News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवा भन्सार कार्यालय टिमुरेमा बाढीले सात तले भवन बगाउँदा १५ कर्मचारी सम्पर्कविहीन भएका छन् र नहकुल शर्माको शव भेटिएको छ।
- ललित लामिछानेका अनुसार टिमुरे बजारका डेढ सयभन्दा बढी घर, ४०० भन्दा बढी नयाँ विद्युतीय गाडी र २०० भन्दा बढी कन्टेनरमा ठूलो क्षति पुगेको छ।
- गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टर पठाएर घाइतेहरूको उद्धार गरेको र ललितले सम्पर्कविहीन कर्मचारी खोज्न भवन खनेर खोजी गर्न सरकारलाई आग्रह गरेका छन्।
२२ भदौ, काठमाडौं । बाढी आएको दिन रसुवा भन्सार कार्यालय टिमुरेमा कार्यरत थिए, ललित लामिछाने । बिहान ७ बजे उठेर अघिल्लो दिनको बाँकी काम सक्न उनी साढे ७ बजे नै कार्यालय पुगेका थिए ।
‘चिठी–पत्र तयार गरेर राजेन्द्र ढुंगाना सरलाई हस्ताक्षर गराई सम्बन्धित पार्टी र बैंकको नाममा इमेल गर्दै थिएँ,’ उनले भने, ‘एक्कासि विद्युतको ट्रान्सफर्मर पड्के जस्तो, हेलिकप्टर दुर्घटना भए जस्तो आवाज आयो ।’
त्यो आवाज सुनेपछि ललितले झ्यालबाट बाहिर हेरे । ‘पहिरो आएको हो कि भन्ने लाग्यो । बाहिर हेर्दा बिजुलीका तारहरू हल्लिरहेका थिए । हाम्रो भवन हल्लिरहेको थियो । भूकम्प आयो कि भनेर आत्तिएर माथिबाट तल झरेँ,’ उनले भने ।
तल झरेपछि रसुवा भन्सार कार्यालयको प्रयोजनका लागि चीन सरकारले बनाइदिएको सात तले नयाँ भवनमा उनको नजर पर्यो । ‘सात तलाको भवनभन्दा माथि नदीको बहाव र छाल देखेँ,’ उनले भने, ‘हेर्दाहेर्दै भवन बाढीमा बग्यो ।’
भवन बगाएपछि कार्यालयमा भएका सबै कर्मचारी भाग्न थाले । ललित पनि भागेर डाँडातिर लागे । तर उनीसँगै काम गर्ने अरू १५ जना कर्मचारी सम्पर्कविहीन भए । जसमा एक जनाको मात्र शव फेला परेको छ ।
अहिले पनि सम्पर्कविहीन साथीको खोजीमा हिँडिरहेका छन् उनी । ‘साथीभाइ हराएको पीडामा छु । त्यो घटनापछि बिरामी भएँ । अहिले मानसिक रूपमा विस्तारै ठिक हुँदै गएको छु,’ उनले भने ।
कार्यालय समय बिहान ९ बजेदेखि थियो । तर भन्सार कार्यालयमा कामको लोड बढी हुने भएकाले केही कर्मचारी शाखाको काम गर्न बिहानै कार्यालय गएका थिए । तर अहिले सम्पर्कमा नरहेका कर्मचारी भने कार्यालयमा आएका थिएनन् ।
‘उहाँहरू घर वा क्वार्टरमै हुनुहुन्थ्यो । कार्यालय आउने तयारी गरिरहेको अवस्थामा बाढीले भेटेर उहाँहरू सम्पर्कविहीन हुनुभयो,’ उनले भने ।

ललितका अनुसार रसुवा भन्सार कार्यालयमा ४० जना कर्मचारी थिए । ‘तीमध्ये २५ जना भागेर ज्यान जोगाउन सफल भयौँ । बाँकी १५ जना सम्पर्कविहीन हुनुहुन्छ,’ उनले भने, ‘नहकुल शर्मा सरको मात्र शव फेला पर्यो ।’
चीन–नेपालको बोर्डर रहेको गढीबाट टिमुरे भन्सार कार्यालय करिब तीन किलोमिटरको दूरीमा छ । ‘तीन किलोमिटरको दूरीमा सबैभन्दा बढी क्षति भएको ठाउँ गढी हो,’ उनले भने, ‘त्यहाँ कुनै सूचना पनि भएन ।’
त्यसपछि यताबाट करिब डेढ किलोमिटरको दूरीमा घट्टे खोला पर्छ । ‘त्यहाँ अहिले केही पनि बाँकी छैन,’ ललितले सुनाए ।
