+
+
Shares
संस्मरण भदौ २४ :

सैनिक ब्यारेकभित्र केपी ओली र मेरा १० दिन

क्याबिनेट हलमा केपी ओली र सेनाप्रमुख अशोकराज सिग्देल कुरा गरिरहेका थिए। अलिपछि केपी सरले मलाई भन्नुभयो– हामीलाई सेनाले कतै लैजाने भयो, यहाँ बस्न मिलेन रे!

राधिका शाक्य राधिका शाक्य
२०८३ भदौ २४ गते ११:३७
Listen News
0:00
0:00
🔊

उसै त केपी ओली सर, नेपाल देशको चार पटक प्रधानमन्त्री भइसकेको व्यक्ति हुनाले सेनाको ब्यारेकमा खाने र बस्ने कुरा हाम्रो लागि नौलो विषय होइन।

तर वि.सं. २०८२ भदौ २४ देखि असोज २ गते दिउँसोसम्म लामो समय सैनिक ब्यारेकभित्र बसेर जीवन गुजार्नु एकदमै नौलो अनुभव हो।

भदौ २३ गते जेनजीलाई झुक्याएर घातक तत्वहरूले षड्यन्त्रपूर्वक आयोजना गरेको विरोध प्रदर्शनले होटल एभरेस्ट अगाडि पुगेर समापन भइसकेपछि संसद् भवनमाथि आक्रमण हुन थालेपछि उग्ररुप लियो र हिंसात्मक आक्रमणमा परिणत भयो।

प्रदर्शनमा कताबाट, कोबाट हो गोली चल्यो र केही प्रदर्शनकारीको मृत्यु भएछ अनि केही घाइते भएछन्। २४ गतेदेखि थप क्षति नहोस् भनेर काठमाडौंका प्रमुख जिल्ला अधिकारीले कर्फ्यु जारी गरे। तर सेना र प्रहरीको असहयोगले गर्दा कर्फ्युले काम नगरेको भन्ने कुरा सुनेकी थिएँ।

बिहानैदेखि एमालेका नेता, मन्त्री आदि बालुवाटार आइपुगेका थिए। २३ गते दिउँसोको उपद्रोपछि साँझ क्याबिनेट र सुरक्षासँग सम्बन्धित बैठक पनि डाकेका थिए।

२४ गतेको कर्फ्यु सफल बनाउन सेना, प्रहरी परिचालन भएन भन्ने कुरा सुनेपछि मैले केपी ओली सरसँग कुरा के हो ? भनेर सोधें। उहाँले त्यस्तो होइन, साथीहरूलाई अलि कन्फ्युज भयो होला भन्नुभयो।

यसपछि म आफ्नै काममा व्यस्त भएँ। बिहानै बालकोटबाट अरुणले फोन गरेर ‘एक जना छिमेकीले घरमा कालो झण्डा राखेर हत्यारा छिमेकी चाहिंदैन’ भनेर राखेको जानकारी दिएको थियो।

अनि मैले ‘उसको घरमा कालो राखोस् या रातो मतलब नगर’ भनें।

पछि मैले खाना खाइसकेपछि पुन: फोन गरेर घरमा आगो लगाएको जानकारी दिएपछि म केपी सर खोज्न हिंडें। त्यसबखत क्याबिनेट हलमा केपी सर र सेनाप्रमुख अशोकराज सिग्देल कुरा गरिरहेका थिए।

अलिपछि केपी सरले मलाई भन्नुभयो– हामीलाई सेनाले कतै लैजाने भयो, यहाँ बस्न मिलेन रे!

यो जानकारी पाएपछि सर्वप्रथम त मैले सबै ठाउँहरूबाट औषधिहरू जम्मा पारी एउटा सुटकेसमा राखें।

अर्को एउटा सुटकेसमा अगाडि भेटिएका केही लुगाहरू राखें।

यसै बीच बाहिरबाट मानिसहरु बालुवाटारको ३ नम्बर गेटबाट भित्र पसिसकेको भन्ने खबर आयो। बालुवाटारको हेली प्याडमा सेनाको हेली तैनाथ थियो।

यसपछि हामी हतारहतार गरी बाहिर निस्किएर हेलीतिर लाग्यौं।

हामी जाँदा त हेलीमा टन्न मानिस बसिसकेका रहेछन्, उहाँहरू सभामुख र राष्ट्रिय सभा अध्यक्षका परिवारहरू हुनुहुन्थ्यो।

