News Summary
Generated by OK AI. Editorially reviewed.- कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा पहिरोले पानी थुनिएपछि प्रहरीले नयाँपुल, वीरेठाँटी र आसपासका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
- एसपी नवीन कार्कीका अनुसार किम्रुङ खोलामा करिब ६ घण्टादेखि पानी थुनिएको सूचना आएको छ र खोला किनारमा माइकिङ भइरहेको छ।
- गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बिहान ६ बजेदेखि थुनिएको खोला अहिले केही खुलेको बताउँदै अचानक खुल्दा समस्या हुन सक्ने चेतावनी दिएका छन्।
२३ भदौ, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा पहिरो खसेर खोला थुनिएको खबर आएपछि प्रहरीले आसपासका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार किम्रुङ खोलामा पहिरो खसेर करिब ६ घण्टादेखि खोला थुनिएको जानकारी स्थानीयबाट आएको हो । यसअघि पनि यही खोलामा पहिरो खसेर थुनिएपछि बाढी आएको थियो ।
प्रहरीले नयाँपुल, वीरेठाँटी र आसपासका बस्तीमा माइकिङ गर्दै सम्भावित जोखिमबाट जोगिन र सुरक्षित स्थानमा जान स्थानीयलाई आग्रह गरेको एसपी कार्कीले जानकारी दिए ।
‘गाउँपालिका अध्यक्ष लगायतका जनप्रतिनिधिले खोला केही घण्टादेखि नै थुनिएको खबर गरेपछि अहिले हामीले नदी किनारमा माइकिङ गरिरहेका छौं,’ एसपी कार्कीले अनलाइनखबरसँग भने ।
किम्रुङ खोलामा आएको बाढीले यसअघि वीरेठाँटी क्षेत्रमा सडक कटान गर्नुका साथै पुलसमेत बगाएको थियो । बाढीका कारण घान्द्रुक जाने सडक अहिले पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
‘बिहान ६ बजेबाट थुनिएको थियो । अहिले पानी कम भएको सूचना आएको छ,’ गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले भने ।
उनका अनुसार, अहिले नदीमा थोरै मात्रै पानी बगिरहेको छ । ‘करिब ३ घण्टा नै हुन लाग्यो, एकाएक नदी खुल्दा समस्या हुनसक्छ,’ उनले भने ।
भदौ २ गते मोदी खोलामा आएको बाढीले वीरेठाँटी क्षेत्रमा सडक कटान गरेपछि यातायात अवरुद्ध भएको थियो । त्यसयता सडक पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।
किम्रुङ खोलामा पुन: पहिरो खसेर पानी थुनिएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै मोदी खोला आसपासका बस्तीका बासिन्दालाई समेत सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।
प्रहरीले खोला थुनिएको स्थानमा पानीको मात्रा बढ्दै गएमा अचानक बाढी आउन सक्ने भएकाले नदी तथा खोला किनारमा नजान र सुरक्षित स्थानमा रहन स्थानीयलाई अनुरोध गरेको छ ।
उक्त खोला अन्नपूर्ण गाउँपालिका– ११ हुँदै मोदी खोलामा पुगेर मिसिन्छ । मोदी बगेर पर्वत हुँदै कालीगण्डकीमा पुग्छ ।
प्रतिक्रिया 4