News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनमा ३ हजार ३ सय ९० बीमितले २३ अर्ब १९ करोड रुपैयाँ दाबी गरेका छन्, तर ८ अर्ब ८२ करोड मात्रै भुक्तानी भएको छ ।
- भाटभटेनीले ८ अर्ब दाबी गरेकोमा हालसम्म साढे २ अर्ब पाएको छ, भने हिल्टन होटलको ५ अर्ब दाबी अदालत पुगेको छ ।
- प्राधिकरणका अनुसार सर्भेयरको मूल्याङ्कन, कागजात र पुनर्बीमा प्रक्रियाका कारण बीमा दाबी भुक्तानी ढिला भएको हो ।
२३ भदौ, काठमाडौं । जेनजी आन्दोलनका कारण भएको नोक्सानीमा बीमितले दाबी गरेको एक वर्ष बितिसक्दा पनि पूर्ण भुक्तानी पाउन सकेका छैनन् । २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा बीमा गरिएको २३ अर्ब बराबरको सम्पत्तिमा क्षति पुगेको भएपनि बीमितले करिब ९ अर्ब मात्रै दाबी भुक्तानी पाएका हुन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार जेनजी आन्दोलनबाट क्षति पुगेका ३ हजार ३ सय ९० बीमितले क्षतिपूर्ति माग दाबी गरेका छन् । सो अनुसार बीमा क्षेत्रमा २३ अर्ब १९ करोड रुपैयाँ बराबरको माग दाबी परेको छ । तर, आन्दोलन भएको एक वर्ष पूरा हुँदा बीमा कम्पनीहरूले गत असार २२ गतेसम्म ८ अर्ब ८२ करोड रुपैयाँ मात्र दाबी भुक्तानी भएको छ, जुन रकम दाबीको ३८ प्रतिशत मात्र हो ।
बीमा दाबीमा बीमितले माग गरे अनुसार सबै भूक्तानी नहुने प्राधिकरणका एक अधिकारीले बताउँछन् । ‘बीमितले क्षतिपुर्ति माग गरेपछि कम्पनीले पनि क्षतिको मूल्याङ्कन गरेर मात्र भुक्तानी दिन्छ, मूल्याङ्कनको क्रममा कतिपय दाबीको भुक्तानी नै दिन नपर्ने, माग गरेजति दिन नपर्ने अवस्था रहन्छ,’ ती अधिकारीले भने, ‘कतिपय बीमा दाबी भुक्तानीको विषय मुद्दा मामिलाका कारण पनि ढिला हुने गर्छ, दाबी माग गर्ने र भुक्तानी गर्नेमध्ये कुनै एक पक्षलाई चित्त बुझेन भने अदालतको सहायता लिने हुनाले पनि ढिला हुने गरेको छ ।’
जेनजी आन्दोलनमा सरकारी तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड भएको थियो । आन्दोलनका कारण कुल ८४ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको थियो । त्यसमध्ये बीमा गरेको सम्पत्ति भने २३ अर्ब १९ करोडको मात्र रहेको प्राधिकरणले जनाएको छ । सो आन्दोलनमा आन्दोलनकारीले सरकारी सम्पत्तिसँगै व्यक्तिका उद्यम व्यवसायमा समेत आगजनी गरेका थिए ।
आन्दोलनकारीले चन्द्रागिरि केबुलकार, भाटभटेनी सुपरमार्केट स्टोर, गाडीका केही सोरुम, बैंकका शाखा कार्यालय, मौलाकालिका केबुलकार, सीजी डिजिटल, होटल हिल्टन, एनसेल, हायात रिजेन्सी होटलसहित दर्जनौं व्यक्तिगत घर तथा व्यवसायमा तोडफोड तथा आगजनी गरी आंशिक वा पूर्ण क्षति पुर्याएका छन् ।

भाटभटेनीको मात्रै करिब १२ अर्बको क्षति भएको थियो । सो क्षतिमा भाटभटेनीले बीमा दाबी ८ अर्बको गरेको थियो । भाटभटेनीले हालसम्म उक्त दाबीमा साढे २ अर्ब भुक्तानी पाएको छ । क्षतिको मूल्याङ्कनमा समय लागेकाले भुक्तानी पाउन ढिला भएको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले बताए ।