सेनाले हतार हतारमा उहाँहरूलाई हेलीबाट तल झारेर हामी बस्यौं। हाम्रो साथमा सेनाका दुई जना अफिसर कर्णेल दिवाकर खड्का र मेजर राजेन्द्र थिए।

यसरी अचानक र हतार हतार गरी बालुवाटारको प्रधानमन्त्री निवास, जसको निर्माणमा हाम्रो महत्वपूर्ण योगदान थियो, छाडेर हेली मार्फत एउटा सैनिक ब्यारेकमा अवतरण गरियो।

सेनाको योजना त हामीलाई टाढै लैजाने रहेछ। तर मौसमले साथ नदिएको हुनाले नजिकै अवतरण गरेको रहेछ।

हामी त सकुशल नै गन्तव्यमा पुग्यौं तर यता काठमाडौंमा सिंहदरबार, सर्वोच्च अदालत, अख्तियार लगायत धेरै सरकारी भवन, व्यापारिक भवन, होटल, पुलिस चौकी, पार्टी कार्यालय, नेताका घरहरू लगायत धेरै थोक जलाएर खरानी बनाइएको रहेछ।

सैनिक ब्यारेकको प्राकृतिक वातावरण राम्रै थियो। हाम्रो खानपिन र बस्ने व्यवस्था पनि उनीहरूको सामर्थ्य अनुसार ठिकै थियो।

२५ गते बिहान पुन: हेली आइपुग्यो। हाम्रो सल्लाह र सेनाको पनि इच्छा अनुसार हामी चार जना बाहेक मेरो ९६ वर्षको ससुरा, छोरी, बुहारी, बहिनी र नातिलाई उक्त हेलीमा नै चढाएर काठमाडौं फिर्ता गरे।

खासगरी उक्त हेली हामीलाई टाढा पुऱ्याउने भनेर आएको थियो। तर केपी सरले स्वास्थ्यको कारण देखाएर टाढा जान मान्नुभएन।

शायद ३० गतेतिर जस्तो लाग्छ हाम्रा शुभचिन्तक, हितौषी आदिले समेत केही समय काठमाडौं नआइकन विदेशतिर पो जानु राम्रो हुन्छ कि भनेर सल्लाह पनि दिएका थिए। अनि केपी सरको जवाफ थियो– म बाँच्नको लागि विदेश जान्नँ। बिरामी परे पनि विदेश जान्नँ। विदेश कहाँ जाउँ ? कसले पाल्छ हामीलाई ?

सँगै आएका परिवारका सदस्यहरूलाई फिर्ता पठाउँदाको समय अति नै मार्मिक र हृदय विदारक भयो। तर हामी बाध्य थियौं।

९६ वर्षको ससुरा र बच्चालाई त्यहाँ राख्न बडो कठिन थियो। केपी सरले त फिर्ता पठाउन मान्नुभएको थिएन। धेरै सम्झाउनुपर्‍यो।

परिवारका सदस्यहरू चढेको हेली उडेपछि कोठाभित्र पसेर एकछिन आँसु झारें। पुन: आफूलाई सम्हालें।

अलिपछि फोन गर्दा काठमाडौंमा पुगेको थाहा भयो। तर काठमाडौंमा कर्फ्यु भएको हुनाले राति मात्र घर पुऱ्याउने कुरा थियो।

एउटा कोठामा राखेर चिया र बिस्कुट दिएछन् तर खाना दिएनन् रे! उता सानो नाति ‘भोक लाग्यो माम खान्छु’ भन्दो रहेछ। त्यो अबोध बालकलाई के थाहा परिस्थिति बारे! हामी बसेको ठाउँबाट २०औं पटक विभिन्न व्यक्तिलाई फोन गरेपछि बल्ल साँझको ५ बजेतिर चाउचाउ ल्याइदिएछन्।

उक्त पिरो चाउचाउ पनि भोकको सुरमा बच्चाले खाइरहेको छ भन्ने कुरा सुन्दा हाम्रो मन कस्तो भयो होला! अन्त्यमा राति करिब ८ बजेसम्ममा सबैलाई आ-आफ्नो घर पुऱ्याइदियो भन्ने खबरले मात्र अलि खुशी लाग्यो।

यसरी २५ गते बिहानदेखि रातिसम्म ठूलो तनावमा दिन बित्यो।

२६ गतेको दिन बिहानैदेखि परिस्थिति असहज, अप्ठेरो र तनावपूर्ण जस्तो महसुस गरें। हामी बसेको ठाउँको गतिविधि पनि निको लागेन, हरेकको अनुहार गहिरिएर हेर्छु, शंकास्पद लाग्यो।

