिकरण गरी आवश्यक ठाँउमा पठाउने गरेका छन् ।
विमानस्थलमा छुट्टै टिम
सहसचिव लम्सालका अनुसार, सुरुमा केही खाद्यजन्य सहायता आएपनि पछिल्लो समय भने उद्दार, मेडिकल सामग्री र पिडितहरूको बसोबास लागि आवश्यक पर्ने सामग्री आइरहेका छन् ।
‘रसुवा र नुवाकोटबाट आवश्यक परेका सामग्रीको सूची राष्ट्रिय विपत व्यवस्थापन प्राधिकरणमा आएको छ, हामीले उहाँहरूको यहाँ जम्मा भएका सामग्री पठाइरहेका छौं,’ सहसचिव लम्सालले अनलाइनखबरसँग भने, ‘अत्यावश्यक सामग्री हेलिकप्टरबाट पठाइएको छ भने अरु सामान सडकबाट नुवाकोटसम्म पठाएर त्यहाँबाट व्यवस्थापन गर्ने काम भइरहेको छ ।’
उनका अनुसार, अहिले विभिन्न खालका औषधि, मेडिकल उपकरण, पानी शुद्धिकरण गर्ने किटहरू सहायताको रुपमा आएका छन् । प्रभावितहरूलाई बस्न आवश्यक पर्ने म्याट्रेस, टेन्ट, ज्याकेट लगायतका सामग्री पनि विभिन्न मुलुकहरूले पठाएको सहायता प्याकेजमा छन् ।

शव व्यवस्थापनका लागि आवश्यक पर्ने डीएनए परीक्षण सम्बन्धी किटदेखि शव राख्ने ब्यागसम्म सहायताको रुपमा आएका छन् । ती सामग्री छुट्टयाएर आवश्यक ठाँउमा बाँडिएको सहसचिव लम्सालले बताए ।
सरकारले हवाई बाहेक अन्य मुलुकबाट सडक मार्गबाट संकलन भएको राहत सामग्रीलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत बाड्ने रणनीति बनाएको छ । सहसचिव लम्साल कुहिने र बिग्रने सामग्रीहरू खासै नभएकाले अरु सामग्री मागका आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा पठाइएको बताउँछन् ।
अमेरिका लगायतका मुलुकले उद्दारका सामग्री र उपकरणहरू पठाइरहेका छन् । ती सामग्री तत्काल जलविद्युत आयोजनाको सुरुङ उद्दार टोलीलाई पठाइएको समन्वय टोलीले जनाएको छ । कतिपय अत्यावश्यक उपकरण सोझै हेलिकप्टरबाट रसुवा पठाइएको छ ।
सामाखुसीमा संकलन केन्द्र
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले संकलन हुने राहत तथा खाद्य सामग्री सहज र व्यवस्थित रुपमा पठाउन सामाखुसीस्थित राधास्वामी सत्संग भवनमा गोदामसहितको कार्यालय खडा गरेको छ । काठमाडौंमा संकलित राहत सामग्री त्यहाँ संकलन गरी बाढी प्रभावित क्षेत्रमा पठाइने प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बताए ।
काठमाडौंमा विभिन्न कम्पनी, शैक्षिक एवं सामाजिक संस्थाहरूले राहत संकलन गरिरहेका छन् । ती सामग्री बाँड्न कतिपय मानिसहरू गाडी लिएर नुवाकोट र रसुवा पुग्ने गरेका थिए । त्यसले अस्तव्यस्तता बढेपछि प्रशासनले यहिँ नै राहत र सहयोग सामग्री बुझ्न थालेको हो ।

‘राहत संकलन गर्ने सबै टोली त्यसलाई पुर्याउन बाढीप्रभावित क्षेत्रमा जाँदा झनै अस्तव्यस्त र भद्रगोल हुने भएपछि हामीले यहाँ नै सहायता सामग्री संकलन गर्ने र प्रभावित क्षेत्रमा पठाउने भएका हौं,’ पौडेलले भने, ‘सामाखुसीमा संकलन हुने सामग्री रसुवा र नुवाकोटको जिल्ला प्रशासन कार्यालयको समन्वयमा सम्बन्धित ठाँउमा पठाइनेछ ।’
राहतका सामग्री त्रिशुलीमा थुप्रिएको गुनासो
बाढीबाट प्रभावित भएका रसुवाका स्थानीय जनप्रतिनिधिहरूले भने आफूहरूको क्षेत्रमा पर्याप्त राहत र आधारभूत आवश्यकताका सामग्री नआएको गुनासो गरेका छन् । राहत वितरण गर्न प्रभावित क्षेत्रमा गएकाहरूले पनि भौगोलिक कठिनाईका कारण नुवाकोटको बिदुर र बेत्रावती आसपासका क्षेत्रमा राहत बाँडेर फर्कने गरेका छन् ।
आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले गाउँपालिकाको त्रिशुली पारीपट्टिका गाँउका बासिन्दाहरू आधारभूत आवश्यकताबाट बञ्चित भएको बताए । सबै पुल भत्किएकाले मानिसहरूलाई आवश्यक पर्ने औषधी, खाद्यान्न लगायतको अभाव छ ।
प्रतिक्रिया 4