२२ भदौ, धनकुटा । नेपाल निर्माण व्यवसायी संघ धनकुटाको अध्यक्षमा ओमबहादुर बस्नेत (रमेश) निर्वाचित भएका छन् । संघको १८औं वार्षिक साधारण सभा तथा ११औं अधिवेशन अन्तर्गत भएको निर्वाचनमा बस्नेतले ४८ मत प्राप्त गर्दै प्रतिस्पर्धी यज्ञबहादुर राईलाई १५ मतको अन्तरले पराजित गरेका हुन् ।
महालक्ष्मी कन्स्ट्रक्सनका सञ्चालक बस्नेतका प्रतिस्पर्धी एवाई कन्स्ट्रक्सनका यज्ञबहादुर राईले ३३ मत प्राप्त गरे ।
प्रथम उपाध्यक्षमा दिल निर्माण सेवाका दिलकुमार राई निर्वाचित भएका छन् । उनले ४९ मत प्राप्त गर्दा प्रतिस्पर्धी अस्मी एण्ड अमिसा कन्स्ट्रक्सनका मनोजकुमार राईले ३३ मत पाए । त्यस्तै, द्वितीय उपाध्यक्षमा साइमन कन्स्ट्रक्सन प्रालिका सरन तामाङ निर्वाचित भएका छन् । तामाङले ४८ मत प्राप्त गर्दा प्रतिस्पर्धी श्याम कन्स्ट्रक्सनका गणेश गुरुङले ३३ मत प्राप्त गरे ।
महासचिवमा इष्ट बीएन कन्स्ट्रक्सनका बलबहादुर राई र सचिवमा कास्टिङ कन्स्ट्रक्सनका चन्द्रसिंह लिम्बू निर्विरोध निर्वाचित भएका छन् । यस्तै सह–कोषाध्यक्षमा बीबी कन्स्ट्रक्सनका दिनेश राई पनि निर्विरोध चयन भएका छन् ।
कोषाध्यक्ष पदमा भने राई निर्माण सेवाका सुवास राईले बाजी मारेका छन् । उनले ५६ मत प्राप्त गर्दै प्रतिस्पर्धी टी एण्ड टी बन्धु कन्स्ट्रक्सनका टंकबहादुर कार्कीलाई पराजित गरे । कार्कीले २५ मत प्राप्त गरे ।
संघको नयाँ कार्यसमितिको सदस्यमा अविनाश श्रेष्ठ, विष्णु पौडेल, राजकुमार कार्की, लक्ष्मण विश्वकर्मा, सुवन श्रेष्ठ, सुवास तामाङ र सुन्दर तामाङ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक खगेन्द्रप्रसाद घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार १४ सदस्यीय नयाँ कार्यसमितिमा चार पदका लागि मात्र मतदान भएको थियो । बाँकी पदमा उम्मेदवारी निर्विरोध भएपछि मतदान गर्नुपरेन ।
नेपाल निर्माण व्यवसायी संघ धनकुटाको १८ औँ वार्षिक साधारण सभा तथा ११ औँ अधिवेशन शनिबार सुरु भएको थियो । अधिवेशन अन्तर्गत आइतबार राति मतदान र मतगणना सम्पन्न भएपछि नयाँ कार्यसमिति चयन गरिएको हो । नेपाल निर्माण व्यवसायी संघ धनकुटामा ९६ जना मतदाता रहेकोमा ८२ मत खसेको थियो ।
प्रतिक्रिया 4