बाँकी दाबी पनि प्रक्रियामा रहेको हुनाले आगामी दिन भुक्तानी पाइने उनले बताए । भाटभटेनीले स्टक हानिनोक्सानीमा ५ अर्ब र भवन क्षतिमा ३ अर्बको मागदाबी गरेको हो ।
त्यस्तै आगजनी भएको हिल्टन होटलको बीमा दाबीको विषय अदालतमा पुगेको छ । हिल्टनको ५ अर्बको दाबी परेको छ ।
बीमा प्राधिकरण अधिकारीका अनुसार कुल २३ अर्ब माग दाबी आएको भएपनि भुक्तानी योग्य रकम १५ अर्ब जति छ । साथै थप ४–५ अर्ब दाबी भुक्तानी अन्तिम प्रक्रियामा रहेको ती अधिकारीले जानकारी दिए । अन्तिम चरणमा रहेको दाबी भुक्तानी पनि जोड्दा करिब १३–१४ अर्ब हुन जाने उनले बताए । भुक्तानी बाँकी दाबी पनि प्रक्रियामै रहेको ती अधिकारीले बताए ।
‘सर्भेयरको रिपोर्ट आउन ढिलो भएर हो भुक्तानीका लागि समय लागेको हो । बीमितले क्षतिपूर्ति दाबी गरेपछि सर्भेयरले वास्तविक मूल्याङ्कन गर्छ, त्यो मूल्याङ्कन अनुसार क्षतिको आधारमा भुक्तानी दिने हो,’ उनले भने, ‘जस्तो आन्दोलनमा आगलागीका कारण सामान जल्यो, मूल्याङ्कन गर्न स्टक भेटिँदैन, त्यसको मूल्याङ्कन निकाल्नुपर्यो, प्रमाणीकरण गर्नुपर्यो, निकै मसिना काम हुने भएकाले समय लाग्छ ।’
जेजजी आन्दोलनमा भएको क्षतिको बीमा दाबी भूक्तानी नरोकिएको निर्जीवन बीमक संघका महासचिव सुनिल बल्लभ पन्तले बताए । ‘ठूलठूला दाबीको भर्खरै मात्र सर्भे रिपोर्टहरू आइरहेको छ,’ पन्तले भने, ‘साना दाबीको मूल्याङ्कन सहज भएकाले भुक्तानी छिटो भयो, त्यसमा पनि गाडीहरुको धेरै दाबी राफसाफ भएको छ ।’
ठूला व्यवसाय तथा ब्यापारमा आगजनी र तोफोड भएकाले क्षति मूल्याङ्कनमा समय खर्चनुपर्ने अवस्था रहेको उनले बताए ।
किन दाबी भुक्तानी ढिलाइ हुन्छ ?
कुनै पनि क्षतिमा बीमितले बीमा कम्पनीमा दाबी गर्छन् । बीमितको दाबीमा कम्पनीले सर्भेयर मार्फत क्षतिको पूर्ण मूल्याङ्कन गरेर प्रतिवेदन तयार गर्छ । बीमितले धेरै रकम दाबी गरेको हुन सक्छ, तर सर्भेयरले सो अनुसारको क्षति नभएको पाएमा दाबीअनुसारको रकम भुक्तानी हुँदैन ।
वास्तविक क्षति कति भयो भनेर मसिनो गरी हेर्नुपर्छ । त्यसले समय लाग्ने भएकाले बीमाको दाबी भुक्तानी समय लाग्ने काम हो । क्षतिको प्रकृतिअनुसार प्रमाण जुटाउन पनि समय लाग्ने हुँदा ढिला हुने गरेको बीमक बताउँछन् ।
साथै बीमितले दाबी प्रक्रियाका लागि आवश्यक बिल, भर्पाई, प्रहरी रिपोर्ट वा अन्य कानुनी कागजातहरू समयमै बुझाउन नसक्दा पनि ढिलाइ हुन्छ ।
त्यसका साथै ठूलो रकमको दाबी पर्दा विदेशी पुनर्बीमा कम्पनीबाट सहमति आउन र पैसा प्राप्त हुन समय लाग्छ । ठूला उद्योगहरूको हकमा क्षतिको विवरण धेरै हुने भएकाले ती सबैलाई प्रमाणीकण गर्न समय लाग्छ ।
सर्भेयरले निकालेको क्षतिको रकम र बीमितले मागेको रकममा मेल नखाँदा विवाद उत्पन्न हुन्छ । यो विवाद सुल्झाउन छलफल र कहिलेकाहीँ कानुनी प्रक्रियामा जाँदा पनि दाबी भुक्तानी ढिलाइ हुन्छ ।
प्रतिक्रिया 4