घट्टे खोला र गढीको तुलनामा टिमुरे अलि खुला ठाउँ हो । त्यहाँ ठूलो बजार थियो । करिब डेढ–दुई सय घर थिए । तर यकिन तथ्यांक आएको छैन ।
‘ठूलो बजार भएकाले व्यापारिक कारोबार हुने ठाउँ थियो । भन्सार कार्यालय भएकाले प्रहरी चौकी, सुरक्षा निकायका कार्यालय, क्वारेन्टाइन कार्यालयलगायत सबै कार्यालय त्यहीँ थिए। त्यति ठूलो खुला ठाउँ भएकाले हामीले यस्तो अवस्था आउला भनेर कल्पना गरेका थिएनौँ,’ उनले भने ।
ललितका अनुसार भोटेकोशीबाट बजार करिब ८० मिटरजति माथि थियो । खुला ठाउँ भएकाले स्लोप हेर्दा कार्यालय नदीबाट करिब २०० मिटरजति माथि थियो । तर त्यही ठाउँ बगायो ।
‘बाढीबाट बालबाल जोगिएर माथि पुग्यौँ । हेर्दाहेर्दै त्यहाँका भौतिक संरचना एकैछिनमा नष्ट भए,’ उनले भने, ‘त्यहाँ अहिले तीन वटा घर मात्र बाँकी छन् । एउटा हाम्रो कार्यालय प्रमुखको क्वार्टर हो। त्यो पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। भवन ढलेको छैन । तर क्षतिग्रस्त छ।’

अर्को कर्मचारी बस्ने क्वार्टर थियो । ‘अहिले पनि त्यही भवनबाट हाम्रा केही साथीहरू हुनुहुन्छ कि भन्ने आशा छ,’ उनले भने, ‘हाम्रो अनिता पुरी म्याम त्यही भवनको ग्राउन्ड फ्लोरमा बस्नुहुन्थ्यो । उहाँहरूको छुट्टै किचेन थियो । हामी होटलमा खाना खान्थ्यौँ । उहाँहरू तीन–चार जना साथी मिलेर मेस चलाउनुहुन्थ्यो । मेसको किचनमा काम गर्ने व्यक्ति अहिले जीवित हुनुहुन्छ ।’
त्यो भवनमा भएका कर्मचारी हिलोले च्यापिएको अवस्थामा भएको आशंका कर्मचारीहरूको छ । ‘त्यहाँका दुईवटा फ्लोर लेदोले पूरै भरिएका छन् । उहाँहरू खाटमुनि वा कुनै संरचनाले छोपिएको अवस्थामा जीवितै वा शव त्यहीँ छ कि भन्ने हो ।’
टिमुरे व्यापारिक केन्द्रसँगै दुई देशको सीमानाका भएकाले मानसरोवर जाने पर्यटकहरू थिए । ‘त्यो दिन पर्यटकहरूको ठूलो भिड थियो । जनैपूर्णीमा भएकाले मानसरोवर यात्राका लागि पिक सिजन हो । विशेषगरी त्यतिबेला पर्यटकहरू धेरै जाने गर्छन्।
चीनतर्फ बिहान १० बजे इमिग्रेसन खुल्छ । हाम्रो र चीनको समयबीच करिब दुई घण्टाको फरक छ । त्यसैले उतातिर इमिग्रेसन खुलेपछि यतातिर मानिसहरूको भिडभाड हुन्छ,’ उनले भने ।
१० गते बिहान ८:३७ बजेसम्म नेपालको इमिग्रेसनबाट ८१ जनाले पास गरिसकेको तथ्यांक छ । ‘इमिग्रेसन बिहान ८ बजे नै खुल्छ । कामको लोड धेरै हुने भएकाले बिहानैदेखि काम सुरु हुन्छ,’ ललितले भने, ‘टिमुरे र अध्यागमन कार्यालयबीचको दूरी पनि करिब डेढ किलोमिटर हो । बीचमा धेरै खोँचहरू छन् । टिमुरेबाट गढीतिर जाँदा त्यो क्षेत्र अझ ओरालो पर्छ । गढीबाट घट्टे खोलातिर जाँदा पनि ओरालो नै छ।’
८:३७ बजेसम्म ड्युटीमा रहेका इमिग्रेसनका कर्मचारी पनि बाढीमा परेको उनले बताए । टिमुरे अध्यागमन कार्यालय रहेको क्षेत्रमा कैलाश होटल र सोनाम होटल गरी दुई वटा राम्रा र पर्यटकहरू बढी बस्ने होटल छन् ।
‘ती होटलहरू पर्यटकले भरिएका थिए । पछि मैले होटलका साहुसँग सम्पर्क गर्ने धेरै प्रयास गरेँ । हिजो पनि सोनाम होटलका साहुजीलाई फोन गर्ने प्रयास गरेको थिएँ । उहाँसँग सम्पर्क हुन सकेन । उहाँको अवस्था के छ भनेर सोध्न खोजेको थिएँ, तर सम्पर्क हुन सकेन,’ उनले भने ।