नभन्दै हामी सबैको मोबाइल सेनाले कब्जा गऱ्यो। हुनत एउटा ल्याण्डलाइन जोडिदिन्छु भन्यो तर जोडिएन। यसपछि शंकामाथि शंका थपिंदै गयो।

दिउँसो ३ बजेतिर सम्माननीय राष्ट्रपति पौडेल र सेनाप्रमुख केपी सरलाई भेट्न आउँदै हुनुहुन्छ भन्ने खबर सुनियो।

नभन्दै पुन: हेली अवतरण भयो र उहाँहरू आएर करिब १ घण्टा जस्तो केपी सरसँग भेट्नुभयो र फर्किनुभयो। त्यसपछि राति पनि अनेकौं हल्ला सुनियो। तर हाम्रो फोन साथमा नभएकोले धेरै कुरा बुझ्न पाइएन।

२७ गते बिहानको खाजा पनि ढिलै मात्र खाएँ। केपी सरले नुहाइधुवाइ गर्नुभयो। मैले पनि धेरै वर्षपछि केही कपडा हातैले धोएँ।

देशभरका धेरै भाटभटेनी सुपरमार्केट जलाएर ध्वस्त पारेको, सामानहरू लुटेको, आगजनीमा परेर इटहरी शाखामा ४ जनाको शव फेला परेको, विभिन्न कारागारहरूबाट कैदीहरू भागेको आदि समाचार आइरहेका थिए।

यी कैदीहरू समाजमा हुँदा समाजको सुरक्षा र शान्ति के हुने हो भन्ने चिन्ता लाग्यो। शायद २८ गते होला ? साँच्चै भनौं भने दिन पनि बिर्से जस्तो लाग्छ।

रातितिर सुशीला कार्की नेपालको प्रधानमन्त्री नियुक्त भएपछि हामीलाई फोन फिर्ता दियो। फोन प्राप्त भएपछि २-४ ठाउँमा फोन गरेर फोन प्राप्तिको जानकारी दिएँ।

शायद २९ गते शनिवार बिहान उठ्दा भने झमझम पानी परिरहेको थियो। अनि एक्कासी सम्झें कि मेरो मनमस्तिष्कमा असंख्य छटपटी र पीडा भए झैं नेपाल आमालाई पनि पीडाले असह्य भएर वर्षाको रूपमा आँसु पोख्दैछिन् जस्तो लाग्यो।

समाचारहरू हेर्दा र पढ्दा केही मान्छेहरू नेपालमा अझै पनि जिउँदै छन् भन्ने लाग्यो। म स्वयम् त धेरै निराश थिएँ।

हुन त हामी सेनाको ब्यारेक भित्र थियौं। तसर्थ हामी स्वतन्त्र हुने त कुरै भएन। २ असोज बिहानको खाजापछि हामीलाई एउटा मन्दिरको दर्शन गराउन लगियो। यो ठाउँ हाम्रो वासस्थानबाट अलि टाढै जस्तो लाग्यो।

हामीले यो राष्ट्र र यहाँका जनताको सुख र समृद्धिको लागि आफ्ना सारा व्यक्तिगत इच्छा र चाहनाहरूलाई कुल्चिंदै, लात मार्दै दिनरात नभनी एकदम स्वच्छ भावनाका साथ काम गर्दै गर्दा पनि आज यस स्थितिको सामना गर्नुपर्‍यो।

तर मेरो बहादुर, साहसी, स्वाभिमानी श्रीमान् केपी सरको अगाडि मेरो निराशालाई व्यक्त गर्न र देखाउन पनि सक्दिनँ।

तसर्थ म उहाँको अगाडि हिम्मतवाली झैं पेश हुन्थें। यस्तो विषम र अकल्पनीय स्थितिमा पनि उहाँको चेहरामा निराशाको एउटा सानो धर्को पनि देखिनँ मैले।

बाहिर पानी परिरहेको अवस्था भएर कोठा बाहिर जान नसक्ने हुनाले कोठामै बसेर परिवार र साथीभाइहरूसँग फोनमा कुराकानी पनि गरें।

भदौ २९ गते बाल दिवस। गत ६-७ वर्षदेखि बाल दिवसले मलाई झक्झकाएको हुन्छ। यसपालि पनि बालमन्दिर, नक्साल, बेबी लाइफ होम आदि ठाउँहरूबाट केटाकेटी बोलाएर बालुवाटारमा नै बाल दिवस मनाउने, केटाकेटीको लागि केही उपहार दिने, खाजा खुवाउने आदि बारे कार्यक्रम बनाउँदै र तयारी पनि गर्दै थियौं।