बाढी आएपछि ललितले रसुवाका तत्कालीन प्रमुख जिल्ला अधिकारीलाई फोन गर्ने प्रयास गरे । ‘उहाँको फोन लागेन । त्यसपछि सहायक प्रमुख जिल्ला अधिकारीलाई बिहान ९:१३ मा फोन गरेर जानकारी गराएँ,’ उनले भने, ‘त्यसपछि यो खबर केन्द्रीय निकायसम्म पुगेछ । गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टर पठाएर त्यहाँ रहेका घाइते साथीहरूको उद्धार गर्यो। केही साथीहरूलाई १० गते नै उद्धार गरियो ।’
कति मानिस एक किलोमिटर माथि रहेको गाईभैँसी गोठमा गएर बसे । भोलिपल्ट नेपाली सेनाको हेलिकप्टरले धेरैलाई त्रिशूलीसम्म ल्याएर छोडेको थियो । तर उनी त्यही दिन करिब २ बजे सरकारले पठाएको हेलिकप्टर चढेर काठमाडौं आउन सफल भएँ ।
‘त्यहाँ अझै दुई–तीन सय जति मानिस माथि नै हुनुहुन्थ्यो । ती सबै मानिसको भोलिपल्ट ११ गते उद्धार भयो,’ उनले भने ।
ललित सम्पर्कविहीन भएका साथी खोज्न फेरि टिमुरे पुगेका थिए । ‘उहाँहरू सकुशल हुनुहुन्छ कि वा शव भए पनि प्राप्त गर्न सकिन्छ कि भनेर खोजी गर्न गएको हुँ,’ उनले भने, ‘तर अहिलेसम्म फेला परेको छैन ।’
उनका अनुसार त्यो क्षेत्रमा अघिल्लो दिन जाँचपास भएका करिब ६० वटा कन्टेनर गाडी थिए । साथै भन्सार क्षेत्रमा २०० भन्दा बढी कन्टेनर गाडी थिए । ‘भन्सार जाँचपास भएका र नभएका दुवै प्रकारका सामान बोकेका कन्टेनर थिए,’ उनले भने ।
घट्टे खोलादेखि गढी हुँदै टिमुरे बजार र भन्सार क्षेत्रमा ४०० भन्दा बढी नयाँ विद्युतीय सवारीसाधन थिए। ‘तीमध्ये केही भन्सार जाँच भइसकेका, केही प्रक्रियामा रहेका र केही एक–दुई दिन अघिमात्र आएका गाडी थिए,’ उनले भने ।
घट्टे खोला र बजार क्षेत्रमा आयातकर्ताहरूले जग्गा भाडामा लिएर गाडी पार्किङ गरेर राखेका थिए। ‘अहिले तीमध्ये कुनै पनि गाडी वा संरचना बाँकी छैन,’ ललितले भने, ‘भौतिक क्षति कति भयो साध्य छैन । ४०० भन्दा बढी नयाँ विद्युतीय गाडी, २०० भन्दा बढी सामान बोकेका कन्टेनर, टिमुरे बजारका डेढ सयभन्दा बढी घर सबैमा ठूलो क्षति भएको छ ।’
टिमुरे बजारको स्कुलमा करिब १३० जना बालबालिका रहेको उनको जानकारीमा आएको छ । २०७८ सालको जनगणनाअनुसार टिमुरेको जनसंख्या करिब ५५० थियो । ‘कति जना बाँच्न सफल भए भन्ने यकिन तथ्यांक छैन,’ उनले भने ।
ललित अहिले पनि सम्पर्कमा नरहेका साथीको खोजी गर्न सरकारलाई आग्रह गरिरहेका छन् । ‘सरकारले गरिरहेको छ । तर जुन भवनमा साथीहरू बस्नुहुन्थ्यो, अझै हुनुहुन्छ कि भन्ने परिवारले आशा गरिराख्नुभएको छ । त्यो भवनलाई एक पटक खनेर हेर्दिएको भए परिवारको मनलाई शान्ति मिल्थ्यो । त्यसैले जतिसक्दो चाँडो त्यो भवन खनेर खोजी गर्ने व्यवस्था गरिदिन म अनुरोध गर्छु,’ उनले भने ।
सम्पर्कमा नरहेका कर्मचारीको विवरण
भीमबहादुर लामा
विष्णुप्रसाद भुसाल
दिनेशकुमार घिमिरे
अनिता पुरी
हरिबहादुर खड्का
राजेन्द्रकुमार सोनकर
विमल त्रिपाठी
गोविद्रबहादुर अधिकारी
नरेशदत्त जोशी
प्रेम सेडाईं
राजु ओली
विकास तामाङ
रामबहादुर नेपाली
सुनिल गुरुङ
नहकुल शर्मा शव भेटिएको ।
प्रतिक्रिया 4