उता काठमाडौं आलापोटको एउटा स्कूल जहाँ २०७ जना विद्यार्थी थिए सबैजसो तामाङ समुदायको जस्तै लाग्छ। बाल दिवसको उपलक्ष्यमा त्यहाँ लाखामरी पठाउने भनेर अर्डर पनि गरी सकेकी थिएँ। तर परिस्थितिले कोल्टो फेरेको हुनाले सबै कार्यक्रम स्थगित गर्न बाध्य भयौं। र पनि बिहानै बाल संगठन अध्यक्ष विद्या न्यौपानेजीलाई फोन गरी बधाई तथा शुभकामना दिएँ।

यसै बीच खरानी बनाएको मेरो रगत र पसिनाले सिञ्चित मेरो पवित्र मन्दिर बालकोटको घर कुर्न प्रहरी खट्दैछन् रे भन्ने कुरा पनि सुनें। साथै केपी सर विरुद्ध कर्तव्य ज्यान मुद्दाको लागि बानेश्वर प्रहरीमा निवेदन दिएका छन् रे भन्ने पनि सुनें।
सच्चा नेपाल आमाको छोरालाई लगाउने मुद्दा यस्तै त होला। तर हामी कदापि एकरत्ति पनि विचलित हुने छैनौं।

आजभोलि नेपालका कतिपय बुद्धिजीवी र टिप्पणीकारले केपी सरलाई अहङ्कारी, घमण्डी जस्ता शब्दको प्रयोग गरेर गाली गरेको सुन्छु। हुँदाहुँदा केपी ओलीको अहङ्कारले नै जेनजी क्रान्ति भएको रे!

कठैबरा मेरो देशका बौद्धिक वर्ग, पत्रकार आदिको सोचाइ। केही नेता हुँ भन्नेहरू समेत ओलीकै अहङ्कारले देश ध्वस्त भयो भन्छन्।

मलाई त यिनीहरूको कुरा सुन्दा पनि यिनहरूमाथि दया लागेर आउँछ। के विदेशी विस्तारवाद सामु झुक्दिनँ भन्नु अहङ्कार हो ? आफ्नो देशको भूभाग अरूले मेरो भन्दा तेरो होइन हाम्रो हो भन्नु घमण्ड हो ? देशलाई गरिबीबाट मुक्त गर्छु, स्वाधीनता कायम राख्छु, देशलाई आत्मनिर्भर बनाउँछु भन्नु पनि घमण्ड हो? हुन त जसको दास मानसिकता छ उसले स्वाधीनतालाई अहङ्कार, घमण्ड ठान्नु ठिकै हो।

हामी नेपाल नामको संस्थाका सुधन गुरुङ समूहले प्रधानमन्त्रीको राजीनामा माग्दै बालुवाटार बाहिर प्रदर्शन गरेको, शुरुमा धरानका मेयर हर्क साम्पाङ प्रधानमन्त्री बन्न काठमाडौं आएको, पछि गृहमन्त्री भए पनि हुन्छ भनेर ७ घण्टा बालुवाटारमा कुर्दा पनि प्रधानमन्त्रीले भेट नदिएको, गृहमन्त्री बनेका ओम प्रकाश अर्यालले गाईबारे विवादास्पद अभिव्यक्ति दिएको इत्यादि कुराहरू सुनेका थियौं।

अनि २४ गते साँझ नै नख्खु कारागारबाट रवि लामिछाने निकालिएको र देशभरबाट १४-१५ हजार कैदी बाहिर आएको कुरा पनि सुनें।

शायद ३० गतेतिर जस्तो लाग्छ हाम्रा शुभचिन्तक, हितौषी आदिले समेत केही समय काठमाडौं नआइकन विदेशतिर पो जानु राम्रो हुन्छ कि भनेर सल्लाह पनि दिएका थिए। अनि केपी सरको जवाफ थियो– म बाँच्नको लागि विदेश जान्नँ। बिरामी परे पनि विदेश जान्नँ। विदेश कहाँ जाउँ ? कसले पाल्छ हामीलाई ?

हुन त फटाहाहरूले समाजमा भ्रम फैलाएका छन् कि केपी ओलीले विदेशी बैङ्कहरूमा टन्न पैसा राखेका छन् भनेर।

देशद्रोहीहरूको भनाइलाई मानेर विदेश जान त सकिन्नँ। हामीले के अपराध गरेका छौं, कायर भएर भाग्नको लागि। हामी त एक थोपा रगत भएसम्म देशका लागि बाँच्ने हो र देशकै भूमिमा मर्ने हो।

यसपालि २०८२ साल असोज ३ गतेको संविधान दिवस भव्य रूपमा मनाउने तयारी थियो। पोहोर साल पनि भव्य ढङ्गले मनाएको थियो।

तर यस पटक अझ भव्य बनाउने योजना थियो। तर परिस्थिति यस्तो बन्यो कि संविधान समेत बचाउन सक्ने हो या होइन।

तर पनि पार्टीले मनाउनुपर्छ भनेर बाहिर भएका साथीभाइसँग कुरा चल्दै थियो। तसर्थ हामीले असोज १ गते काठमाडौं फर्किन चाह्यौं।

तर असोज १ गते जेनजी सरकारले सार्वजनिक विदा दिएको खबर सुनेपछि २ गते मात्र फर्किनको लागि कुरा राख्नुभयो र हुन्छ भन्ने कुरा आयो। यो कुराले एक ढङ्गको खुशी छायो र २ गतेको प्रतीक्षामा बस्यौं।

हुन त हामी सेनाको ब्यारेक भित्र थियौं। तसर्थ हामी स्वतन्त्र हुने त कुरै भएन। तर त्यहाँभित्र खान र बस्नको लागि राम्रै व्यवस्था थियो। यो सेनाको ब्यारेक हुनाले बन्दुक पड्केको वा पड्काएको आवाज धेरै सुनिन्थ्यो।

२ असोज बिहानको खाजापछि हामीलाई एउटा मन्दिरको दर्शन गराउन लगियो। यो ठाउँ हाम्रो वासस्थानबाट अलि टाढै जस्तो लाग्यो।

त्यहाँबाट नजिकै गाउँ बस्तीहरू देख्न पाएँ। त्यसले पनि शरीरमा अलि राहतको महसुस भयो।
त्यहाँबाट फर्केर अर्को साइडतिरबाट पनि गाउँ–बस्तीहरू हेर्ने अवसर मिल्यो।

२-३ दिन अगाडि हामीले पनि चिनेका दुई जना साथीहरू उक्त स्थानमा आइपुगेको हुनाले यो ठाउँ काठमाडौंबाट टाढा छैन भन्ने थाहा भयो।

जेहोस् २ गते बिहानको घुमघामले शरीरमा फूर्ति ल्याउन र मनलाई हलुका बनाउन धेरै सहयोग मिलेको थियो।

अर्कोतिर फर्किने दिन नजिकै आउँदा चिन्ता पर्‍यो कि फर्केर जाने कहाँ ? आफ्नो घर त खरानीमा परिणत भइसकेको छ।

चिन्ता मात्र लिएर पनि भएन विभिन्न विकल्प पनि खोज्नुपर्‍यो। शुरुमा त हामीले काठमाडौं, ललितपुरतिर घर खोज्न लगायौं।

पछि भक्तपुर नै ठिक लाग्यो र नभन्दै घर भाडामा मिलेको कुराहरू पनि आयो।

अन्त्यमा असोज २ गते साँझ हामी भक्तपुरको खरिबोट सैनिक ब्यारेकमा हेलीबाट अवतरण गरी गाडीबाट भक्तपुर सूर्यविनायक न.पा. वडा नम्बर ७ गुण्डुमा डेरामा प्रवेश गऱ्यौं र स्वतन्त्रताको महसुस भयो।

यसभन्दा अगाडिसम्म हामी सुरक्षित ढङ्गले ब्यारेकबाट बाहिर आउन पाउँछौं कि पाउँदैनौं मलाई यकिन भइरहेको थिएन।

सैनिक ब्यारेकभित्र बिताएका दिनहरूमा मलाई सबभन्दा खुशीको कुरा भनेको यस्तो तनावको स्थितिमा पनि उहाँलाई थप औषधिको रूपमा एउटा सिटामोल पनि थप दिनु परेन।

यस बीचमा एकचोटि एकजना सैनिक स्वास्थ्यकर्मीले ब्लड प्रेसरसम्म जाँच्नुभएको थियो, र प्रेसर हामी दुवैको सामान्य नै आएको थियो।

जीवनको लामो यात्रामा यो ब्यारेक बसाइ पनि एउटा छुट्टै अनुभूतिको रूपमा रहनेछ। यो बसाइ तनावग्रस्त परिस्थितिमा भए पनि असुविधायुक्त भने थिएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?